विराटनगर। ओखलढुंगा पछिल्लो तीन महिनादेखि बीभत्स र श्रृंखलाबद्ध हत्याका घटनाले त्रसित थियो। विकट गाउँका असहाय र वृद्धवृद्धालाई निसाना बनाउँदै लुटपाट गर्ने एउटा क्रूर समूहको सक्रियताले जिल्लाको सुरक्षा चुनौती बढाएको थियो। नेपाल प्रहरीको सूक्ष्म अनुसन्धानपछि उक्त शृंखलाबद्ध हत्यामा संलग्न एउटै गिरोहका चारजना सदस्यलाई पक्राउ परेका छन्।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका र चिसंखुगढी गाउँपालिकाभित्र भएका दुई छुट्टाछुट्टै घटनामा तीनजनाको ज्यान लिने कार्यमा एउटै समूहको संलग्नता रहेको पुष्टि भएको छ। कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लुटपाट गर्ने उद्देश्यले योजनाबद्ध रूपमा यी हत्याहरू गरिएका हुन्।
वृद्ध दम्पतीको बीभत्स अन्त्य
घटनाको पछिल्लो कडी १५ पुसको हो। चिसंखुगढी गाउँपालिका ६, भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गरेर बस्ने ६० वर्षीय सोबितमान थापा मगर र उनकी ६० वर्षीया पत्नी रत्नमाया थापा मगरको बीभत्स हत्या भयो। हतियारधारी समूहले उनीहरूकै घरमा आक्रमण गरेको थियो।
कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दीपक पोखरेलका अनुसार यो समूहले सुरुमा पत्नी रत्नमाया र त्यसपछि सोबितमानको हत्या गरेको थियो। “अपराधीहरूले कृषि कार्यमा प्रयोग हुने कोदालो र अन्य धारिलो हतियार प्रयोग गरी दम्पतीको दाहिनेपट्टिको कञ्चट र कानमा प्रहार गरेका थिए,” पोखरेलले भने, “हत्यापछि शवलाई लुकाउन गोठमा लगेर स्याउलाले छोपेका थिए।”
हत्यापछि यो समूहले पसल र कोठाबाट करिब एक लाख रुपैयाँ नगद, दुई तोला सुनका तयारी गहना र ६ तोला काँचो सुन लुटेर फरार भएको थियो। अनुसन्धानका क्रममा यो समूहले वृद्ध दम्पतीको हत्यामा सुरुमा कोदालो प्रहार गर्ने व्यक्ति विनोद राई रहेको स्वीकार गरिसकेका छन्।

वृद्ध दम्पतीको हत्याको अनुसन्धान गर्दै जाँदा प्रहरीले तीन महिनाअघि भएको अर्को रहस्यमयी हत्याको गुत्थी पनि पत्तो लगाएको छ। गत २६ असोजको राति १० बजे सिद्धिचरण नगरपालिका ४, चाम्खुमा एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) को आफ्नै घरमा हत्या भएको थियो।
त्यसबेला हत्यारा पत्ता लाग्न सकेको थिएन, तर चिसंखुगढीको घटनासँग यसको ‘मोडस अपरेन्डी’ (हत्या गर्ने शैली) दुरुस्तै मिलेपछि प्रहरीले सोही समूहमाथि निगरानी बढाएको थियो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी मदन केसीका अनुसार, रत्नकुमारीको हत्यामा पनि बन्चरो प्रहार गरी कञ्चट र कानकै भागमा चोट पुर्याइएको थियो। उनको साथबाट पनि सुनका गरगहना लुटिएको थियो। प्रहरीका अनुसार यी दुवै घटनामा एउटै समूहको संलग्नता हुनुले यो गिरोह ‘प्रोफेसनल’ हत्यारा र लुटेरा समूह रहेको पुष्टि गर्दछ।
प्रहरीले यस शृंखलाबद्ध हत्यामा संलग्न भएको आरोपमा ओखलढुंगाका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिसंखुगढी ३, दियालेका २४ वर्षीय मिलन भन्ने संगम राई, सोही ठाउँका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल छन्। प्रहरीका अनुसार यी चारैजना लागुऔषध प्रयोगकर्तासमेत हुन्।
लागुऔषधको तलतल र पैसाको लोभमा उनीहरूले विकट क्षेत्रका एक्ला वृद्धवृद्धालाई निसाना बनाउने गरेको पाइएको छ। यी दुई बीभत्स घटनाको संवेदनशीलतालाई हेर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो, खुकुरी र रत्नकुमारीको हत्यापछि लुटिएको सुन गालेर बनाइएको ५.८० ग्रामको रिङ बरामद गरेको छ। यस्तै सोबितमानको पसलबाट लुटिएको रिचार्ज कार्ड, दुईनाले भरुवा बन्दुक र चार थान मोबाइलसमेत बरामद भएको छ।
पक्राउ परेका चारै जनामाथि प्रहरीले ‘कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना’ सम्बन्धी तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। मुलुकी अपराध संहिताअनुसार क्रूरतापूर्वक ज्यान मारेको कसुरमा उनीहरूलाई जन्मकैद (जीवित रहेसम्म जेल) को सजाय हुन सक्छ। साथै डाँका र हातहतियारसम्बन्धी कसुरमा थप कैद र जरिवानासमेत हुने प्रावधान छ। ओखलढुंगा प्रहरीले आइतबार अदालतबाट म्याद थप गरी उनीहरूमाथि विस्तृत अनुसन्धान सुरु गरिसकेको छ।