अनुभूति
म माओवादी थिइनँ, तर उनले लेखेजस्तो म कहिल्यै राजा, राजसंस्था र व्यवस्थाको पक्षमा पनि थिइनँ। पत्रकारिताको सुरुआती जागिर राजावादी पत्रिकामा खाएँ, तर मलाई कहिल्यै राजतन्त्र मन परेन।
‘गर्छौ त भाइ गर्छौ?’ हरिसिंह ठकुरीले सोधे, ‘गर्ने भए महिनाको हजार रुप्पे दिन्छु क्यारे।’
नगर्नुपर्ने केही थिएन। आफ्नो धार्नीको मुन्टो तलमाथि हल्लाएर मैले गर्छुको जनाउ दिँदै भनेँ, ‘गर्ने हो दाइ, किन नगर्नु?’
काठमाडौँ ओर्लेको केही हप्तापछि मेरो जीवनमा हरि आएका थिए यसरी काम लिएर। र, म काठमाडौँमा महिनाको हजार रुपैयाँ कमाउने जागिरे भएको थिएँ। काम थियो– आफ्नै उचाइ बराबरको फलामे मिसिनको ह्यान्डल थिचेर प्लास्टिकका बिर्को र बोत्तल बनाउनुपर्ने। समय बिहान ६ देखि बेलुका ६ बजेसम्म, दिनको १२ घन्टा। भर्खर एसएलसी दिएर बसेको, हातमा कुनै सीप नभएको, छेउमा चिनेको कोही नभएको बेला संयोगले यसरी काम पाउनु काठमाडौँमा सहाराको एउटा ठूलो वटवृक्ष खडा हुनु थियो।
बस्, हरिसिंह ठकुरी मेरा लागि त्यही वटवृक्षको विशाल चौतारी भएर खडा भइदिए।
नुवाकोटे हरि दाइ त्यतिबेला कुनै स्थापित, पैसावाल र ठूला उद्यमी थिएनन्। चार वटा मिसिन राखेर एउटा सानो टहरोमा प्लास्टिकको बिर्को बोतल बनाउने कारखाना भर्खरै थालेका थिए। साँझबिहान आफैँ काममा घोटिइरहेका हुन्थे। आफैँ बजार खोज्न हिँड्थे, आफैँ सामान पुर्याउन जान्थे र आफैँ पैसा उठाउन। र, उनको उत्पादन प्रयोग हुन्थ्यो काठमाडौँका वैद्यहरूका घरमा बन्ने आयुर्वेदका ढुटो ओखती र झोल भर्न। केही मसला पोको पार्न। तिनको नाम र बिलमा ‘कम्पनी’ लेखिएको हुन्थ्यो, तर ती ‘कम्पनी’ भन्नुपर्ने खालका हुन्नथे। घरको चौकुनामा जीविकोपार्जनका लागि थालिएका साना व्यापार थिए ती।
१९ असार २०५४ मा काठमाडौँ ओर्लेर घरि त डल्लु घरि त स्वयम्भू गर्दै रल्लिरहेको मलाई यो काम कहाँ हो कहाँ बेस भयो। मैले मनमनै हरि दाइलाई धन्यवाद दिएँ। यसरी भीडभाड काठमाडौँमा मनमा हरि भएका हरि भेटेको थिएँ मैले।
मेरो जिम्मा टेकु, कालीमाटीतिर एक जना मनोज नामका भारतीय कबाडीवालाकोमा गएर बियर र जामका पुराना बोतल ल्याउने, सरफ-पानीमा एकदिन ढड्याएर राख्ने, भोलिपल्ट मस्काएर टलक्क पार्ने र सुकाउने थियो। मायोनिज र जाम भर्न तिनै बोतल प्रयोग गरिन्थ्यो।
यहीँ काम गर्दा भेटिएका थिए, गोरखातिरका नारायण मगर। थाहा छैन, उनी अहिले कहाँ छन्। अर्का थिए, चिरिच्याट्ट परेर हिँड्ने झापाका रविन झापाली मगर। पछि मेरा मिल्ने गाउँले गोविन्द आए। धराने राजकुमार राई थपिए। हरि दाइका आफ्नै भाइ थिए भीमसेन, गठिलो जीउ भएका– भीमसेनैजस्ता। हरि दाइको प्लास्टिक कारखाना हाम्रो रोजगारीको थलो त थियो नै, त्यतिबेलाका झरझराउँदा जवानहरूको क्लबजस्तो बनेको थियो। यहीँ काम गर्दैगर्दा म, रविन र गोविन्द मिलेर एउटा हवाई पत्रिका निकालेका थियौँ। यसको अर्कै कथा छ।
यही जागिरले सुरु गरेको हो, विशाल काठमाडौँ खाल्डोमा मेरो डेरा जिन्दगी। त्यसैले मेरा लागि यो काम आफैँमा सोचेभन्दा धेरै थियो। हुन त काठमाडौँ आउनुअघि खासै सोचेको केही थिइनँ। एक्लो ज्यान, जसो होला चलिजाला तरिकामा हिँडेको जो थिएँ, मामाघरकी हजुरआमाले दिएको ३०० रुपैयाँ खल्तीमा हालेर।
हरि दाइको कारखानामा मैले धेरै महिना काम गरिनँ। सायद त्यस्तै पाँचसात महिनाजति गरेँ हुँला, ठ्याक्कै अवधि अहिले बिर्सिएँ। किनभने, उनै हरि दाइले मलाई एकदिन गैरीधाराको ‘हिमाली स्पाइस सर्भिस’ मा पुर्याइदिए जहाँ उनी आफ्नो उत्पादन प्लास्टिकका बोतल बेच्थे।
‘केटो तगडा र टाठो छ,’ उनले भनिदिएका थिए, ‘साइकल चलाउन पनि जानेको छ। सहर सबैतिर फिलिली पुग्न सक्छ।’
थाहा छैन उनले किन यसो भने। आफूकहाँ काम गरिरहेको कामदारलाई किन आफ्नो ग्राहककोमा जागिरे बनाउन खोजे– म त्यो जान्दिनँ। विनाचिनजान उनले पहिला मलाई जागिर दिए, पछि अर्को जागिर खोजिदिए। जहाँ मेरो तलब थियो– हरि दाइले दिइरहेको भन्दा ५०० रुपैयाँ बढी, महिनाको १५ सय रुपैयाँ। काम गर्ने समय बिहान ९ बजेदेखि ५ बजेसम्म, हरि दाइकोमा १२ घन्टा काम गरिरहेको मेरा लागि त त्यो ‘अफिस’ नै भइगयो।
मनमा एक तर्कना लाग्छ, हरि दाइले त्यस जागिरमा नपुर्याइदिएको भए सायद म यहाँसम्म आइपुग्ने बाटो खुल्ने नै पो थिएन कि?
गैरीधाराका साहु थिए, रामेश्वर श्रेष्ठ। उनको घर गैरीधारा चोकैमा थियो। थाहा छैन, अहिले त्यो घर छ/छैन। उनीहरू तीनभाइ थिए। निहुरिएर नछिरे टुटुल्को उठ्ने, सानो लिस्नो चढेर तला उक्लिनुपर्ने, मूल सडकमा ठूलो बस कुद्दा अब ढली पो जान्छ कि झैँ हल्लिने त्यो पुरानो कमजोर घरको भुइँतलाको मूल सडकपट्टि कपाल काट्ने सैलुन थियो। त्यो मूल सडक दरबारको उत्तर ढोका छिचोलिन्थ्यो, र सीधा गए भाटभटेनी चोक। चोकपट्टिको घर अलि पक्की थियो, सायद त्यसमा उनका कान्छा भाइ बस्थे। चोकबाट नक्साल जाने बाटोको दाहिनेपट्टि इँटा छापिएको ढुंगेधारा थियो। धारा अघिल्तिर रामेश्वर साहुकै अर्का भाइको किराना पसल थियो।
म रामेश्वर साहुको त्यही मक्किएको पुरानो घरको अँध्यारो छिँडीमा काम गर्थें। त्यो छिँडीमा धारो र शौचालय थियो जहाँ दिउँसै पनि बत्ती नबाली भित्र जान सकिन्नथ्यो। दोस्रो तलामा फोन, ब्ल्याकेन ह्वाइट टीभीसहित ओछ्यान भएको उनको कोठा थियो। धोद्रे स्वर भएका अलि हक्की खाले काठमाडौँका खाँट्टी नेवार थिए रामेश्वर साहु। तेस्रो तलामा उनका छोरीहरू बस्थे। अलि उचाइदार मान्छे सीधा भएर उभिए टायलमा टाउको ठोकिने चौथो तलामा उनीहरूको भान्सा थियो, र त्यही भान्सामा रामेश्वर साहु मायोनिज बनाउँथे। जाम बनाउँथे। ममका मसला बनाउँथे। मसला त के भन्नु, मरिच र चिउराको धुलो मिसाएर ससाना प्लास्टिकमा निश्चित तौलमा प्याक गर्थे।
मेरो जिम्मा टेकु, कालीमाटीतिर एक जना मनोज नामका भारतीय कबाडीवालाकोमा गएर बियर र जामका पुराना बोतल ल्याउने, सरफ-पानीमा एकदिन ढड्याएर राख्ने, भोलिपल्ट मस्काएर टलक्क पार्ने र सुकाउने थियो। मायोनिज र जाम भर्न तिनै बोतल प्रयोग गरिन्थ्यो। बियरका बोतलमा चाहिँ भेनेगर भरिन्थ्यो। म न्युरोड, मखनगल्ली, भोटाहिटी जान्थेँ– मरिच-चिउराका बोरा बोकेर सानो गौचरनको मसला मिलमा पुर्याउँथेँ। कालीमाटीबाट साहुजीले अर्डर गरेका व्यापारी भेट्दै स्ट्रबेरी र आरुबखडाका बोरा बोकेर आउँथेँ, पखाल्थेँ र सुकाउँथेँ।
रामेश्वर साहुको घरमा रमाइलो संयोग थियो। रामेश्वर साहुकी आमा नेपाली बुझ्दिनथिन्। मलाई बोलाउन परे ‘ओ खेँ चा’ भन्थिन्। सकेसम्म उनको छेउतिर नआउनू र उनलाई नछुनू भन्थिन्।
गर्मी महिनामा मलाई यो काम बडा काइदाको थियो।
साइकलमा हरर सहर हिँड्न पाइन्थ्यो। आउँदा वा जाँदा एकपल्ट मात्रै साइकलमा भारी हुन्थ्यो, फिर्ता सामान आएन भने, वा अर्डरअनुसारको माल पुर्याउनु परेन भने एकतर्फी यात्रा साइकलमा सरर।
त्यसरी सहरमा साइकल चलाउँदा म सोच्थेँ, ‘यो सडक मेरो हो।’ साहुजीकै सही, काठमाडौँ सहरमा साइकल चलाएर हिँड्न पाउनु मेरा लागि ठूलो सान थियो। चढ्नका लागि प्रतिघन्टा साइकल हेरी १० देखि १५ रुपैयाँ भाडामा साइकल पाइन्थ्यो त्यतिबेला। तर, त्यसरी पैसा तिरेर साइकल चढ्ने हैसियत मेरो थिएन।
तर, जाडो महिनामा?
चिसो पानीले दिनभर बोतल धुँदा साँझ हात अररो हुन्थ्यो र जीउ नै सरफ गन्हाउँथ्यो। एकनास एकैठाउँ बसेर बोतल मस्काइरहँदा ढाड अररो भएर दुख्थ्यो। गतिलो तातो लुगाविना साइकलमा सामान ओसार्दा सिरेटोले छाती छेड्ला जस्तो हुन्थ्यो। ठन्डीले आँखाका चेपचेपबाट आँसु निस्कन्थ्यो।
र पनि, साइकल चलाउने धुनमा म ती सब भुल्थेँ।
रामेश्वर साहुका सामान भर्खर सुरु हुन लागेको भाटभटेनी, नमस्ते र ब्ल्युबर्ड सुपरमार्केटमा पुग्थे। त्यसबाहेक विदेशीहरू आउजाउ हुने ठमेलका केही पसल र ट्रेकिङ व्यवसायीहरूकोमा पनि ती सामान फाटफुट जान्थे। भाटभटेनी जम्मा भुइँतलामा चल्थ्यो। त्यस्तो सुपरमार्केट हुन्छ भन्ने मैले देखेकै थिइनँ। मैले देखेको सबैभन्दा ठूलो बजार न्यूरोडको विशाल बजार थियो। त्यहाँ पहिलो तला चढ्न लिफ्टको व्यवस्था थियो। थरथर काम्दै त्यो लिफ्ट चढ्न म बेलाबेला त्यहाँ छिरिरहन्थेँ। विशाल बजारमा सामान किन्ने त सोचमै थिएन। त्यही लिफ्टबाट तलमाथि गरिरहन मजा लाग्थ्यो।
भाटभटेनी चाहिँ एक व्यक्तिले चलाएको सबै समान एकै ठाउँमा पाइने स्टोर थियो। भित्र सफाचट, हरर बास्ना आउने पसल छिर्दा आनन्द लाग्थ्यो। त्यतिबेला पनि भाटभटेनीको पार्किङ निजी गाडीले भरिभराउ हुन्थ्यो। भाटभटेनीमा कहिले मीनबहादुर गुरुङ आफैँले, कहिले उनकी सालीले सामान बुझ्ने र भुक्तानी दिने गर्थे। भुक्तानी प्राय: क्यास वा चेकमा हुन्थ्यो।
कान्तिपुरमा काम थालेपछि एकदिन मीनबहादुर गुरुङलाई भेट्नुपर्ने काम आइलाग्यो। मार्केटिङको कसैले त्यो प्रस्ताव ल्याएको थियो। लेख्नुपर्ने विषय थियो– भाटभटेनीले सामाजिक सेवाअन्तर्गत चार जनालाई एमबीबीएस अध्ययनका लागि दिएको पूर्ण छात्रवृत्ति। त्यतिबेलासम्म भाटभटेनीका शाखा महाराजगन्ज र पाटनढोकामा खुलिसकेका थिए। जनही करिब ३६ लाख थियो क्यार छात्रवृत्तिको रकम। उनीहरूले त्यो समाचारमा आओस् भन्ने चाहेका रहेछन्। त्यो कार्यक्रम पछि निरन्तर भयो/भएन, मैले फलोअप गरिनँ। सन् २०१० को कुनै महिना गुरुङलाई मैले उनकै अफिसमा भेटेको थिएँ, मूल भाटभटेनीमा। यस भेटमा मैले उनलाई रामेश्वर साहुकोबाट सामान लिएर आउने गरेको र कहिले उनकी साली र कहिले उनैले भुक्तानी दिने गरेको कुरा सुनाएको थिएँ। उनले भनेका थिए, ‘ए हो र?’
रामेश्वर साहुको घरमा रमाइलो संयोग थियो। रामेश्वर साहुकी आमा नेपाली बुझ्दिनथिन्। मलाई बोलाउन परे ‘ओ खेँ चा’ भन्थिन्। सकेसम्म उनको छेउतिर नआउनू र उनलाई नछुनू भन्थिन्।
‘घरभित्र नछिर्नू, बाहिरै बसेर खानू, आफूले खाएको आफैँले माझ्नू, पुराना सिसी धुनू, जानू,’ उनी नेवारीमा भन्थिन्, ‘तँ काम गर्ने होस्, भित्र पस्नु हुँदैन।’ उनले त्यसो भनेपछि मैले एकदिन भर्खरभर्खर सिकेको नेवारीमै अलि ठाडो भाषामा जवाफ फर्काइदिएको थिएँ, ‘काम गर्ने भनेर हेप्न हुन्न बज्यै।’
‘तँ पनि नेवार होस्? कहाँ बस्छस्?’
‘डल्लु।’
‘कपाली होस् कि क्या हो? कि ढल्कोतिरको धोबी होस्, कि कसाई?’
‘म नेवार नै होइन।’
टुटेफुटेको नेवारी बोलेको दिनदेखि उनले मलाई ‘तँ काम गर्ने, भित्र नपसी खुरुखुरु काम सकेर जा’ भनेर फेरि कहिल्यै भनिनन्। नछो चाहिँ हरेक दिन भनिरहिन्। मैले उनका कुरा सुनेँ, खासै वास्ता गरिनँ।
रामेश्वर साहुका एक छोरा र तीन छोरी थिए। छोरा इन्जिनियरिङ पढ्थे, सायद नाम कपिल थियो क्यार। त्यति कम बोल्ने मान्छे मैले आजसम्म भेटेको छैन। तीन छोरीका लागि चाहिँ रामेश्वर साहु ‘बाउ’ खालका ‘बाउ’ थिए। माइली छोरी ज्योत्स्ना भलादमी स्वभावकी थिइन्, तिनलाई घरमा अलि स्वतन्त्रता थियो। पद्मकन्या पढ्थिन्, सायद तिनी कतै काम पनि गर्थिन्। कान्छी हिन्दु विद्यापीठमा माध्यमिक तह पढ्थिन्। जेठी अलि छुच्ची स्वभावकी थिइन्। नक्सालतिर तिनको कोही केटासाथी थियो। घरमा फोन आइरहन्थ्यो। फोन आएपिच्छे रामेश्वर साहु नेवारीमा अपशब्द नै बोलेर पनि गाली बर्साइरहन्थे र कोठामा बोलाएर छोरीसित को हो, किन फोन गरेको भनेर केरकार गरिरहन्थे।
रिसेप्सनमा गएँ, नाम र आउनुको कारण बताएपछि रिसेप्सनकी होचो कदकी ज्यानदार गोरी केटीले मुस्कानसहित अलि लेघ्रो तानेर सोधी, ‘तिम्ले मलाई चिन्यो।’ मैले तिनलाई त्यतिसाह्रो वास्ता गरेको थिइनँ र सहजै भनिदिएँ, ‘अहँ, चिनिनँ त।’
‘बाहिर कतै केटासित हिँडेको देखे मलाई आएर भन्नू,’ छोरीहरूले सुन्ने गरी बेलाबेला साहुजी कामको अर्को जिम्मा पनि मलाई सम्झाइरहन्थे। सायद यसो भनेर उनी छोरीहरूलाई ‘तिमीहरूको निगरानीमा खुलेआम जासुस छोडेको छु’ भनेर थर्काउन चाहन्थे। मैले केहीपटक देखे पनि देखेँ भनेर कहिल्यै कुरा लगाइनँ। कुरा नलगाइदिएपछि जेठीको छुच्चोपन पनि कम भएर गयो।
साहुनीले प्राय: दिउँसो खाजा दिन्थिन्। खाजा लिन भान्सामा जान पाइन्नथ्यो। पानी परे बाहिर बरन्डामा नत्र तलै बसेर खानुपर्ने नियम थियो। प्राय: खाजा पिरो पारेर भुटेको लसुनको पात, अन्डा र भुटेको चिउरा हुन्थ्यो। कहिलेकाहीँ चिया-पाउरोटी। चिया म नखाने भएकाले पाउरोटी मात्रै चपाउँथेँ। साहुनी नेवारीमा एक्लै भुतभुताउँथिन्, ‘चिया पनि नखाने यो बाहुन केटो कसरी बाँचेको होला?’
घरको अर्को कडा नियम थियो– आफूले खाएको थाल-बटुका माझेर, सुकाएर मात्रै माथि लानुपर्ने। साहुनी पनि सासूकै शैलीमा नेवारीमै भन्थिन्, ‘तिमी को हो को, छोएको हामी खाँदैनौँ, हाम्रो भान्सातिर नआउनू, भाँडा नसुकी माथि नल्याउनू।’
कहिलेकाहीँ पुराना बोतल पखाल्ने वा अरू काम कम हुँदा घरका भाँडा माझिदिने थप जिम्मेवारी पनि आइलाग्थ्यो। एकदिन मैले साहुजीलाई भनिदिएँ, ‘म घरको भाँडा माझ्ने काम चाहिँ गर्दिनँ।’ रामेश्वर साहुले साहुनीलाई अह्राए, ‘यो केटालाई घरको भाँडा माझ्न नलाउनू।’ त्यसपछि उनीहरूका जुठा भाँडा माझ्नु परेन।
भर्याङ चढ्नुअघि ‘विन्हाबी’ नभने गाली खानुपर्ने, त्यो अँध्यारो छिँडीमा कोही नुहाउँदै छ भने भित्र छिर्न नपाइने नियमहरू थिए। (यो ‘विन्हाबी’ भन्ने नियमसित म परिचित थिएँ। खुसिबुँमा एक जना अनिल श्रेष्ठ भन्ने व्यक्तिको घरमा १६ दिन घरेलु कामदार बस्दा मलाई यो सिकाइएको थियो। यसको अर्को कथा कुनै दिन लेख्नु छ।)
रामेश्वर साहुकोमा काम गरुन्जेल मैले ती नियमको सम्मान नै गरिरहेँ।
मलाई कामप्रति कहिल्यै गुनासो भएन। दिनभर पुराना बोतल धोएर, मरिच-चिउरा, मायोनिज-जाम बोकेर सहर कुद्दै बिताएर मैले आरआरमा बेलुका पत्रकारिता कक्षा लिइरहेको थिएँ। सामान बजार पुर्याएर फर्किंदा वा लिन जाँदाको खाली समयमा तिनताका बागबजार कार्यालय भएर छ्यासछ्यास्ती खुलेका साप्ताहिक पत्रिकामा छिर्थें। गजल-कविता छाड्थेँ। यसरी रामेश्वर साहुको मसला ‘कारखाना’ मा काम गर्दै मैले पत्रिकामा कविता-गजल छापेको थिएँ र पत्रकारिताको बाटो तय गरेथेँ।
त्यही भएर पनि मलाई गैरीधाराको हिमाली स्पाइस सर्भिसको काम विशेष सम्झनामा रहिरहन्छ। काठमाडौँ अडिने मेरो भरोसा थियो त्यो। रामेश्वर साहु विशेष सम्झनामा छन्, तिनले मलाई काम दिएका थिए। र, सबैको मूल हरिसिंह ठकुरी थिए जसले काम लगाइदिए।
पछि कान्तिपुरमा काम थालेपछि एउटा संयोग भयो। हिमालमिडियाको अफिस पाटन क्याम्पसअगाडिको एउटा घरमा थियो। तिनताका म पनि चाकुपाट डेरा गरी बस्थेँ। प्रतिविद्यार्थी एक ल्यापटप (ओएलपीसी) भन्ने शिक्षामा एउटा परियोजना भर्खर सुरु भएको थियो। म यो कसरी सम्भव छ भनेर रिपोर्टिङ गरिरहेको थिएँ। अमर लामा र केदार शर्माले कान्तिपुरमा त्यसबारे एउटा लेख लेखेका थिए। र, म थप केही जानकारी मिलिजाला कि भनेर केदार दाइ र अमर लामालाई भेट्न हिमालको अफिस पुगेको थिएँ।
रिसेप्सनमा गएँ, नाम र आउनुको कारण बताएपछि रिसेप्सनकी होचो कदकी ज्यानदार गोरी केटीले मुस्कानसहित अलि लेघ्रो तानेर सोधी, ‘तिम्ले मलाई चिन्यो।’ मैले तिनलाई त्यतिसाह्रो वास्ता गरेको थिइनँ र सहजै भनिदिएँ, ‘अहँ, चिनिनँ त।’
पछि उनैले सम्झाइन्, ‘म गैरीधाराको रामेश्वर साहुकी छोरी ज्योत्स्ना।’ मैले तिनलाई एकटक हेरेँ। मैले एकाएक गैरीधाराको हिमाली स्पाइस सर्भिस, ती पुराना बोतल, मरिच-चिउराका बोराको भारी, माटोको गारो भएको त्यो पुरानो घर र ‘हस्की’ स्वर भएका रामेश्वर साहु सम्झनामा एकसाथ झल्याकझुलुक आए। सोधेँ, ‘साहुजीलाई कस्तो छ?’
म पुलिस बन्न दरखास्त दिने लाममा उभिएको थिएँ। असईमा हो कि इन्स्पेक्टरमा जागिर खुलेको थियो, माओवादी द्वन्द्वको त्राहिमाम् थियो। र पनि, जागिर खान भीडभाड नै थियो।
उनले भनिन्, ‘ड्याडी त बित्नुभइसक्यो नि।’
त्यसपछि सेतै फुलेका रामेश्वर साहुको अनुहार मेरो आँखामा नाच्यो। काम छोड्ने बेला मैले रामेश्वर साहुलाई भनेको थिएँ, ‘साहुजी, म भोलिदेखि आउन्नँ, काम छाड्छु। मैले पत्रिकामा काम पाएँ।’
‘पत्रिकामा,’ मेरो कुरा खासै नपत्याएर खिस्याएझैँ उनले भनेका थिए, ‘बिहानबिहानै पत्रिका ओसारेर के गर्छौ? २०० रुपैयाँ बढाएर १७ सय दिन्छु, बस।’
उनले तलब थोरै भएर घुर्क्याएको होला र बिहानै ‘हकर’ का रूपमा पत्रिका बेच्न जान लागेको होला ठानेछन्। मैले घुर्क्याएको थिइनँ। मैले हकरको काम त धेरै पहिले गरिसकेको थिएँ। म हकर हुन जान लागेको थिइनँ। काम छाड्ने जानकारी दिनु थियो, दिएँ। मलाई उनको सहमति चाहिएको थिएन। आफ्नै मनमौजीको थिएँ। भोलिपल्टदेखि काममा जान छाडिदिएँ। मैले २०० रुपैयाँ लिन बाँकी थियो, पछि कुनै दिन उनको घर छिरेँ। आँगनबाटै ‘मेरो २०० लिन बाँकी छ, लिन आएको दिनुस्’ भनेँ, उनले नबोलेरै झ्यालबाट सयका दुइटा नोट खसालिदिए। रामेश्वर साहुसित मेरो हिसाब सकियो। त्यो उनीसित मेरो अन्तिम भेट थियो।
एक वचन भनिदिएकै भए त हुन्थ्यो, तर मैले हरि दाइलाई काम छाडेको कुरा भनेको थिइनँ। भन्नु जरुरी पनि ठानिनँ खासमा।
साहुजीले हरि दाइलाई फोन गरेर ‘तिमीले ल्याएको केटोले काम छाडेर गयो’ भनेछन्। धैरैपछि भेट हुँदा हरि दाइले सुनाएका थिए।
औपचारिक शिक्षा सायद हरि दाइले धेरै लिन पाएनन्, तर उद्यमशीलतामा उनी बडा इमानदार थिए। उनले हामी कामदारलाई कहिल्यै कामदारजस्तो व्यवहार गरेनन्। सधैँ भाइ नै भने। उनले जे खाए त्यही खुवाए। उनले सकेको तलब दिइरहे।
हरि दाइ अहिले त सायद राम्रै उद्यमी होलान्।
काठमाडौँमा कता कता छरिँदै गएको मलाई हरिसिंह ठकुरीले एउटा बाटो देखाइदिए, जुन बाटोलाई मैले कतै घिस्रिँदै, कतै कुद्दै, कतै मडारिँदै, कतै ठेसिँदै र कतै सुस्तरी हिँड्दै आफू हिँड्न लायकको बनाएँ।
***
म पुलिस बन्न दरखास्त दिने लाममा उभिएको थिएँ। असईमा हो कि इन्स्पेक्टरमा जागिर खुलेको थियो, माओवादी द्वन्द्वको त्राहिमाम् थियो। र पनि, जागिर खान भीडभाड नै थियो। हातमा फाइल, फाइलमा शैक्षिक प्रमाणपत्र र अरू कागजात। तिनै कागजातहरूको लाममा एउटा सिफारिस थियो। र, सिफारिस गरेका थिए, हरि लम्सालले।
उनी पत्रकार थिए। तिनताका औसत खाले एउटा साप्ताहिक पत्रिका छापिन्थ्यो, बिहीबार राष्ट्रवाणी नामको। उनी त्यसका प्रकाशक/सम्पादक थिए।
उनीसित पनि मेरो संयोगले भेट भएको थियो।
रामेश्वर साहुको काम छाडेपछि दिव्य दर्शन नामको तिनताकाको औसतभन्दा निकै तल्लो स्तरको साप्ताहिकमा काम थालेको थिएँ मैले। तलब लिएर काम थालेको र मैले पत्रकारिता नै थालेको यो पहिलो पत्रिका थियो।
एक साँझ भास्सिए भास्सिएजस्तो स्वर भएका एउटा अधबैँसे दिव्य दर्शनको कार्यालय छिरे। दिव्य दर्शनका प्रकाशक/सम्पादक थिए, रामचन्द्र तिवारी। जसको कार्यालय मध्य बागबजारमा तिवारीकै घरमा थियो। बागबजारबाट पुलिस क्लब जाँदा बीच चोकबाट दाहिने लागेपछिको तीनतले घरमा थियो, पत्रिकाको कार्यालय। चोकमा माओवादीनिकट जनादेश साप्ताहिक, अलि अगाडि माले निकट प्रकाश साप्ताहिक, प्रकाश साप्ताहिक भएकै घरमाथि खबरकागज, पुलिस क्लबकै अगाडि खुलामञ्च साप्ताहिक। झन्डै घरै पिच्छेजसो साप्ताहिकका कार्यालय थिए।
दिव्य दर्शन पूरापूर राजभक्तिमा लीन थियो। तिवारी सर थिए, पूजापाठ गरीवरी मात्रै माथिल्लो तलाको अफिसमा चढ्ने, उस्तै पर्दा रामनामी बर्को ओढेर। टिनले छाएको घरको सबैभन्दा माथिल्लो तलालाई उनले पत्रिकाको कार्यालय बनाएका थिए र तल्लो तला उनको निवास थियो।
उनी दुईचार वाक्य पनि राम्ररी लेख्दैनथे, लेख्न जान्दैनथे। तर, पत्रिकाको पहिलो पृष्ठमा उनका नाममा दिव्यदृष्टि नामक स्तम्भ छापिन्थ्यो, जुन केबी मरहट्ठाले लेखिदिन्थे। कहिलेकाहीँ हरि लम्सालले पनि लेखिदिन्थे। पत्रिकामा कामदार थियौँ (के पत्रकारिता गरिन्थ्यो र त्यहाँ, दैनिक पत्रिकाबाट समाचार सारिन्थ्यो)। वासु दाहाल नेताहरूको अन्तर्वार्ता लिन्थे (१० वर्षअघि उनी मोटरसाइकल दुर्घटनामा बितेर गए), मोहन ढुंगेल सबैथोक लेख्थे उनको पनि कलम धारिलै थियो। र, म पत्रिकामा आएका समाचार छोटो बनाएर सार्नेबाहेक साहित्यको स्तम्भ, फिल्म, खेलकुद, खाली ठाउँ भर्नुपर्ने अरू टुक्रे समाचार लेख्थेँ। वासु र मेरो थप काम चाहिँ शुक्रबार राति टेकुमा पत्रिका छाप्न लाने र शनिबार बिहान पत्रिका भूगोलपार्क पुर्याएर वितरककोमा छाड्ने थियो। त्यसबापत शुक्रबार बेलुकाको खानाको पैसा पाइन्थ्यो।
मैले प्रहरीमा जागिर खुलेको, आवेदन गर्न लागेको र त्यसका लागि एउटा सिफारिस लेख्दिन भनेँ। मलाई के लागेको थियो भने, माओवादी जगजगीमा कम्तीमा राजावादीबाट सिफारिस गराउँदा जागिर पाउने सम्भावना धेरै हुन्छ।
पत्रिका शनिबार छापिने भएकाले मरहठ्टा सर बिहीबार आधा दिन र शुक्रबार पूरा दिन बस्ने गरी आउँथे। पत्रिकाको पहिलो पेजलाई चाहिनेजति समाचार सब लेख्दिन्थे। मरहट्ठा सर अहिले अमेरिका छन्। उनको कलम बडा धारिलो थियो। उनी जनभावना, दिव्यदर्शनलगायत कैयौँ साप्ताहिक पत्रिकामा ‘घोस्ट राइटर’ भएर मुख्य समाचार लेख्ने काम गर्थे। उनी व्यंग्यदेखि व्यक्तिचित्रसम्म, राजनीतिदेखि अन्तर्राष्ट्रिय विश्लेषणसम्म, राशिफलदेखि साहित्यसम्म, धर्मशास्त्रदेखि कोकशास्त्रसम्म रसिलो भाषामा लेख्न सक्थे। उनको बोली पनि त्यस्तै रसिलो थियो। कुनै पनि घटना उनी रसिलो भाषामा सत्य नै हो जसरी सुनाउँथे। उनलाई नाम चाहिन्नथ्यो, बस् पैसा भए हुन्थ्यो। मलाई पहिलोपल्ट पत्रिकामा जागिरका लागि सिफारिस गर्ने पनि उनै थिए। जाम-मसलाको भारी बिसाएर कविता-गजल छाड्न जाँदाजाँदै उनले एकदिन सोधेका थिए, ‘के गर्छौ भाइ, कविता त राम्रै लेख्दा रछौ? अरू पनि लेख्न आउँछ?’
‘म पत्रकारिता पढ्दै छु, सबथोक लेख्न सक्छु सर,’ मैले जवाफ दिएको थिएँ।
‘पत्रिकामा काम गर्ने?’
‘पाए गर्ने।’
मेरो उत्तर सुनेर उनले भनेका थिए, ‘तलब १५ सय हुन्छ। एक जना लेख्न सक्ने सहयोगी चाहिएको छ। म तिवारीजीसित कुरा गर्छु, अर्को शुक्रबार मलाई भेट्नू।’
र, अर्को शुक्रबारबाट म त्यहाँ जागिरे भएको थिएँ २०५६ साल जेठ वा असारको कुनै हप्ता।
हो, यही दिव्यदर्शनमा भेट भएको थियो हरि लम्सालसित। सुर्ती र चुरोटले खिया परेर काला बन्दै गएका नमिलेका दाँत मुस्काएर आँखा सनक्क माथि सन्काउँदै उनले भास्सिएको स्वरमा सोधेका थिए, ‘के हो नाम?’
जतिपल्ट उनी आउजाउ गरिरहन्थे हरेकपल्ट मेरो नाम सोधिरहन्थे, उसैगरी चुरोटले खिएका र काला बन्दै गरेका दाँत मुस्काउँदै, ‘के हो नाम?’
उनले हरेकपल्ट नाम सोध्ने र मैले हरेकपल्ट नाम भन्नेमै हाम्रो चिनजान सीमित थियो। अर्को कुनै दिन उनी उसैगरी पत्रिकाको अफिस आए र सोधे, ‘के हो नाम?’
यसपल्ट मैले नाम भनेँ र सँगै एउटा आग्रह गरेँ, ‘दाइ, मलाई एउटा सहयोग चाहियो।’
उनले ठट्टैठट्टामा ङिच्च हाँस्दै सोधे, ‘तिमीले काम गरेको पैसा तिवारीजीले दिनुहुन्छ। के सम्चार कहाँबाट सार्ने मरहट्ठाजीले भनिहाल्नुहुन्छ। त्यसबाहेकको सहयोग त म गरिहाल्छु नि। ल भन, के गर्न पर्यो?’
मैले प्रहरीमा जागिर खुलेको, आवेदन गर्न लागेको र त्यसका लागि एउटा सिफारिस लेखिदिन अनुरोध गरेँ। मलाई के लागेको थियो भने, माओवादी जगजगीमा कम्तीमा राजावादीबाट सिफारिस गराउँदा जागिर पाउने सम्भावना धेरै हुन्छ। मैले यत्ति के भनेको थिएँ, उनले एकपानो सादा कागज लिए र ठाउँको ठाउँ सिफारिस लेखिदिए, ‘पत्रबाहक निज अनमोलमणि राजा, राजसंस्था र व्यवस्थाप्रति इमानदार रहेकाले उनी देशको सुरक्षा निकायमा जागिर खान योग्य’ रहेको व्यहोराको सिफारिस तयार भयो। उनले सिफारिसमा आफ्नो नाम-नम्बर सब लेखिदिए। र, सोधे, ‘तिमी माओवादी त हैन नि?’
सायद माओवादी चरम द्वन्द्वका कारण होला, उनीहरू लाइनमा बसेकालाई ‘इरिटेट’ गर्न चाहन्थे। झन्डै दुई घन्टा लाइन बसुन्जेल छिनछिनमा तिनको गाली सुनेपछि मैले सोचेँ, ‘म मान्छे नै रहन्छु, पुलिस बन्दिनँ।’ र, जागिरको रहर त्यहीँ छाडेर म त्यो लाइनबाट लुसुक्क निस्किएँ, नागरिकता छुटेको बहानामा।
मैले हैनमा मुन्टो हल्लाएँ र भनेँ, ‘तर, म राजावादी पनि होइन दाइ हुन चैँ।’
‘तिम्रो पारा मैले देखिरा’छु भाइ, तिमी राजावादी होइनौ। तर, तिमी आँटिलो छौ, भविष्यमा राम्रै गर्छौ।’
म माओवादी थिइनँ, तर उनले लेखेजस्तो म कहिल्यै राजा, राजसंस्था र व्यवस्थाको पक्षमा पनि थिइनँ। पत्रकारिताको सुरुआती जागिर राजावादी पत्रिकामा खाएँ, तर मलाई कहिल्यै राजतन्त्र मन परेन। म त कक्षा ३ हुँदै रूपचन्द्रको बहुदलका पक्षमा हिँडेको मान्छे। माध्यमिक तह पढ्न थालेपछि जनमोर्चाका स्थानीय नेता गाविस उपाध्यक्षको घर बसेर रातिराति पर्चा बाँड्ने र भित्ता लेख्ने गर्दै हिँडेको मान्छे। कक्षा ८ मै गोर्कीको आमा पढेर भावुक बनेको मान्छे। मेरो रगतमा कम्युनिस्ट थियो। तर, यतिखेर मलाई जागिर चाहिएको थियो, सरकारी जागिर त्यो पनि पुलिसमा। उनले सिफारिस लेखिदिए, बस् मेरा लागि त्यही ठूलो कुरा भयो। अझ ‘म राजावादी होइन भन्दा पनि उनले सिफारिस गर्दिनँ’ भनेनन्।
उनको सिफारिस हात परेपछि मैले मनमनै ठानेँ, ‘अब पक्का पुलिस बनियो केटा।’ कुद्ने-उफ्रिने शारीरिक अभ्यास मेरा लागि गाह्रो थिएन। किनभने, म तिनताका सितोरियो करातेको खेलाडी थिएँ। कक्षा ३ हुँदा काटिएको देब्रे हातको चोरी औँला बाङ्गो हुनुबाहेक ममा कुनै शारीरिक खोट थिएन। त्यसमाथि यत्तिको सिफारिस।
हरि लम्सालले लेखिदिएको त्यही सिफारिस पत्रसहितको फाइल च्यापेर म पालो कुरिरहेको थिएँ।
‘साला, तिमीहरू सब आतंककारी हौ, अन्वार हेर अन्वार राणीका छोराहरूको, साला पुलिसमा जागिर खान आएकाको अन्वार,’ एउटा पुलिस कराउँदै लाइनमा आयो। केही छिनमा अर्को आयो, मुखमा आएजति गाली बक्दै, ‘यिनीहरू सबलाई गोली ठोकेर मार्नुपर्छ। मर्नी भए सालेहरू।’
सायद माओवादी चरम द्वन्द्वका कारण होला, उनीहरू लाइनमा बसेकालाई ‘इरिटेट’ गर्न चाहन्थे। झन्डै दुई घन्टा लाइन बसुन्जेल छिनछिनमा तिनको गाली सुनेपछि मैले सोचेँ, ‘म मान्छे नै रहन्छु, पुलिस बन्दिनँ।’ र, जागिरको रहर त्यहीँ छाडेर म त्यो लाइनबाट लुसुक्क निस्किएँ, नागरिकता छुटेको बहानामा।
हरि लम्सालले लेखिदिएको त्यो सिफारिस मैले प्रयोग गरिनँ। प्रयोगमा आएन। त्यो सिफारिस पछिसम्म थियो मसित। कागजपत्रको कुन खातमा कता हरायो पछि।
त्यसपछि हरि लम्साललाई मैले गर्ने सम्मान बढ्यो। जहाँ भेटे पनि म उनलाई नमस्कार गर्थें। तर, त्यसपछि चाहिँ उनले मेरो नाम कहिल्यै सोधेनन्। उनले पुलिसमा जागिर भयो/भएन पनि सोधेनन्। सिफारिसले हरि दाइसित मेरो दोस्ती बढ्यो। बेलाबेला म उनको राष्ट्रवाणी कार्यालयमा जान्थेँ। पछि त उनको छोरा विकास लम्साल र म सँगै काम गर्न थाल्यौँ समाचारपत्रमा, र मैले हरि दाइलाई दाइबाट अंकल भन्न थालेँ। घरमा आउजाउ हुनथाल्यो। विकास मेरो तँ तँ म म गर्ने साथी भयो।
मैले कात्तिक २०६२ मा समाचारपत्र छाडेपछि विकाससितको सम्बन्ध पनि पातलियो। ऊ पनि समाचारपत्र छाडेर टीभीतिर लाग्यो। र, हरि अंकलसितको भेट पनि पातलियो।
पछि पत्रकारिता छाडेर विकास पोर्चुगल भासियो। अंकल सिकिस्त बिरामी भनेर गत वर्ष नेपाल गएको ऊसित कुरा हुँदै थियो। उसले अंकललाई फोन दियो। अंकल ‘हार्ट अट्याक’ उपचारपछि झन्डै पक्षाघातजस्तो भएर आराम गरिरहेका थिए। र पनि, मेरो नाम सुनेपछि उनले उही पुरानै लवजमा आफ्नो भास्सिएको स्वरमा सोधे, ‘के छ?’
लामो कुरा त हुन सकेन, तर मैले भनेँ, ‘म त ठीक छु अंकल, तपाईं छिटै निको हुनुस्।’
मेरो जवाफ अंकलले बुझे/बुझेनन् कुन्नि?
(नोटः संयोग, मेरो जीवनको कुनै न कुनै पाटोमा जोडिएका सात ‘हरि’ रहेछन्। जसमध्ये दुई हरिलाई मैले यहाँ सम्झेको छु।)