काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
काठमाडौँको आकाशमा देखिएको वायु प्रदूषण। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं। काठमाडौं उपत्यकाको वायु गुणस्तर दिनहुँ खस्किदै गएको छ।

हिउदयाम र सुख्खापन बढेको कारण वायुमण्डलमा तुवालोको मात्रा रहिरहदा विहान र बेलुकी वायू गुणस्तर अस्वस्थकर बन्न पुगेको त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताइन्। “काठमाडौं उपत्यकाको आकाशमा दिउसो एकछिन खुलेपनि विहान र बेलुकी तुवालोको मात्रा बढि देखिन्छ,” उनले भनिन्।

वातावरण विभागको वायु गुणस्तर अनुगमन ‘ड्यासबोर्ड’ मा उपलब्ध पछिल्लो एक साताको वायु गुणस्तर सूचकांक (एक्यूआई) अभिलेख अनुसार सबैभन्दा बढी प्रदुषित हावा भक्तपुर केन्द्रमा मापन भएको छ।

भक्तपुर स्टेसनमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिने पीएम २.५ को प्रतिघण्टा एक्यूआई मंगलबार विहान ८ बजे सबैभन्दा उच्च प्रति घनमिटर १७०.६१ माइक्रोग्राम पुगेको थियो। सोमबार विहान ८ बजे यसको तह प्रतिघनमिटर १४७.६५ माइक्रोग्राम थियो।

गत बिहिबार विहान ८ बजेको एक्यूआई प्रतिघनमिटर १३५.०६ माइक्रोग्राम थियो। माइक्रोस्कोप लगाएर मात्रै देख्न सकिने पीएम २.५ ज्यादै साना कणका हुन्छन् । एकसाता यताको पीएम २.५ विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा उच्च छ।

भक्तपुर मापन केन्द्रमा पीएम १० को मात्रा मंगलबारको बेलुकी ७ बजे प्रतिघनमिटर २४५. १७ माइक्रोग्राम थियो। सोमबार विहान १० बजे २४०.०५ थियो। भने गत विहिबार विहान ८ बजे १७५ थियो। वातावरण विभागले वायु गुणस्तर सूचकांक मापदण्ड अनुसार पीएम १० को एक्यूआई १०१ भन्दा माथि भएमा उक्त दुषित हावा मानव स्वास्थ्यलाई अस्वस्थकर हुने स्तरको मानिन्छ। पीएम १० को एक्यूआई २०० भन्दा माथि भएका खतरनाक मनिन्छ।

मौसम विद् पोखरेलले तुवालोको मात्रा आगामी तीन दिनसम्म रहने बताइन्। “तत्कालका लागि तुवालोलाई हटाउने खालको बर्षा हुने वा हावाहुरी चल्ने मौसमी प्रणालीको विकास हुने सम्भावना छैन, यो खालको मौसमी स्थिती हरेक हिउदमा देखिन्छ।”

विहान बेलुकी दुषित हावाको मात्रा अधिक हुने भएकाले मर्निङ वाक नगर्न, घरबाहिर निस्कदा नाकमुख छोपिने गरी मास्क लगाएर निस्कन र जेष्ठनागरिक, बालबालिका र गर्भवति महिलाको बिशेष हेरचाह गर्न जल तथा मौसम विभागको अनुरोध छ।