काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वसांसद् असिम साह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन्। लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उनको भनाइ छ।

“मेयर शाह र सभापति लामिछानेको पृष्ठभूमि‚ स्वभाव‚ विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवैजना वैकल्पिक शक्तिका रूपमा उदाएकाले उहाँहरूबीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ‚” उनले भने।

दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफूलगायतले पहल गरेको उनको दाबी छ। उक्त सहमति राजनीतिक गणितका आधारमा मात्र नभइ व्यक्तिगत विश्वास र सम्बन्धले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।

“कतिपयले उक्त सहमति अदृश्य शक्तिका कारण पनि भने‚ तर त्यहाँ हामी केही साथीहरु मात्रै थियौँ‚” उनले भने‚ “त्यो सहमतिको यात्रा सहज थिएन। सभापति लामिछानेको जेल बसाइँ‚ अदालती प्रक्रिया‚ मेयर बालेनको पारिवारिक शोक‚ धेरै अवरोध आए। अन्ततः दुवैबीच नयाँ राजनीतिक समीकरणको आधार तयार भयो।”

उनले यो सहकार्य चुनावी रणनीति मात्रै नभइ दीर्घकालीन राजनीतिक परिवर्तनका लागि भएको बताउँछन्। सात/आठ घण्टासम्मको गहिरो संवाद‚ आपसी समझदारी र देश विकासप्रतिको समान चाहनाका कारण दीर्घकालीन सहकार्यका लागि सहमति जुटेको उनको बुझाइ छ।

वैकल्पिक शक्तिहरू छरिएर होइन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि आफूहरुले पहल थालेको साहले बताए। रास्वपाले जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरू एक ठाउँमा जुटाउने क्रमलाई जारी राखेको उनको भनाइ छ। “छरिएर रहेका वैकल्पिक शक्तिहरू एउटै प्लेटफर्म‚ एउटै मञ्चमा उभ्याउनु जरुरी थियो‚ त्यसका लागि उपयुक्त मञ्च रास्वपा नै थियो‚” उनले भने। -रासस