काठमाडौँ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। त्रिविले आगामी १ माघदेखि लागु हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो।
२०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा १ माघदेखि लागु हुनेगरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। उनले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताए।
आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड रुपैयाँ नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ।
“स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ। यसबाट मासिक पाँच करोड रुपैयाँ हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ। हालसम्म अस्पतालको बिमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी छ‚” अस्पताल प्रशासनद्वारा जारी सूचनामा छ।
अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनू’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गरे।