गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलबाट हाल हप्ताका चार दिन नियमित हवाई उडान सञ्चालन भइरहेको छ। नेपाल एअरलाइन्सका जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने व्यवस्था छ।
रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाका अनुसार अधिकांश उडान अब तालिकाअनुसार समयमै सञ्चालन भइरहेका छन्। लामो समय अनियमित उडान भोगेका स्थानीयहरूका लागि यो सुविधा हवाई यात्रालाई सहज बनाउने भएको छ।
नियमित उडानले गुल्मीको व्यापार, पर्यटन र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी राजधानी काठमाडौं जानुपर्ने बिरामीहरूका लागि बिहानको उडान जीवनरक्षक सावित भएको स्थानीयले बताएका छन्।
हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७,५०० र रेसुङ्गा–काठमाडौं ७,३०० रुपैयाँ तोकिएको छ। सुरक्षाको कारण दिउँसोको समयमा हावा बढी चल्ने भएकाले उडान बिहानै सञ्चालन भइरहेको छ।