काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबार विशेष महाधिवेशन सुरु भएको हो। विशेष महाधिवेशन महामन्त्रीद्वले संयुक्त रूपमा उद्घाटन गरे। विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय थापासहित पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्वसभामुख तारानाथ रानाभाट, नेताहरू चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, प्रदीप पौडेल, फर्मुल्लाह मन्सुर, उदयशमशेर राणा, महेश आचार्य, पुष्पा भुसाल, सुरेन्द्र चौधरीलगायत नेता छन्।
२०१४ सालमा पहिलो विशेष महाधिवेशन विराटनगरमा भएको थियो। बीपी कोइरालाको नेतृत्वमा उक्त महाधिवेशन भएपछि अहिले दोस्रो विशेष महाधिवेशन भइरहेको हो।
दुईदिने विशेष महाधिवेशनको पहिलो दिन आठवटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ। बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा दिउँसो साढे १ बजेसम्म एक हजार ३२७ प्रतिनिधिले नाम दर्ता गरेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले बताए। कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि छन्।
यो पनि…
कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरिएको छ।
विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकालेका थिए। संयोजक पाण्डेयका अनुसार विशेष महाधिवेशनको उद्घाटन सत्रपछि आइतबारै भृकुटीमण्डपको सभाहलमा बन्द सत्र सञ्चालन हुनेछ।