वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले तेलको नयाँ सम्झौताबाट प्राप्त हुने रकमबाट अमेरिकी निर्मित सामानहरू खरिद गर्ने बताएका छन्।
“मैले जानकारी प्राप्त गरेको छु कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने रकमबाट मात्र अमेरिकी निर्मित सामानहरू खरिद गर्नेछ‚” सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “यी खरिदहरूमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरू सुधार गर्न अमेरिकी कृषि उत्पादन, औषधि, चिकित्सा उपकरण र मेसिनरी समावेश हुनेछन्।”
उनले अब अमेरिकाले भेनेजुएलालाई व्यापारिक साझेदार बनाउन चाहेको पनि बताएका छन्। उनले भनेका छन्‚ “अर्को शब्दमा, भेनेजुएला अब संयुक्त राज्य अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध छ। यो एक बुद्धिमानी निर्णय हो र भेनेजुएला र संयुक्त राज्य अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा हो।”
अमेरिकाले राजधानी काराकसबाट गएको शनिबार मात्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका पुर्याएको छ। भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिका रुपमा अहिले डेल्सी रोड्रिगेज नियुक्त भएकी छन्। यसअघि उनी उपराष्ट्रपतिका रूपमा कार्यरत थिइन्।