२५ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपालका हाई स्कुलका विद्यार्थीहरुले बनाएको ‘मुनाल’ नामको नानो भू-उपग्रह २८ पुसमा भारतबाट प्रक्षेपण हुने भएको छ । काभ्रेको तीन वटा स्कुलका विद्यार्थीले बनाएको क्युब स्याट मुनाल भारतको आन्ध्र प्रदेश राज्यको श्रीहरीकोटास्थित सतिश धवन स्पेश सेन्टरबाट प्रक्षेषण गर्न लागिएको हो ।

नेपाली समयअनुसार सोमबार बिहान १० बजेर ३२ मिनेटमा नेपालको मुनाललाई भारतको पोलार स्याटलाइट लञ्च भेइकल (पीएसएलभी-सी६२) रकेटमार्फत अन्तरीक्षमा पठाउन लागिएको हो । दुई वर्षअघि काठमाडौंमा भएको दुवै देशको परराष्ट्रमन्त्रीस्तरीय नेपाल- भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट निस्शुल्क पठाइदिने सहमति भएको थियो । मुनाल स्याटेलाइटको लम्बाई, चौडाई र उचाई दस-दस सेन्टिमिटर छ ।

सो भू-उपग्रह काभ्रेस्थित काठमाडौं युनिभर्सिटी हाईस्कुल, चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र संजिवनी मोडल हाइस्कुलका विद्यार्थीहरुले निर्माण गरेका हुन् । सो भु-उपग्रह नास्ट र अन्तरीक्ष प्रतिष्ठान नेपालको सहकार्यमा सञ्चालित परियोजना अन्तर्गत निर्माण गरिएको हो ।

सो भू-उपग्रह काभ्रेको आजाद स्कुलका कान्छाराम स्याङतान, काठमाडौं युनिभर्सिटी हाईस्कुलका रजिन रंजित, सुभेष गुरुङ, सुशान्त ढकाल, समृद्धि शर्मा, श्रीया प्रधान श्रेष्ठ, सिद्धार्थ कर्माचार्य, चैतन्यकी संगीता मैनाली, संजिवनी विद्यालयकी श्रेया तामाङले निर्माण गरेका हुन् । भू-उपग्रह निर्माणका लागि काठमाडौं युनिभर्सिटी हाइस्कुलमा ल्याब स्थापना गरिएको थियो । जसमा विद्यार्थीहरुले दुई वर्ष लगाएर भू-उपग्रह निर्माण गरेका हुन । उनीहरुलाई अन्तरीक्ष प्रतिष्ठान नेपालले सहयोग गरेको थियो ।

प्रक्षेपण गरिएको भू-उपग्रहले पृथ्वीको सहतभन्दा करिब ८ सय किलोमिटर टाढा अन्तरीक्षमा रहेर पृथ्वीको परिक्रमा गर्ने छ । सोमबार हुने प्रक्षेपण अवलोकन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति दिलिप सुब्बा, सचिव रविन्द्रप्रसाद ढकाल र नास्टको अन्तरीक्ष अनुसन्धान कार्यक्रममा प्रमुख हरिराम श्रेष्ठ आइतबार भारत जाँदैछन् ।

गत महिना मात्रै चितवनको चेपाङ विद्यार्थीहरुले निर्माण गरेको क्युब स्याट ‘नेपाल स्याट’ चीनबाट अन्तरीक्षमा प्रक्षेपण गरिएको थियो ।