संस्कृति
ढिक्रीको बास्ना र मघौटा गीतको झंकारले थारू बस्तीमा उत्सव
पुसको उत्तरार्धतिर कठ्यांग्रिँदो जाडोमा पनि दाङका अधिकांश गाउँमा झिसमिसेदेखि ढिकीको आवाज गुन्जिरहन्छ। मुटु काम्ने जाडोमा पनि कोही किन यसरी बिहानैदेखि खटिइरहन्छन्? यो स्वाभाविक जिज्ञासाको जवाफ हो- माघ भित्र्याउने चटारो।
अबको एक सातामा थारू समुदायको महान् पर्व ‘माघ’ मनाइन्छ। यो थारू समुदायको नयाँ वर्ष पनि हो।
यही नयाँ वर्ष भित्र्याउन थारूका घरआँगन सबेरैदेखि जागा हुन्छन्। कोही चामलको पीठो मुछ्छन्, कोही आगोको ताप मिलाउँछन् त कोही दुनाटपरी जोहो गर्न थाल्छन्। थारूहरूको पहिचानसँग जोडिएको र माघ पर्वको मुख्य परिकारका रूपमा रहेको ढिक्री बनाउने तयारी सातदश दिनअघिबाटै यसरी सुरु हुने गरेको छ।

चामलको पीठोलाई न धेरै कडा, न धेरै नरम हुने गरी गोलो र लामो आकार दिएर माटो वा तामाको भजनीमा ढिक्रीलाई बफ्याउँदै पकाइन्छ। मसलाको प्रयोगविना पनि चखिलो स्वाद हुने ढिक्री बनाउन विशेष अनुभव र सीप चाहिन्छ। पाकिसकेपछि ढिक्रीलाई सुँगुरको मासु र आलुको अचारसँग खाने गरिन्छ।

घोराही उपमहानगरपालिका-१७, गुलरियाकी ७० वर्षीया रुन्ची चौधरी आमाले सिकाएको ढिक्री बनाउने तरिका आज पनि उसैगरी पालना गरिरहेको बताउँछिन्।
ढिक्री, सुँगुरको मासु र माछासँगै अनडीको झोल माघको अर्को विशेष परिकार हो। वर्षौंदेखि माटोको भाँडामा राखिएको अनडीबाट झोल निकालिँदा त्यसले परम्पराको गन्ध बोकेको हुन्छ।
माघको चटारोमा थारू बस्तीका महिलाहरू सामूहिक भान्सामा व्यस्त हुने गरेका छन्। हाँसो, ठट्टा र कुराकानीबीच माघको परिकार बनाउने गर्छन्। उही बस्तीकी शान्ति चौधरी भन्छिन्, “माघ भनेको सबै मिलेर काम गर्ने समय हो। यस पर्वले परिवार मात्रै होइन, छिमेकीहरूलाई पनि नजिक ल्याउँछ।”
माघको उत्सव नजिकिँदै जाँदा बालबालिकामा पनि छुट्टै उत्साह देखिन्छ। नयाँ कपडामा सजिएर कसैले मादल बजाउँछन्, कसैले झ्याली, कसटार त कसैले चट्कौली। मघौटा गीत गाउँदै उनीहरू बाटोभरि नाच्दै घर घर पुग्छन्। नाच्ने समूहलाई घरधनीले ढिक्री, सुँगुरको मासु र अनडीको झोल खुवाएर पठाउँछन्। यसले माघको उत्साह झनै बढाउँछ।

साँझ परेपछि माहोल झनै रमाइलो हुन्छ। मौलिक गरगहनासँगै स्थानीय वेशभूषामा सजिएका थारू महिला र पुरुषहरू गोलो घेरामा मादलको तालसँगै मघौटा गीत गाउँछन्:
बाबा कि सगरवा मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा।
सखिए हो, टोपिया छुटल पानी घाट सखिए हो।।
उजरि बजार गैली हाँ सँकरि गलियवा।
सखिए हो, भइगैल साँझ बिसरि गैल सेन्डुरा, सखिए हो।।
टुर गैनु सैयाँ पुरैनक पटिया, टुर गैनु सैयाँ।
सखिए हो, गरि गैल सैयाँ महिन रस कँटावा, सखिए हो।।
थारू समुदायमा माघ पर्वलाई सामाजिक सन्धिका रूपमा पनि लिइन्छ। वर्षभरि भएका मनमुटाव बिर्सिने, पुराना गुनासो मेट्ने र सम्बन्ध नवीकरण गर्ने अवसर यही पर्वले दिन्छ। नाचगानसँगै आशीर्वाद आदानप्रदान हुन्छ। माघको १ गतेदेखि सुरु हुने पर्व एक सातासम्म पनि सकिएको अनुभूति हुँदैन।




