सन्दर्भ
३० पुसको त्यो रात पिस्कर गाउँका किसानहरूले गीत, नाच प्रहसन र अन्याय-अत्याचारविरुद्ध भाषण गर्ने कार्यक्रम थियो। तर, प्रतिक्रियावादीहरूले भूमिगत कम्युनिस्ट नेता पनि आउने भनेर खबर गरेछन्।
१५ भदौ २०३४ मा म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)को मध्य उत्तर क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी लिएर संगठन प्रमुख कमरेड अमृतकुमार बोहराको साथमा ललितपुरबाट दुई दिन हिँडेर पहिलोपटक सिन्धुपाल्चोकको पिस्कर गाउँ पुगेको थिएँ। त्यसदिन कमरेड बोहराकै घरमा बसियो। पक्राउ पुर्जी जारी भएको छोरा घरमा आइपुगेकाले बुवा र सबै परिवार साह्रै खुसी हुनुभयो।
घरमा धेरै समय बस्ने स्थिति थिएन। भोलिपल्ट हामी नजिकै घर भएका शिक्षक लालजंग पाण्डेको घरमा गयौँ। त्यतिखेर मध्य उत्तर क्षेत्रीय कमिटीका कार्यक्षेत्र दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखालगायत जिल्लाहरू थिए।
कमरेड अमृतलाई त्यहाँ बसिरहने फुर्सद पनि थिएन। उहाँले लामो कुराकानी गरेर शिक्षक लालजंगलाई मेरो जिम्मा लगाउनुभयो। हिँड्ने बेला दह्रो हात मिलाउँदै ‘एक एरिया, एक युनिट र एक एक्सन’ कार्यशैलीको स्मरण गराउँदै ‘६ महिनामा त केही न केही हुन सक्छ, होइन कमरेड?’ भन्नुभयो। जवाफमा मैले फरक नपर्ने बताएँ। मेरा लागि पार्टी कमिटी र सम्पर्क व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।
त्यसपछि नौ महिनासम्म कमरेड अमृत बोहरासँग प्रत्यक्ष भेटघाट हुने अवसर मिलेन। अब मेरा लागि शिक्षक लालजंग नै सबैथोक भए। गाउँमा कुनै कमिटी थिएन। ललितपुर लामाटारबाट दुईतीन दिन लगाएर हिँड्दै राति नै आइपुगेको मलाई पिस्कर गाउँको अवस्थिति केही थाहा थिएन। लालजंगले बेलुकी दुईचार जना किसानलाई भेला गराउनुहुन्थ्यो। उनीहरूको घर कता हो, केही थाहा हुँदैनथ्यो। म आफ्नो भएभरको बुद्धि लगाएर सामन्ती शोषणको अन्त्य हुनुपर्ने, संगठित हुनुपर्ने, किसानको सुखका दिन ल्याउन किसानहरू आफैँ जागृत हुनुपर्ने आदि कुरा गर्थें।
यसरी नै पाँचसात दिन बित्यो। त्यो रित्तो घरमा बिहान-बेलुकी मिलाएर घरबेटी माइला थामी आउनुहुन्थ्यो। उहाँको बस्ने, खाने, सुत्ने ठाउँ घरमाथिको पसल थियो। रित्तो घरमा त पराल, कोदाका नल र काठहरू मात्र थिए। थामीका श्रीमती, छोराछोरी कोही थिएनन्। उहाँ पसल कुर्ने विश्वासिलो मान्छे मिलाएर आउनुपर्ने, बारम्बार रित्तो घरमा किन गएका भन्लान् भनेर झुक्याएर आउनुपर्दथ्यो। आउँदा कहिले ढिँडो, कहिले कोदाको पुवा र कहिले भटमास-चिउरा लिएर आउनुहुन्थ्यो। उहाँलाई बसेर कुराकानी गर्ने फुर्सद हुँदैनथ्यो। धेरैजसो समय म एक्लै हुन्थेँ।
आठौँ दिन बेलुकी शिक्षक लालजंग आत्तिँदै एक्लै आउनुभयो। मैले खोइ त किसान साथीहरू भनेर सोधेँ। उहाँले जवाफ नै नदिई उभिएर एक स्वरमा भन्न थाल्नुभयो, ‘तपाईंले बर्बाद गर्नुभएछ, तपाईंले झ्यालबाट हेर्नुभएछ, तल्लो घरकी भाउजूले देख्नुभएछ, बर्बाद भयो। अब गाउँमा हल्ला हुन्छ, पुलिस र सामन्तहरूले थाहा पाउँछन् त्यसकारण अब हामी तपाईंलाई कुनै पनि हालतमा गाउँमा राख्न सक्दैनौँ। तपाईं भोलि नै गइहाल्नुहोस् नत्र तपाईंलाई पनि राम्रो हुँदैन, हामीहरूलाई राम्रो हुँदैन।’
मैले सम्झाउन खोजेँ, तर उहाँले कुनै हालतमा मलाई गाउँबाट पठाउने कुरामा अड्डी कस्नुभयो। मैले हिजोअस्ति कुराकानी गरेका किसानहरूको घरमा बस्ने प्रस्ताव राखेँ, उहाँले त्यो पनि अस्वीकार गर्नुभयो। अरू कुनै सेल्टरमा लैजान अनुरोध गरेँ, त्यो पनि मान्नुभएन।
म संकटमा परेँ। यी सबै कुरा म कमरेड बोहरालाई भन्न पनि सक्दिनथेँ। त्यहाँ मेरो कुनै सम्पर्क सम्बन्ध पनि थिएन। गाउँमा टिक्न नसकेर फर्केको कार्यकर्ताको सूचीमा आफूलाई दर्ज गर्न पनि म तयार थिइनँ। मैले शिक्षक लालजंगलाई फेरि सम्झाउन खोजेँ। उहाँले झर्केर ‘तपाईं भोलि बिहान कुनै हालतमा यो गाउँ छोडेर जानुपर्छ’ भन्दै कुराकानी अन्त्य गर्न चाहनुभयो। ‘भोलि बिहान सबेरै म आउँछु, तपाईंलाई तलसम्म पुर्याउन’ भन्दै बाहिर निस्कनुभयो।
त्यो रात म सुतिनँ। अब के गर्ने? पिस्करमा ६ महिनाभित्र केही न केही गरेर देखाउने कमरेड बोहोरासँगको प्रतिबद्धता स्मरण गरेँ। भेटेका किसानहरूलाई सम्झना गरेँ। तर, उनीहरूमध्ये कसैको घर र नामसम्म पनि मलाई थाहा थिएन। रातभरि अनेकौँ तरंग चल्यो। मैले कुनै हालतमा गाउँबाट नफर्कने दृढ अठोट गरेँ।

कृषि तालिम सत्रका क्रममा किसानहरूको समूह। तस्बिर स्रोत : जगतबहादुर थामी संग्रह। सौजन्य : मनोज बोहरा
बिहान ३ बजे नै लालजंग आउनुभयो। मैले उहाँलाई भनेँ, ‘म यो गाउँ र जिल्लाको जिम्मा लिएर आएको मान्छे, म गाउँमा टिक्न नसकेर फर्कन चाहन्नँ, त्यसैले म तपाईसँग एउटा सहयोग चाहन्छु, मलाई गाउँको एउटा गरिब किसानसँग भेट गराइदिनुहोस् जसको सामन्तसँग सम्पर्क सम्बन्ध नहोस्, उनलाई यो मान्छे गरिबका लागि केही गर्न हाम्रो गाउँमा आएको भनिदिनुहोस र मलाई त्यहीँ छोडेर फर्कनुहोस्, त्यसपछि जे गर्नुपर्छ, मै गरुँला।’ एक/डेढ घण्टाको छलफलपछि लालजंग मलाई गरिब किसानको घरमा लगिदिन तयार हुनुभयो। तर, उहाँले केही सर्त राख्नुभयो। केही गरी पक्राउ परे यो गाउँमा उहाँले ल्याएको नभन्ने र फेरि उहाँकाो घरमा नआउने। मैले सो सर्त स्वीकार गर्ने वाचा गरेँ।
लालजंगले झिसमिसेमै मलाई पिस्करको टोपा डाँडामुनि गैराटोलको पृथ्वीमान थामी दाइको घरमा लैजानुभयो। उनको घरमा खरको छाप्रो थियो। तला पनि थिएन। एउटा बाख्राको पाठो र एउटा पोथी कुखुरा र तीन वटा चल्ला त्यही घरको कुनामा थिए। त्यहीँ ४२ वर्षकी अधबैँसे दिदी काली थामी र पृथ्वीमान नै त्यो घरको सिंगो परिवार थियो।
२८ वर्षका पृथ्वीमानको विवाह भएको रहेनछ। जग्गाजमिनका नाममा चार माना मकैको बीउ लाग्ने बारी रहेछ। आफ्नो बारीको अन्नले तीन महिना पनि खान नपुग्ने रहेछ। पृथ्वीमानले दिनभरि चोया काटेर भकारी बुने पनि त्यतिखेर गाउँमा भकारीको मूल्य १५ रुपैयाँ मात्र दिने रहेछन्। दिदी गाउँमा पाएसम्म खेतबारीमा काम गर्नुहुँदो रहेछ। कहाँ पाइन्थ्यो र गाउँमा सधैँ काम, त्यसैले त्यो परिवारको जीवन अत्यन्त कष्टपूर्ण रहेछ। उज्यालो भइसकेकाले मलाई त्यहीँ छोडेर लालजंग सर जानुभयो।
मैले पृथ्वीमान दाइ र दिदीलाई ‘म तपाईंहरूजस्ता गरिबका लागि सुखका दिन ल्याउन घर छोडेर हिँडेको भन्दै सबै गरिब-दु:खीलाई कुरा बुझाएर संगठित गरी यो काम गर्न सकिन्छ भनेर विश्वास दिलाएँ। दिदीले हामीसँग खानेकुरा केही छैन, के खानुहुन्छ भन्नुहुन्थ्यो। म तपाईंहरूले जे खानुहुन्छ त्यही खान्छु भनेँ। लामो कुराकानीपछि उहाँहरू मलाई आफ्नो घरमा राख्न तयार हुनुभयो।
घरभित्र एउटा कुनामा पीठो पिँध्ने जाँतो, बीचमा अँगेनो र त्यसमाथि सारङ झुन्ड्याइएको र अँगेनोपछि करिब चार फिटको भाग छुट्याएर एउटा भकारीको बार लगाइएको रहेछ। त्यो उहाँहरूको भण्डार रहेछ। भित्र एउटा घ्याम्पो, सानो काठको सन्दुस र एउटा काठको फल्याक पनि बिछ्याइएको रहेछ। मलाई त्यहीँ लुकाएर राख्ने सल्लाह भयो।
मैले एक महिनासम्म त्यही छाप्रोमा बसेर उहाँहरूकै नातेदारहरूलाई बोलाएर कुराकानी गर्दै गाउँमा सम्पर्क विस्तार गरेँ र अरू सेल्टर पनि निर्माण भयो। पिस्करमा चेतना उठाउने काममा सबैभन्दा पहिला लालबहादुर थामी र जगतबहादुर थामी दुई जनाले बढी मिहिनेत लगाउनुभएको थियो। नपढेका र बाहिरी संसारबाट पर भएका पिस्करवासीहरू त्यसमा पनि थामीहरूका प्रशासनिक, न्यायिक तथा विकास निर्माणका कुरामा जनताको पक्षमा खुलमखुला पौँठेजोरी खेल्ने प्रधानपञ्च छत्रबहादुर बोहराको पनि कम महत्त्व थिएन।
वर्गसंघर्ष समाजको वर्गीय शोषण, उत्पीडन र दमनको कारण हुँदो रहेछ। जुन समाजमा ज्यादा दमन र उत्पीडन हुन्छ, त्यही समाज छिटो उठ्दो रहेछ। नौ महिनामै एक झिल्को आगोले जंगलमा डढेलो लगाउन सक्छ भन्ने कुरा चरितार्थ भयो। २०३५ सालको हिउँददेखि नै पिस्करका किसानहरूले सामन्तहरूको थिचोमिचो, शोषण र अत्याचारका विरुद्ध सामाजिक इज्जत प्रतिष्ठा र कृषि मजदुरहरूको ज्यालावृद्धिका निम्ति लडाकु संघर्ष चलाएका थिए। वर्षौंदेखि वर्गीय शोषण, चर्को ब्याज लगाउने वतिया प्रथाको विरोध गर्ने, चक्रीय ब्याज लगाएर बनाएका तमसुकहरू च्यात्ने, सामन्तको कोदो-धान बाली कब्जा गरी गरिब किसानहरूलाई वितरण गर्ने आन्दोलन चलाएका थिए। ती संघर्षहरूमा परिवारका सबै नवजवान युवायुवती, वृद्ध, केटाकेटी, पिठ्युँमा नानी बोकेका महिलाहरूसमेत सहभागी भएका थिए। दमन र गिरफ्तार गर्न आएका सशस्त्र प्रहरीहरूसँग शान्तिपूर्ण प्रतिवाद गरेर आफ्ना अगुवा नेताहरूलाई जोगाउन करिब ३०० किसानले सामूहिक गिरफ्तारी दिएर पिस्करबाट दुई घण्टा पर धुस्कुनसम्म गएका थिए।
पछि प्रमुख जिल्ला अधिकारी आफैँ घोडा चढेर आई तीमध्येबाट ६ जना किसानहरू धनबहादुर थामी, साइला थामी, हर्कमान थामी, जगतबहादुर थामी, मानबहादुर थामी, माइला थामीलाई पक्रेर सदरमुकाम चौतारा पुर्याए र ६ महिनासम्म चौतारा जेलमा राखी कडा यातना दिएका थिए र ७० जवान किसानलाई वारेन्ट काटी महिनौँसम्म जंगल जंगलमा लुक्नुपर्ने बाध्यता गराएका थिए। जंगलको ओढारमा बस्न बाध्य पारिएका किसानको पीडा निकै दर्दनाक थियो।
पिस्करका किसानहरूको यो वीरतापूर्ण आन्दोलनबारे नेकपा (माले)को मुखपत्र मुक्ति मोर्चाले २०३५ सालमा विशेष महत्त्वसाथ छापेको हुनाले त्यो आन्दोलन धेरै जिल्लाका किसानलाई प्रेरित गर्ने घटनाका रूपमा चर्चित थियो। लामो समयदेखि निरंकुश पञ्चायती तानाशाही शासनविरुद्ध लड्दै भूमिगत भएका कमरेड अमृत बोहराको कारणबाट पनि पिस्कर गाउँ कडा निगरानीमा थियो र त्यस आन्दोलनमा भएको दमनले पिस्करमा राजनीतिक गतिविधिमा केही समय शिथिलता आए पनि पिस्करका किसानहरू जनसांस्कृतिक कार्यक्रममार्फत सामन्ती शोषण, वर्गीय उत्पीडनका कुरालाई गाउँ गाउँमा चेतनाको लहर चलाउने अभियानमा लागे। छाडा र अश्लील संस्कृतिको विरोधमा जनवादी गीति कार्यक्रम गर्ने टोली बनाए र यसमा महिला पुरुषहरू क्रान्तिकारी जोस र उत्साहका साथ अगाडि बढेका थिए।
मिरा थामी, आइतमाया थामी, जगतबहादुर थामी, चीनबहादुर थामी, चतुरमान थामी, चनमाया थामीलगायतको सांगीतिक टोलीले चोकटी, धुस्कुन, टेकनपुर, फापर चौर, राम्चे, पलाती, बारबिसे आदि ठाउँमा गीति कार्यक्रम गरी ती ठाउँमा समेत सांस्कृतिक टोलीहरू निर्माण गरेका थिए। जिल्लाको पश्चिमी भेगमा पर्ने मेलम्चीमा समेत गएर गीति कार्यक्रम तथा नाटक प्रदर्शन गरेका थिए। यसरी उनीहरू जिल्लाकै कम्युनिस्ट आन्दोलन अगाडि बढाउने काममा प्रेरणाका स्रोत थिए। जिल्लाको अन्य भेगमा राजनीतिक जागरण ल्याउने काममा कमरेड जगतबहादुर बोहरा र कमरेड मेघनाथ पौडेलको भूमिका महत्त्वपूर्ण थियो।
१८ वैशाख २०४० मा बाह्रबिसे सुनकोसी शारदा माविमा भएको अनेरास्ववियुको जिल्ला सम्मेलनमा पञ्चायती शासकहरूले गोली प्रहार गरेका थिए। त्यसमा विद्यार्थी र न्यायप्रेमी जनताको सुरक्षाका लागि गरिएको प्रतिरोधी संघर्षमा पिस्करका किसानहरूले साहसपूर्वक अगुवाइ गरे। पिस्करका किसान अगुवा लालबहादुर थामी र साइला थामीले गोली खानुपर्यो भने थुप्रै किसान घाइते भए। यस घटनाले पिस्करका किसानहरूले जिल्लाव्यापी रूपमा आफ्नो छविलाई अझ उच्च बनाए। मसिनो ढंगबाट व्यावहारिक भएर जनतासँग भिज्न सक्ने कमरेड अष्टलक्ष्मी शाक्यले सांगठनिक जिम्मेवारी लिई पिस्कर आउनुभयो। उहाँको बसाइले पिस्कर भेगका किसानहरूका साथै खास गरेर महिलालाई थप ऊर्जाशील बनाएको थियो।
यसरी पिस्करका अल्पसंख्यक गरिब किसानहरू जिल्लाको कम्युनिस्ट आन्दोलन अगुवाका रूपमा अगाडि आए। सबै काम भूमिगत ढंगले भएकाले प्रतिक्रियावादीहरूले न त्यहाँका अगुवा किसान नेताहरूलाई चिन्थे, न किसानको शक्तिकै आकलन गर्न सक्थे। उनीहरूलाई पिस्कर एउटा आतंक मात्र भएको थियो। त्यसैले उनीहरू कुनै पनि मौका छोपेर पिस्करबाट उर्लिरहेको किसान आन्दोलनको आगोलाई जिल्लाव्यापी रूपमा प्रेरित गरिरहेको तत्कालीन नेकपा (माले)को जनताप्रतिको आस्था र विश्वासलाई बन्दुक र गोलीको माध्यमबाट चकनाचुर पार्न चाहन्थे।
यसका लागि उनीहरू अघिल्लो कालखण्डमा पञ्चायतीहरूलाई हाक्काहाक्की हाँक दिँदै हिँड्ने कमरेड बोहराको खोजीलाई अझ तेज पारेका थिए। हामीजस्ता भूमिगत व्यक्तिहरूबारे उनीहरूलाई नामोनिसाना नै थाहा थिएन। न त त्यतिखेरको आन्दोलनको अगुवाइ गर्ने लालबहादुर थामी, मिरा थामी, पूर्ण थामी, जगतबहादुर थामी, शुक्रमान थामी, तिलमान, वीरबहादुर थामी, पूर्णमाया थामी, चतुरमान थामी, मेघनाथ पौडेल, राम कार्की तथा मानबहादुर थामी आदिको नाम नै थाहा थियो उनीहरूलाई। किसानको पक्षमा कानुनी रूपमा वकालत गर्ने छत्रबहादुर बोहरालाई मात्र आँखाको तारो बनाएका थिए।

सिन्धुपाल्चोक पिस्करस्थित थामी संग्रहालयमा राखिएको सहिद वीरबहादुर थामीको सालिक। तस्बिर सौजन्य : मनोज बोहरा
२०४० साल माघे संक्रान्तिका दिन अत्यन्त प्रतिक्रियावादीहरूले षड्यन्त्र रची छोडे। मलाई ती कुरा सम्झँदा अहिले पनि आक्रोश पैदा हुन्छ। परम्परागत चाडलाई राजतन्त्र समर्थित निरंकुश शासकहरूका विरुद्ध जनचेतना जगाउने माध्यमका रूपमा तत्कालीन नेकपा (माले)को जिल्ला कमिटीकै निर्णयमा पिस्कर भेगका किसानहरूले जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। आफ्नो प्रेरणाको स्रोतका रूपमा रहेको पिस्करमै गीति कार्यक्रम हुने भएपछि चोकटी, धुस्कुन, कर्थली, राम्चे, पलाँती, तौथली, टेकनपुरलगायत गाउँका किसानहरू पनि आफ्ना आफ्ना गीति नाच र प्रहसन लिएर कार्यक्रमलाई व्यापकता दिन भेला भए।
आर्थिक अवस्था ज्यादै नाजुक भए पनि मनभरि कमरेड माया बोकेर पिस्करका किसानहरू आफ्नो गाउँमा आउने पाहुनाहरूलाई त्यो रात खुवाउने र बस्नका लागि बारीको पाटोभरि सोत्तरहरू ओछ्याउने आदि काममा उत्साहका साथ लागे। खाजाका लागि घर घरमा मकै, भटमास, सखरखण्ड, तरुल, पिँडालु जम्मा गरे। करिब दुई हजार मानिसलाई पुग्ने खानेकुरा जनताले आफूखुसी दिएका थिए।
३० पुस २०४० को राति ८ बजे नै कार्यक्रम शुरू भएर बिहान ३ बजे सकिएको थियो। पिस्कर र अन्य गाउँका किसानहरूले गीत, नाच, प्रहसन र शोषण, अन्याय र अत्याचारविरुद्ध बेलाबेला भाषण गर्ने कार्यक्रम भयो। कार्यक्रम अत्यन्त रोचक थियो, तर पञ्चायती प्रतिक्रियावादीहरूका ‘चम्चे’ र ‘दलाल’ हरूले कार्यक्रमबारे दुईचार दिनअघि नै आफ्नो केन्द्रमा नाइकेहरूलाई खबर गरिसकेका रहेछन्।
उनीहरूले पिस्करमा तत्कालीन नेकपा (माले)को राष्ट्रिय कार्यक्रम हुने हुनाले अमृत बोहरालगायत सबै केन्द्रीय नेता आउने राष्ट्रिय कार्यक्रमका रूपमा चित्रित गरेका रहेछन्। तर, केन्द्रबाट कोही आउने कार्यक्रम थिएन। उनीहरूले दमनका लागि डीएसपी मोहनबहादुर पाण्डेको नेतृत्वमा चार जना इन्स्पेक्टर सहित ५०० सशस्त्र कमान्डो टोली केन्द्रबाट सोझै पठाएछन्। गोली हान्नेसम्मको आदेश रहेछ। तत्कालीन नेकपा (माले)का सबै नेतालाई एक चिहान पारिदिएपछि आफ्नो निरंकुश शासन लम्बिन सक्ने सम्झेर होला, उनीहरू एक दिनअघि नै बाह्रबिसे आएर बेलुकी बाह्रबिसेबाट पिस्कर गाउँमा जान उकालो लागेका रहेछन्। यी सबै कुरा हामीलाई पत्तै भएन।
राति ८ बजे सुरु भएको औपचारिक कार्यक्रम ३ बजे नै सकिएको थियो। अझैँ गाउन, नाच्न धीत नमरेका साथीहरू मञ्चमा नै भएकाले मञ्चमा मैनटोल बलिरहेको थियो। गाउँ गाउँबाट आएका साथीहरूलाई बिदाइ गर्ने क्रम चलेको थियो। जिल्लाकै भूमिगत कमरेड तारा पन्थलाई पनि मैले बिदा गरिसकेको थिएँ। पार्टीका कामबारे थप कुराकानी गर्ने म उहाँलाई भेट्न पछि पछि कुदेको थिएँ। तर, उहाँलाई भेट्नुभन्दा पहिले नै गाउँको मुखमै प्रहरी टोलीसँग मेरो जम्काभेट भयो।
उनीहरूले मलाई नियन्त्रणमा लिएर केरकार गर्न लागे। साथमा गाउँको दलाल पनि रहेछ। सुरुमै नेता को हो? तँ को होस्? के के भइरहेछ आदि सोधे। मैले आफू बाह्रबिसे, कर्थलीको शिक्षक भनेर परिचय दिएँ, तर उनीहरूले पत्याएनन्। उनीहरूले भने – नेता को चिनेको छस्? जवाफमा छैन भनेँ। एक जना मोटो मानिसले शोषक-सामन्ती मास्नुपर्छ भन्ने भाषण गरेको थियो।
उनीहरू मलाई अगाडि लगाएर कार्यक्रमस्थलतिर लागे, अँध्यारो भएकाले पुलिसहरूको आँखा छलेर मैले बाटोमा आफूसँग भएका केही कागजपत्र र मार्कर कलम सिस्नोको झ्याङमा फाल्न भ्याएँ। तर, सँगैको दलालले यो भूमिगत मान्छे हुन सक्छ भनेर बताइसकेको थियो। त्यसैले मलाई कडा निगरानी थियो।
कार्यक्रमस्थलभन्दा केही नजिक हामीलाई करिब १२ जनाजति प्रहरीको निगरानीमा राखियो। मेरा साथी तारा पन्तलगायत केही गाउँलेलाई पनि समातेर ल्याएका रहेछन्। त्यतिबेला पुलिसहरू बारीको पाटोमा लाइनबद्ध भए। पुलिसको हाकिमले निर्देशन दियो– ‘अहिले मञ्च बाहिरकालाई केही नगर्ने तर मञ्चभित्रका सबैलाई झिरिप पार्ने, एक जना पनि नबचोस्।’
हामी बसेको ठाउँबाट कार्यक्रमस्थल राम्ररी देखिन्थ्यो। निर्धारित कार्यक्रम सकिए पनि साथीहरू आफ्ना आफ्ना फर्माइसमा गीत र नाच गरिरहेका थिए। प्रहरी टोली हिँडेको केही बेर भइसकेको थियो। त्यति नै बेला भुँडे डीएसपी आयो। ठूलो पेटका कारण उसलाई उकालो चढ्न गाह्रो भएर पछि परेको हुनुपर्छ। उसले प्रहरीहरूलाई गोली ठोक्न आएकाहरू किन यहाँ भन्यो। म नजिकै भएकाले ‘ए केटा, बाटो देखेको छस्?’ भनेर सोध्यो। मैले ‘देखेको छु’ भनेँ।
उसलाई हामीबारे केही थाहा थिएन। म उठिहालेँ। ‘सर, अगाडि हिँड्नुस्’ भनेर पछि लागें। अरू पुलिस र पक्राउ परेका साथीहरू अलि पछि परे। थोरै हिँड्दा नै, मैले भाग्ने मौका खोजेर दुई कान्ला माथि उक्लिहालेँ। ‘साले चोर भाग्यो’ भनेर गाली गर्दागर्दै दुई मिनेटमै उता मञ्चमा गोली चलेपछि सबै दौडेर त्यतै गए। यसरी म भागेको दुई मिनेटमै गोली चल्यो। म भाग्न सफल भएँ।
आक्रमणकारी प्रहरीले पहिल्यै मञ्चको मैनटोल फुटाएर सबैतिर अन्धकार बनाएर निहत्था जनतालाई अन्धाधुन्ध गोली चलाए। त्यसै बखत पिस्करका जनताले सुरक्षार्थ राखेका घंगारूको एकहाते लट्ठीहरू र ससाना ढुंगाहरूले गोली हान्ने प्रहरीहरूलाई प्रहार गर्न थाले।करिब आधा घण्टा दोहोरो भिडन्त भयो। त्यसले प्रहरीहरूलाई पनि तितरबितर पार्यो।अझै उज्यालो भएको थिएन, गोलीहरू चारैतिरबाट बर्सिरहेका थिए।
अब पुलिसका हाकिमहरूलाई आफ्नो गोली हो वा किसानहरूको गोली थाहा हुन नसकेपछि पिस्करका जनताले पनि गोली चलाए कि भन्ने डरले प्रहरी प्रमुखहरू उज्यालो नहुँदै घाइतेलाई सँगै ल्याउने आदेश दिएर भागे। यसरी पुलिसहरू जाने क्रममा घाइतेसहित इले थामीलाई घिसार्दै लैजाने क्रममा मरेको आशंकामा खोला नजिक झ्याँसले छोपेर गएछन्। पेटमा गोली लागेका इलेलाई घिसार्दै लैजाँदा आन्द्राभुँडी कान्लामा चुँडिएर मृत्यु भएको रहेछ। वीरबहादुर थामीले निधारमै गोली लागेर तत्काल वीरगति प्राप्त गर्नुभएको थियो।
गोली लागेका अन्य किसान नेताहरू जगतबहादुर बोहरा, पाल्कमाया थामी, श्रीमान तामाङ, बेत्रागति पौडेल, नैनबहादुर पौडेल, राजु थामी, साङ डोल्मा, भीमबहादुर, मीन बहादुरलाई पक्राउ गरेर लगे। भोलिपल्ट प्रहरी गाउँमा आउन सकेन। १ माघमा श्रद्धाञ्जली सभा आयोजना भयो। सहिदहरूको सदिच्छा साकार पार्ने प्रण गरियो।
नि:शस्त्र जनतालाई गोली हानेर मार्ने तत्कालीन सरकारले मुद्दा लगाउने कुनै विषय नपाएपछि पिस्कर हत्याकाण्डको मुद्दा लगाएर जिल्लाका नेताहरू अरुण नेपाल, सरेश नेपाल, मेघनाथ पौडेल, सावित्री बोहरा, जगतबहादुर थामी, शिव कार्की, मानबहादुर थामी, रामप्रसाद रिसाल, नैनबहादुर पौडेल, प्रितमबहादुर, सुनबहादुर थामी, विष्णुबहादुर बोहरा, राजु थामी, जनक शाक्य, कमल श्रेष्ठ आदि सैयौँ नेता, कार्यकर्ता र पत्रकारलगायतलाई पक्राउ गरी यातना दिई जेलमा हालियो।
– पौडेल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।