काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापनमा उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गरे। उनले भने‚ “यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो।”
आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको थापाको भनाइ छ। “हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन‚ आयोजना गरेको पनि होइन‚” उनले भने।
तर, कांग्रेसभित्र गिरोहका गुटहरू बनेका कारण कांग्रेस बदल्न जरुरी रहेको उनको भनाइ छ। उनले अहिलेको आवश्यकता नै पार्टी समानताका लागि‚ देशका लागि र बाहिर गाउँमा बसेका आममानिसका लागि भएको उल्लेख गरे।
यो पनि…
महामन्त्री थापाले बाहिरको हल्लाको पछि आफू नलागेको र प्रतिनिधिहरूलाई पनि नलाग्न आग्रह गरे। उनले भने‚ “अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही टिकटका लागि, कोही भागबन्डाका लागि भनेका छन्, तर म हल्लाको पछि लागेको छैन। तपाईंहरू पनि नलाग्नुस्। हलले गरेको अनुमोदन मात्रै हामी मान्छौँ, बाहिरको होइन। विशेष महाधिवेशनबाट विश्व-गगनलाई सभापति चाहिएको छैन। नीति र नेतृत्व परिवर्तन चाहिएको छ।”
उनले यस विशेष महाधिवेशनलाई उपलब्धिपूर्ण तरिकाले टुंग्याउनुपर्नेमा जोड दिए। उनले भने‚ “तपाईं-हामी यति धेरै टाढाबाट आएका छौँ। अब हलले एउटा उपलब्धिपूर्ण तरिकाले आफ्नो अधिकार सुनिश्चित गर्न म आग्रह गर्छु।”
उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरे। सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ। योसँगै बन्दसत्र पनि सकिएको छ।