काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

काठमाडौँ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जालमार्फत गायत तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।

उनले एक्समा गायक तामाङको योगदान स्मरण गर्दै समवेदना प्रकट गरेकी हुन्। “प्रशान्त तामाङको असामयिक निधनले अत्यन्तै दुःखी बनाएको छ। उनको आत्मा छुने आवाज र सानो सहरबाट इन्डियन आइडल जित्ने प्रेरणादायी यात्राले धेरैको जीवन छोएको छ,” मुख्यमन्त्री बनर्जीले लेखेकी छन्, “यस कठिन समयमा उनका परिवार, साथीहरू र प्रशंसकहरूप्रति मेरो हार्दिक समवेदना।”

उनले थप भनेकी छन्, “दार्जिलिङ पहाडसँगको उनको गहिरो नाता र कोलकाता प्रहरीसँगको एक समयको सम्बन्धका कारण उनी बंगालमा हामी सबैका लागि विशेष प्रिय थिए। म उनका परिवार, साथीहरू तथा असंख्य प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”

यो पनि…

गायक प्रशान्त तामाङको निधन

४३ वर्षीय गायक तथा अभिनेता तामाङको आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको छ। उनी भारतीय रियालिटी सो ‘इन्डियन आइडल’को तेस्रो सिजनका विजेता पनि हुन्।

नेपाली मूलका भारतीय गायक तामाङ अभिनयमा पनि सक्रिय थिए। गोर्खा पल्टन, परदेशीजस्ता नेपाली चलचित्रमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय वेब सिरिज पाताल लोक-२ मा पनि उनले अभिनय गरेका थिए। सलमान खानसँग स्क्रिन सेयर गरेको तामाङको चलचित्र ब्याटल अफ गलवान प्रदर्शन हुन बाँकी छ।

तामाङले गाएका मन साइँली, गोर्खा पल्टन, असारै महिनामालगायत गीत चर्चित छन्। उनको निधनमा विभिन्न कलाकारहरूले शोक व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन्।