जनकपुर। धनुषाको कमला नगरपालिका ६‚ मडानमा रहेको एउटा मस्जिदमा युवाहरूको उच्छृङ्खल समूहले तोडफोड गरेपछि तनाव बढेको छ।
तोडफोडको विरोधमा मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। उच्छृङ्खल केही युवालाई प्रहरीले पक्राउ गरेपछि उनीहरूले जिल्ला प्रहरी कार्यालयअगाडि विरोध प्रदर्शन गरेका थिए।
टिकटकमा भिडियो राखेपछि मडान गाउँका केही युवाले मस्जिदमा प्रवेश गरेर तोडफोड गरेको धनुषाका प्रहरी प्रवक्ता (डीएसपी) गणेश बमले जानकारी दिए। तोडफोडमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ। स्थानीय प्रशासनले प्रदर्शनकारीलाई संयम अपनाउन अनुरोध गरेको छ।
त्यस क्षेत्रमा हिजो (शनिबार) देखि विरोध भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ। संयम अपनाउन चौतर्फी अपिल भएको छ।
कमला नगरपालिकाका मेयर विशेश्वर यादवले अहिले अवस्था सामान्य रहेको र सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखिएको जानकारी दिए। उनले दुवै पक्षलाई अवस्था सामान्य बनाउन स्थानीय प्रशासनको रोहबरमा छलफल राखिएको छ। उनले विस्तारै माहोल सहज हुने विश्वास व्यक्त गरे।
घटनालाई लिएर सुनसरीमा पनि प्रदर्शन भएका छन्। पर्साको वीरगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। केही युवाले आइतबार बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।
वीरगन्जको घण्टाघर, मुर्ली, मालपोत चोक, छपकैया इदगाह चोकलगायत स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका थिए।

छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाल संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीसहित संघीय गणतान्त्रिक गठबन्धनको तर्फबाट धनुषा जिल्लाको कमला नगरपालिकामा ६ मा भएको घटनाले देशभर असामाजिक‚ अपराधिक र शान्ति सुरक्षामा खलल पुर्याउने‚ कानुनी राज्यको उल्लंघन गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन्।