काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयानका लागि पत्र लेखेको छ।
आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि ओलीलाई पनि आयोगमा उपस्थित भई बयान दिन पत्राचार गरेको हो। आयोग स्रोतका अनुसार आन्दोलनका बेला सरकारको भूमिका, सुरक्षा निकायको परिचालन तथा निर्णय प्रक्रियाबारे स्पष्टता लिन ओलीसँग बयान लिन आवश्यक ठानिएको हो।
आयोगले ओलीलाई बयानका लागि आजै (आइतबार) काटेको छ।
यसअघि आयोगले प्रधानसेनापति, प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी प्रमुख, काठमाडौंका तत्कालीन प्रजिअ छविलाल रिजाल तथा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ। आयोगले सबै पक्षको बयान तथा प्रमाण संकलनपछि प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ।
सरकारले ६ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग बनाएको थियो ।