काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट औपचारिक रूपमा सुरू हुँदैछ। महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।
महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार प्रतिनिधिहरूको नाम दर्ता आज आइतबार बिहान ८ बजेदेखि प्रारम्भ हुनेछ। दर्ता प्रक्रिया काठमाडौंको भृकुटीमण्डपस्थित मूल गेट नजिकै राखिएका स्टलहरूबाट सञ्चालन गरिनेछ।
नाम दर्ताका लागि प्रतिनिधिले आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सचिवालयले जनाएको छ।
विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम आज दिउँसो १ बजे भृकुटीमण्डपमै आयोजना हुनेछ।
यसअघि गत असोज २९ गते महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४ प्रतिशतभन्दा बढीले विशेष महाधिवेशनको माग गरेका थिए। सो पहलको नेतृत्व पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए।
नेपाली कांग्रेसको विधानको धारा १७(२) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।