काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

१७ पुष २०८२
अ+
अ-

मस्को। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परी २४ जनाको मृत्यु भएको रुसले दाबी गरेको छ। मस्कोका गभर्नर र रुसी अधिकारीहरूका अनुसार युक्रेनको ड्रोन आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन्।

“ब्ल्याक सीको तटीय ग्रामीण इलाकामा रहेको एक क्याफे र होटेलमा तीनवटा यूएभीले आक्रमण भएको र यसबाट २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्‚” गभर्नर भ्लादिमिर साल्डोले आक्रमणको पुष्टि गर्दै टेलिग्राममा लेखेका छन्।

रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको र कैयौँ घाइते भएको आक्रमणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

साल्डोले टेलिग्राममा पोस्ट गरेका तस्बिरहरूमा आगोले जलेको भवन, धुँवादार भग्नावशेषको थुप्रो र जलेका मृत शरीर देखिएका थिए।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनले सर्वसाधारणमाथि ‘आतंकवादी हमला’ गरेको आरोप लगाएकी छन्।

युक्रेनी अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।

खोरली गाउँ ‘ब्ल्याक सी’ तटमा रूसी प्रायद्वीपमा अवस्थित छ। फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध रुसी सेनाले सुरु गरेको आक्रमणको सुरुवातमा रुसी नियन्त्रणमा परेको थियो।

सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमणको क्रममा क्षेत्रीय राजधानी सहित खेरसोन क्षेत्रको ठूलो भाग पुनः कब्जा गरेको थियो। -रासस/एएफपी