काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२१ पुष २०८२
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो। गेट्टी इमेज
अ+
अ-

न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार न्युयोर्कको म्यानहटनस्थित संघीय अदालतमा उपस्थित गराइँदै छ। यससँगै अमेरिकामा उनीविरुद्ध चल्ने आपराधिक कारबाही औपचारिक रूपमा सुरु हुने भएको छ।

सोमबार अमेरिकी समयअनुसार दिउँसो १२ बजे हुने प्रारम्भिक सुनुवाइमा न्यायाधीशले मादुरोमाथि लगाइएका अभियोगहरू सार्वजनिक रूपमा पढेर सुनाउनेछन्। मादुरो र उनकी पत्नीलाई पहिलोपटक अदालतसमक्ष प्रस्तुत गर्न लागिएको हो।

यो पेशी कानुनी प्रक्रियाको नियमित चरण भए पनि यसले लामो समयसम्म चल्न सक्ने न्यायिक संघर्षको सुरुवात गर्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकारले पछिल्ला १५ वर्षदेखि लागुऔषध तस्करीसँग सम्बन्धित विषयमा अनुसन्धान गर्दै आएको र पछिल्ला ६ वर्षयता मादुरोलाई मुख्य अभियुक्तका रूपमा राखिएको बताइएको छ।

यो मुद्दाको सुनुवाइ अमेरिकी जिल्ला न्यायाधीश एल्भिन के. हेलरस्टिनको इजलासमा हुनेछ। उनी यस प्रकरणसँग एक दशकभन्दा बढी समयदेखि संलग्न रहँदै आएका अनुभवी न्यायाधीश हुन्।

मुद्दा टुंगो नलागेसम्म मादुरोलाई संघीय हिरासतमै राखिने सम्भावना उच्च छ। हाल उनी मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएका छन् र अदालतसम्म ल्याउँदा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।

एक अभियुक्तका रूपमा मादुरोले अमेरिकी कानुनअनुसार मौन बस्ने अधिकार लगायत सबै कानुनी सुविधा पाउनेछन्। साथै, भविष्यका सुनुवाइमा बयान दिने वा नदिने निर्णय गर्ने अधिकार पनि उनको हातमै रहनेछ।

देख्दा सामान्य अदालती प्रक्रिया जस्तो लागे पनि यस घटनाको अन्तर्राष्ट्रिय राजनीति र कानुनी क्षेत्रमा ठूलो प्रभाव पर्ने अनुमान गरिएको छ। मादुरो दम्पतीले अमेरिकी न्यायिक प्रक्रियामा कस्तो भूमिका खेल्छन् भन्ने विषय भने अझै खुल्न बाँकी छ।