काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

महानगर प्रहरी बल

दर्ज्यानी चिह्न पाउनेमा लीलाराज गाछा‚ ध्रुवकुमार भुजेल‚ किशोरकुमार भट्टराई‚ प्रकाश पण्डित‚ चन्दन श्रेष्ठ‚ राजेन्द्र देवकोटा र एलिजा नेपाल छन्।

१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका सातजना नगर प्रहरी निरीक्षकलाई कायममुकायम नगर प्रहरी नायब उपरीक्षकको जिम्मेवारी प्रदान गरिएको छ।

महानगरपालिकाको सभा कक्षमा बिहीबार भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ‚ सुशासन समिति संयोजक ख्यामराज तिवारीको रोहबरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरी नायब उपरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरे। त्यस अवसरमा विषयगत समितिका संयोजक‚ वडाध्यक्षहरू‚ विभागीय प्रमुखहरू उपस्थित थिए।

दर्ज्यानी चिह्न प्राप्त गर्नेमा लीलाराज गाछा‚ ध्रुवकुमार भुजेल‚ किशोरकुमार भट्टराई‚ प्रकाश पण्डित‚ चन्दन श्रेष्ठ‚ राजेन्द्र देवकोटा र एलिजा नेपाल छन्।

समारोहमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले नगर प्रहरी बलको कामले महानगरपालिकाको सहरी व्यवस्थापनका क्षेत्रमा विगतको छवि सुधार भएको बताउँदै कामको प्रशंसा गरे। “वृत्ति विकासका लागि अवसर खुला भएपछि पदोन्नतिका अवसर प्राप्त हुनेछन्। यसबाट महानगरवासीले अनुभूति हुने सेवाका लागि काम बढ्दै जाने विश्वाश गरेका छौँ‚” गुरागाईंले अपेक्षा गरे।

नगर प्रहरी बलले संगठनको स्थान प्राप्त गरेको सुशासन समिति संयोजक तिवारीको भनाइ छ। उनले भने‚ “महानगरवासीको दुःख-सुखमा नगर प्रहरी छ भन्ने महसुस गराउनु पर्नेछ। यसका लागि हामीले महानगर प्रहरी ऐन जारी गरेका छौँ। काममा प्रोत्साहन गर्न सबै तहका प्रहरीलाई न्यायोचित पदोन्नतिको समान अवसर प्राप्त हुनेछ।”

नगर प्रहरीलाई दर्ज्यानी चिह्न मात्र प्राप्त भएको होइन। यो त जिम्मेवारी पनि थपिएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले भने‚ “३३ वर्षपछि प्रहरी बलले आफ्नै ऐन प्राप्त गरेको छ। यसले नगर प्रहरीलाई वृत्ति विकासको समान अवसर प्रदान गरेको छ। हामीले यो अवसरलाई महानगरवासीको हित र सहरी व्यवस्थापनका लागि प्रयोग गर्नुपर्छ।”

नगर प्रहरी‚ नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार हो। काठमाडौँ महानगरपालिकाले १४ भदौ २०५० देखि नगर प्रहरी सेवा थालेको हो।

महानगरपालिकाको नीति‚ कानुन तथा निर्णय कार्यान्वयन‚ सहरी सुव्यवस्थापनका विविध क्षेत्रको व्यवस्थापन नगर प्रहरीको मुख्य जिम्मेवारी छन्। महानगर प्रहरी ऐनले प्रहरी बललाई कर्तव्य पालना‚ सेवामूलक‚ जनउत्तरदायी र गुणस्तरीय बनाउन निर्देशित गरेको छ।