काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

हेटौँडा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका ९‚ ज्यामिरेमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सूर्यबहादुर मोक्तानको मृत्यु भएको छ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ख ८९२१ नम्बरको ट्रक र मनहरिबाट ज्यामिरेतर्फ आउँदै गरेको ना.४६प ६०२८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा मनहरि गाउँपालिका ७ का ४० वर्षीय मोटरसाइकल चालक मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनामा परी सख्त घाइते मोक्तानको मनहरि अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको बोगटीको भनाइ छ।

उनले ठक्कर दिने ट्रक र चालक हेटौँडा उपमहानगरपालिका ११‚ थानाभर्‍याइङका ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।