१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाल प्रहरीमा दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी थप गर्ने प्रस्ताव अघि बढेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मानव स्रोत विकास विभाग र प्रहरी महानिरीक्षकको सचिवालयमा दुई डीआईजी दरबन्दी थप्ने प्रस्ताव अघि बढेको हो।

८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) गर्न अनुमति दिएको थियो। गृह मन्त्रालयले दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी समायोजन र दुई डीआईजी दरबन्दी थप्न ओएन्डएम गरिसकेको छ।

“गृह मन्त्रालयबाट ओएन्डएम भइसकेको अवस्था छ। बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति चाहिन्छ,” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले भने, “अर्थले सहमति दिएपछि बढुवा प्रक्रिया अघि बढ्छ।”

यसअघि दुई एसएसपीको दरबन्दी समायोजन प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। केनाइन शाखा र सवारी महाशाखामा रहेको दुई दरबन्दी समायोजन गरी प्रशासनमा मिलान गर्न ओएन्डएम गरिएको थियो।

प्रहरीमा अहिले सातजना एसएसपी दरबन्दी रिक्त छ। समायोजन गरी दुई थपिएसँगै नौजना एसएसपी बढुवा गर्ने तयारीमा गृह मन्त्रालय छ।

प्रधान कार्यालयको सूचना शाखामा एक डीआईजीको आवश्यकता छ। मानव स्रोत विकास विभागमा डीआईजीको दरबन्दी नै छैन। भर्ना, नियुक्ति, सरुवा, बढुवा, निवृत्तिभरणलगायत कार्यभार रहेको उक्त विभाग एआईजी बिदामा बस्नेबित्तिकै एसएसपीको भरमा चल्नुपर्ने अवस्था छ।