काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

पृथ्वी जयन्ती

पृथ्वीनारायणका नेवार मैजु रानीका छोरा थिए– रणसिंह शाही, तर उनीहरूका सन्तान, दरसन्तान को को थिए, स्पष्ट हुन सकेको छैन।

अ+
अ-

आफ्नो राज्य विस्तार अभियानका क्रममा सबैभन्दा पहिले असोज १८०१ मा पृथ्वीनारायण शाहले कान्तिपुर राज्यअन्तर्गतको नुवाकोट हात पारे। त्यसपछि अधिकांश समय त्यहीँ बसेका उनले १८२५ सालमा कान्तिपुरमा राजधानी सारे।

उनले जितेलगत्तै नुवाकोटमा राजभवन भने बनाएका थिएनन्। मल्लकालीन रंगमहलमा बसेर काम चलाएका थिए (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, नुवाकोटको ऐतिहासिक रूपरेखा)।

१८१९ सालमा मात्रै नुवाकोट दरबार बनाइयो। नुवाकोट दरबारमा राखिएको अभिलेखमा तीन वटा महत्त्वपूर्ण कुरा व्यक्त गरिएको छ। यस अभिलेखमा उपत्यकाका मल्ल राजाहरूको घमन्ड तोडिएको, तनहुँका राजा त्रिविक्रम सेनलाई कैद गरी पछि दया गरी छाडिएको र काशी गई फर्केर आउँदा शुल्क लिन खोज्ने मुसलमानी अधिकारीहरूलाई मारेको उल्लेख छ। अभिलेखमा ‘राजाहरूमा सिंहजस्ता तनहुँका राजा त्रिविक्रम (सेन)लाई कैद गरी फलामको पिँजरामा हाल्नुभयो तथा पछि दया गरी छोडिदिनुभयो’ भनिएको छ (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, शाहकालका अभिलेख पहिलो भाग)।

नेवार उपरानी

पृथ्वीनारायण शाह राजा भइसकेपछि १८०३ सालमा केही समय पाहुना भएर भक्तपुरमा बसेका थिए। त्यसबेला भक्तपुरका राजा रणजित मल्लले मीत छोरा पृथ्वीनारायणलाई उनको सेवाका लागि ती नेवार कन्या उपहार दिएका थिए।

पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या उनको भित्रिनी (उपरानी) बनिन्। नुवाकोट आएको केही वर्षपछि उनलाई क्षयरोगले समात्यो। बाँच्ने आशा नहुँदा उनैको इच्छाअनुसार पृथ्वीनारायणले देवघाटको बाटो गरी काशीतिर रवाना गराए। त्यसबेला तनहुँका राजाहरू हिउँदको जाडो छल्न जमिनदारीमा रहेको चम्पारन क्षेत्रको तराईमा घाम ताप्न जान्थे।

त्यहीबेला तनहुँका राजा त्रिविक्रम सेन देवघाटनेर जोगीमारामा थिए। नुवाकोटबाट रक्षकहरूका साथ डोलीमा आएकी पृथ्वीनारायणकी यी मैजु भित्रिनीलाई उनले डोलीका झापन खोली मुख हेरेर छाडिदिए। पृथ्वीनारायणले यस घटनालाई ठूलो अपमान सम्झे। रिसले चुर भएर सेनलाई दण्ड दिने निर्णय गरे (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्‌क्षिप्त जीवनी )।

घटनाको बदला लिन पृथ्वीनारायणले लमजुङ राज्यलाई फुटाएर आधा आधा बाँड्ने भनी सेनलाई सम्झौताका लागि निःशस्त्र ज्यामिरघाट आउन निम्तो पठाए। तर, उनले आफ्ना भारदारहरूलाई अघिल्लै रात बगरका बालुवाभित्र हतियार लुकाएर ठीक पारेका थिए। दुवै पक्ष भेला भएपछि त्यहाँ पृथ्वीनारायणको भित्रिनीको झापन खोली मुख हेरेको कुरा उठ्यो, विवाद चल्यो। त्यहीबेला गोरखालीहरूले बालुवामा लुकाइराखिएको हतियार झिके अनि त्रिविक्रम सेनलाई पक्रिएर नेल हाली गोरखा ल्याए। पछि रिस ठन्डा भएपछि पृथ्वीनारायण शाहले त्रिविक्रम सेनलाई छाडिदिए (आचार्य)।

पृथ्वीनारायणका रानी र सन्तान

पृथ्वीनारायण शाहका सन्तानमध्ये उनका उत्तराधिकारी युवराज प्रतापसिंह शाह, राजकुमार बहादुर शाह र छोरी विलासकुमारीको मात्रै इतिहासमा विशेष चर्चा गरिएको छ। उत्तराधिकारी प्रतापसिंह शाह राजा भएकाले उनको उल्लेख हुने नै भयो। बहादुर शाहले नाबालक भतिजा राजा रणबहादुर शाहको नायबी लिएर विशेष पौरख देखाएकाले, छोरी विलासकुमारीको विवाह सल्यानका राजकुमार (पछि राजा) रणभीम शाहसँग विवाह भएकाले पनि इतिहासकारहरूले उनीबारे चर्चा गरेका छन्। पृथ्वीनारायणकी रानीमध्ये इन्द्रकुमारी र नरेन्द्रलक्ष्मी मात्र बरोबर पढिन्छन्।

जेठा प्रतापसिंह र कान्छा छोराका रूपमा बहादुर शाहको मात्र अभिलेखमा नाम उल्लेख गर्नुले पृथ्वीनारायण शाहका दुई मात्र छोरा हुन् भनी लोकलाई देखाउन खोजिएको भन्ने अर्थ लगाउन गाह्रो छैन।

तर, योगी नरहरिनाथ (इतिहासप्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग)ले प्रकाशमा ल्याएको एक वंशावलीमा पृथ्वीनारायणका अरू रानीहरू र छोराछोरीको समेत नाम र विवरण उल्लेख छ। ‘गोरक्षाधीश द्रव्यसाहको वंशविस्तार शाके १४८१देखि’ वंशावलीमा पृथ्वीनारायणका लक्ष्मी, इच्छावती र दयावती नामका भित्रिनीसमेत भएको योगीले उल्लेख गरेका छन्।

इतिहासकार आचार्यका अनुसार पृथ्वीनारायण शाहको १ माघ १८३१ मा देहान्त हुँदा रानी नरेन्द्रलक्ष्मी, दुई उपरानी र ६ जना केटी सुसारे सती गएका थिए। पटरानीका रूपमा नरेन्द्रलक्ष्मी मात्रै पृथ्वीनारायण शाहको सती गएकी भन्ने उल्लेख भएबाट जेठी पटरानी इन्द्रकुमारीको पहिल्यै देहान्त भइसकेको थियो भन्ने स्पष्ट हुन्छ। क्षयरोगग्रस्त नेवार मैजुको पनि मृत्यु भइसकेको बुझ्न सकिन्छ।

यताबाट हेर्दा सती जाने दुई उपरानी लक्ष्मी र दयावती हुन् भन्ने देखिन्छ। योगी नरहरिनाथले यी दुईको सन्तान नभएको तर इच्छावतीको एक छोरासहित चार छोरी रहेको उल्लेख गरेकाले पहिल्यै क्षयरोग लागेर काशीतिर पठाइएकी नेवार भित्रिनीको नाम इच्छावती थियो भन्न सकिन्छ। वंशावलीमा उनीतिरका एक छोरा सिंहवीर शाही थिए भन्ने उल्लेख छ। ऐतिहासिक सामग्रीहरूमा रणसिंह शाही नामका पृथ्वीनारायण शाहका भित्रिनीतिरका छोरा देखिँदा वंशावलीमा उल्लेख भएको सिंहवीर शाही नै रणसिंह शाही हुन सक्ने देखिन्छ।

इच्छावतीतिर दिव्यहस्ता, कुञ्जवती, पुण्यकुमारी र महाकुमारी गरी चार जना छोरीहरू र छोरा सिंहवीरसमेत रहेको र पटरानी नरेन्द्रलक्ष्मीतिर प्रतापसिंह, बहादुर र नारायण शाह गरी तीन छोराका साथै विलासकुमारी, श्रीकुमारी र श्रीमाधवती नामकी तीन छोरीसमेत रहेको उक्त वंशावलीमा उल्लेख छ। चौतारा महारानी इन्द्रकुमारी र दुई उपरानी लक्ष्मी अनि दयावतीको सन्तानबारे उक्त वंशावलीमा केही उल्लेख नहुँदा उनीहरू नि:सन्तान थिए भन्ने अनुमान हुन्छ। यसरी हेर्दा पृथ्वीनारायणका परिवारमा पाँच रानी र ११ जना छोराछोरी थिए।

ओझेलमा राजकुमार

काठमाडौँ वसन्तपुर दरबारको दक्षिण ढोकामा रहेको पृथ्वीनारायण शाहको १८२६ सालको अभिलेखमा पनि ‘प्रतापसिंहः प्रथमः कनीयां ल्लोके बहादूर इति प्रसिद्ध।।५।।’ भनी उल्लेख गरेका छन् (वज्राचार्य र श्रेष्ठ)। अर्थात् अभिलेखमा पृथ्वीनारायण शाहका छोराका रूपमा प्रतापसिंह र बहादुर शाहको नाम मात्र उल्लेख छ। यसबाट जेठा प्रतापसिंह र कान्छा छोराका रूपमा बहादुर शाहको मात्र अभिलेखमा नाम उल्लेख गर्नुले पृथ्वीनारायण शाहका दुई मात्र छोरा हुन् भनी लोकलाई देखाउन खोजिएको भन्ने अर्थ लगाउन गाह्रो छैन।

तर, पृथ्वीनारायणकी नेवार भित्रिनीतिरका छोरा रणसिंह शाही राजा प्रतापसिंह शाहको राज्यकालमा दरबारमा चौतारियाका रूपमा सक्रिय थिए। उनको जन्म कहिले भयो भन्नेबारे हालसम्म कुनै सामग्री पाउन सकिएको छैन। तर, उनी १८२३ सालमा दिदी विलासकुमारीको विवाह हुँदा साक्षी बस्नेमध्ये चौतारियामध्येका एक थिए (वज्राचार्य र श्रेष्ठ)।

राजा प्रतापसिंह शाहको राज्यकालमा रणसिंहले दरबारमा सक्रिय हुने अवसर पाएका थिए। त्यसबेला प्रतापसिंहले सहोदर भाइ बहादुर शाहलाई भने उपेक्षा गरेका थिए। प्रतापसिंह राजा भइन्जेल बहादुर शाहले दरबारमा टेक्ने अवसर पनि पाएनन्। उनी निर्वासित बनाइएका थिए।

राजपरिवारमा ल्याइते रानीतिरका सन्तानले परिवारभित्र मान र पदवी नपाउने र उनीहरूसँग सम्बन्धित ऐतिहासिक पत्रहरू पनि खासै नपाइने हुँदा उनीहरू ओझेल पर्ने गरेका छन्।

प्रतापसिंहबाट रणसिंहले राज्यका चौताराको मान्यता पाइसकेका थिए। उनी अधिकारसम्पन्न भारदार थिए। रणसिंहले राजदरबारमा अवसर पाएपछि प्रतापसिंह शाहका बहादुर शाह भने बोलीचालीमा ‘माहिला साहेब’ को नाममा चिनिन थालेका पाइन्छन् (आचार्य)।

त्यसो त रणबहादुर शाहले पनि बहादुर शाहलाई ‘माहिला बाबा’ भनी सम्बोधन गरेको पत्र पनि पाइएको छ। दरबारका मूलकाजी सर्वजित राना मारिएर राजेन्द्रलक्ष्मीलाई पनि थुनामा राखिसकेपछि शक्ति आफ्नो हातमा लिएर बहादुर शाह नायब बनेका थिए। त्यसबेला अर्थात् १८३५ भदौ सुदी ११ बुधबार बालक राजा रणबहादुर शाहले भारदारहरू योगनारायण मल्ल तथा ब्रजबासी पाँडेको नाममा लालमोहर जारी गर्दा ‘सर्वजित रानाले अकर्म गर्‍यो र काटियो मूलुकको भंनु श्रीमाहिला बाबालाइ बक्स्यौं इनैका मार्फत सित मामिला गर’ भन्ने उल्लेख गरेका छन् (योगी नरहरिनाथ)।

राजकुमार रणसिंहको विवाह प्रतापसिंह शाहकै शासनकालमा भएको थियो। प्रतापसिंहले राजदरबारबाट निष्कासनमा परेका भाइ बहादुर शाहलाई १८३४ वैशाख वदी २ रोज ५ मा लेखेको पत्रमा रणसिंह शाहको विवाहसम्बन्धी कुरा परेको छ। पत्रमा ‘रनसिं साहलाइ विवाह गर्नाकन कन्या लिन मधेस पठायाँथ्युँ. कन्या पनि ल्याइपुर्‍याया. कंन्या काठमाडौं राषि हामि भादगाउँ गइउँ. भादगाँउबाट बरियाँत आइ वैसाषका दिन ८ जाँदो विवाह गरिउँ.’ (दिनेशराज पन्त, पूर्णिमा) भन्ने परेको छ। पात्रोअनुसार १५ वैशाख १८३४ मा यो पत्र लेखिएको देखिँदा विवाहको एक सातापछि मात्रै प्रतापसिंहले बहादुर शाहलाई रणसिंहको विवाहबारे जानकारी दिएको देखिन्छ।

राजपरिवारमा ल्याइते रानीतिरका सन्तानले परिवारभित्र मान र पदवी नपाउने र उनीहरूसँग सम्बन्धित ऐतिहासिक पत्रहरू पनि खासै नपाइने हुँदा उनीहरू ओझेल पर्ने गरेका छन्। राजकुमार रणसिंह त्यसैको सिकार बने। पृथ्वीनारायण शाहका नेवार मैजु रानीका छोरा चौतरिया रणसिंह शाही थिए भन्ने स्पष्ट भइसकेको छ, तर उनीहरूका सन्तति को को थिए भन्नेबारे भने लेख्न सकिएको छैन।