राजनीति
घिसिङको राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले आगामी राजनीतिक यात्रा सफलताको शुभकामना दिइन्।
काठमाडौँ। ऊर्जा‚ जलस्रोत तथा सिँचाइ‚ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले बुधबार राति पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।
राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

राजीनामा बुझाएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग तस्बिर खिचाउँदै ऊर्जामन्त्री कुलमान घिसिङ । तस्बिरहरू : केशव थापा
“निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठुलो गुन लगाउने गरी काम गर्नुभएको छ‚” प्रधानमन्त्री कार्कीले भनिन्‚ “रातदिन नभनी खट्नुभयो। देशका विभिन्न भागमा पुग्नुभयो। विपद्का बेला उस्तै सक्रिय रहनुभयो। विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो। हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो। यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।”
उनले घिसिङलाई आगामी राजनीतिकजीवन थप सफल रहोस् भन्दै शुभकामना दिइन्। प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भनिन्‚ “तपाईं आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन। हामीले नै निम्त्याएका हौँ। अझ जेन-जी युवाले तपाईंको माग गरेका हुन्। चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईंलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो। आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।”

मन्त्री घिसिङले पनि यो अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे।
चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयमा जनस्तरबाट पटक-पटक प्रश्न उठ्दै आएका थिए। यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ‚ जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन्।
घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी त्यसको वरिष्ठ उपसभापति बनेका छन्।