काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

आवरण

२०७९/८० यताका दुई आर्थिक वर्षमा तिरेनन् करबापतको साढे दुई अर्ब

१ माघ २०८२
अ+
अ-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्र बनाएर २७ वटा विदेशी वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दै आएका छन्। यी एयरलाइन्सले वार्षिक रूपमा डेढ खर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हवाई सेवा दिइरहेका २६ विदेशी वायुसेवा कम्पनी (सन् २०२५ देखि उडान थालेको स्पाइसजेट एयरलाइन्सबाहेक)ले एक अर्ब १३ करोड ९४ लाख आठ हजार ७८९ अमेरिकी डलर आम्दानी गरेका छन्। यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा एक खर्ब ५३ अर्ब ८२ करोड एक लाख ८६ हजार ५१५ रुपैयाँ हुन्छ।

१ जनवरी २०२४ को अमेरिकी डलर एकको विनिमय दर १३३.४४ रुपैयाँ र वर्षको अन्तिम दिन ३१ डिसेम्बरमा १३७.१७ रुपैयाँ थियो। यसको औसत १३५ रुपैयाँलाई आधार मानेर विदेशी कम्पनीले अमेरिकी डलरमा गरेको आम्दानीलाई नेपाली रुपैयाँमा हिसाब गरिएको हो।

नेपालमा २७ विदेशी र तीन नेपाली गरी ३० वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरिरहेका छन्। ती कम्पनीका विमानले विभिन्न देशका २८ गन्तव्यमा उडान गर्दै आएका छन्। दक्षिण एसियाका आठ, खाडी क्षेत्रमा सात, दक्षिण-पूर्वी एसियाका चार, पूर्वी एसियाका आठ र युरोपको एउटा गन्तव्यमा नेपालबाट उडान हुँदै आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर : बिक्रम राई

विदेशी एयरलाइन्सहरूले विभिन्न मुलुकबाट ल्याउने र नेपालबाट बाहिर जाने यात्रुलाई उडान सेवा दिएर डेढ खर्ब रुपैयाँभन्दा बढी रकम विदेश लगिरहेका छन्। उनीहरूले कार्गो सेवामार्फत गरेको आम्दानीको हिसाब यसमा समावेश छैन। कार्गो सेवाबाट गरेको आम्दानी जोड्दा नेपालमा सेवा दिने विदेशी एयरलाइन्सको आम्दानीको हिसाब अझ बढ्छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने विदेशी एयरलाइन्सको व्यवसाय बढ्दा त्यसको फाइदा नेपाललाई पनि हुने उड्डयन प्राधिकरणका पूर्वनिमित्त महानिर्देशक राजकुमार क्षेत्री बताउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक भएर लामो समय काम गरेका क्षेत्री भन्छन्, “जति धेरै विदेशी एयरलाइन्स आए, त्यति धेरै फाइदा हुन्छ। ल्यान्डिङ पार्किङ, ग्राउन्ड ह्यान्डलिङ र इन्धन बिक्रीबापत देशले नाफा कमाइरहेको हुन्छ। पर्यटन प्रवर्द्धनमा पनि त्यसले योगदान गरेको हुन्छ।”

नेपालमा सेवा दिने विदेशी एयरलाइन्समध्ये सबैभन्दा ठूलो कमाइ गर्ने कम्पनी हो, कतार एयरवेज। यो एयरवेजले दोहा-काठमाडौँ-दोहाका लागि दैनिक चारवटा उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान तालिका स्वीकृत गराएको छ। दोहा-काठमाडौँ-दोहाको सीधा उडानमा कतार एयरवेजले सन् २०२४ मा पाँच लाख ९६ हजार ५० जना यात्रुलाई सेवा दिएर टिकट बिक्रीबाट मात्रै ३६ करोड ८८ लाख १७ हजार ६०० अमेरिकी डलर आम्दानी गरेको छ। उक्त मूल्यलाई एक अमेरिकी डलर बराबर १३५ रुपैयाँको विनिमय दरले हिसाब गर्दा ४९ अर्ब ७९ करोड तीन लाख ७६ हजार रुपैयाँ हुन्छ। त्यस वर्ष कतार एयरवेजले दोहा-काठमाडौँ-दोहाका लागि एक हजार १९९ उडान गरेको थियो।

कतार एयरवेजका यात्रुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने र फर्कने नेपाली नै सबैभन्दा बढी हुन्छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको विमान। तस्बिर : बिक्रम राई

नेपालमा उडान गरेर ठूलो कारोबार गर्नेमध्ये टर्किस एयरलाइन्स दोस्रो स्थानमा छ। टर्कीको स्तानबुलबाट काठमाडौँमा सीधा उडान गर्ने यो एयरलाइन्सले सन् २०२४ मा २०६ वटा उडान गरेको छ। ती उडानबाट टर्किसले ९८ हजार ७५३ यात्रुलाई सेवा दिएको छ। ती यात्रुले तिरेको टिकट मूल्यबाट एयरलाइन्सले १५ अर्ब ३८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ। टर्किसले सातामा शुक्रबारबाहेक हरेक दिन एउटा उडान गर्ने गरी उड्डयन प्राधिकरणमा उडान तालिका स्वीकृत गराएको छ। टर्किस एयरलाइन्सले नेपाललाई हवाई उडानमार्फत युरोपसँग जोडिरहेको छ।

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई सेवा दिनेमा चीन र भारतका कम्पनी छन्। चीनको एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सिचुवान एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन्। त्यसमध्ये नेपालमा हवाई सेवा दिएर सबैभन्दा धेरै व्यावसायिक कारोबार गर्नेमा सिचुवान एयरलाइन्स छ। उसले सन् २०२४ मा मात्रै चार अर्ब ३९ करोड २५ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। चीनका चार एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्रयोग गरेर एक वर्षमा १३ अर्ब ३० करोड एक लाख ६१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। चीनका यी चार एयरलाइन्सले एक वर्षमा दुई लाख ५२ हजार ६३७ जना यात्रुलाई सेवा दिएका छन्।

भारतका पनि चार विमान कम्पनीले नेपालबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन्। एयर इन्डिया, इन्डिगो एभिएसन, एयर इन्डिया एक्सप्रेस र स्पाइसजेटले नेपालमा हवाई सेवा दिइरहेको प्राधिकरणले जनाएको छ। नेपालमा सेवा दिइरहेका भारतीय विमान कम्पनीमध्ये एयर इन्डियाले सबैभन्दा ठूलो कारोबार गर्छ। हवाई उडानबाट भारत र नेपाललाई जोडिरहेका भारतीय विमान कम्पनीहरूले सन् २०२४ मा १० अर्ब १२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।

भारतीय कम्पनी इन्डिगोको विमान। तस्बिर : बिक्रम राई

संयुक्त अरब इमिरेट्स (यूएई)का एयर अरेबिया, एयर अरेबिया अबुधाबी र फ्लाई दुबईले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएका छन्। यी सबै एयरलाइन्स कम्पनीका लागि नेपालबाट वैदेशिक रोजगारीमा जाने र फर्कने नेपाली नै प्रमुख यात्रु हुन्। एयर अरेबियाले सारजाहा-काठमाडौँ-सारजाहा, एयर अरेबिया अबुधाबीले अबुधाबी-काठमाडौँ-अबुधाबी र फ्लाई दुबईले दुबई-काठमाडौँ-दुबईमा उडान गरिरहेका छन्।

एयर अरेबिया अबुधाबीले ए-३२० र ए-३२१ जहाजमार्फत हप्ताको सातै दिन दैनिक दुई वटा जहाज अबुधाबी-काठमाडौँ-अबुधाबीमा उडाइरहेको छ। एयर अरेबियाले पनि ए-३२० र ए-३२१ जहाजबाट सातामा सारजाहा-काठमाडौँ-सारजाहा रुटमा सातामा ४२ वटा उडान गरिरहेको छ।

थाइल्यान्डका तीन वटा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएका छन्। थाइल्यान्डका थाई एयर एसिया, थाई एयरवेज र थाई लायनले हवाई सेवा दिइरहेका छन्। थाई एयर एसियाले बैंकक-काठमाडौँ-बैंककमा १८० सिट क्षमताको ए-३२० जहाज उडाइरहेको छ। उक्त जहाज हरेक दिन नेपाल आउने र फर्कने गर्छ।

थाई एयरवेजको विमान। तस्बिर : बिक्रम राई

प्राधिकरणका अनुसार मलेसिया, भुटान र कुवेतका दुई दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नेपालमा सेवा दिइरहेका छन्। नेपालमा सञ्चालनमा रहेका भुटानका अन्तर्राष्ट्रिय एयरलाइन्समा ड्रुक एयर र भुटान एयरलाइन्स छन्। कुवेतका जजिरा एयरवेज र कुवेत एयरवेज तथा मलेसियाको मलेसिया एयरलाइन्सले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका छन्।

कतारको कतार एयरलाइन्स, सिंगापुरको सिंगापुर एयरलाइन्स, दक्षिण कोरियाको कोरियन एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयरलाइन्स, बाङ्लादेशको विमान बाङ्लादेश र हङकङको क्याथे प्यासेफिक एयरवेजले पनि नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा दिइरहेका छन्।

नेपालका नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरले विभिन्न विदेशी गन्तव्यमा हवाई सेवा दिइरहेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले १० विदेशी गन्तव्यमा उडान गरिरहेको छ। निजी क्षेत्रको हिमालय एयरलाइन्सले ११ विदेशी गन्तव्यमा उडान गरिरहेको छ। आन्तरिक उडानमा वर्चस्व रहेको बुद्ध एयरले भने काठमाडौँ-कोलकाता रुटमा उडान गर्दै आएको छ।

विमान बाङ्लादेश। तस्बिर : बिक्रम राई

नेपाल एयरलाइन्सको मार्केटिङ विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिना (साउन-कात्तिक)मा यस एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानबाट करिब पाँच अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ। नेपाल एयरलाइन्स सञ्चालन गरिरहेको नेपाल वायुसेवा निगमले त्यस अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट पाँच अर्ब ९६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो। निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिएबापत पनि आम्दानी गर्दै आएको छ। तर, यो तथ्यांकमा ग्राउन्ड ह्यान्डलिङबापतको आम्दानी समावेश छैन।

निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार नेपालका राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले बलियो उपस्थिति देखाउन नसक्दा देशले कमाउन सक्ने पैसा विदेशी एयरलाइन्सले लगिरहेको बताउँछन्। “सबै एयरलाइन्सले काठमाडौँलाई राम्रो रुट भन्छन्। उनीहरूले नेपालबाट गर्ने कमाइ राम्रो भएकै कारण यहाँ उडान गर्न चाहन्छन्,” उनी भन्छन्, “नेपालका वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडानमा बलियो उपस्थिति देखाउन सकेको भए विदेशी एयरलाइन्सले लैजाने पैसा नेपालले आर्जन गर्न सक्थ्यो।”

तर तिर्दैनन् कर

नेपालमा हवाई सेवा दिइरहेका विदेशी एयरलाइन्सले यात्रु बोकेर प्रशस्त आम्दानी गरे पनि उनीहरूले नेपाल सरकारलाई तिर्नुपर्ने कर भने तिरेका छैनन्। आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट यात्रु लैजाँदा पाँच प्रतिशत कर लाग्ने व्यवस्था छ। त्यस्तै, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यातायातमा दुई प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। तर, दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा विदेशी एयरलाइन्सहरूले उक्त दुवै कर गरी दुई अर्ब ५७ करोड २१ लाख नौ हजार रुपैयाँ तिरेका छैनन्।

महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा चीनमा उडान गर्ने दुई एयरलाइन्स, अंकारा र कुबेत उडान गर्ने एक एक एयरलाइन्सले आव २०७९/८० मा २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर, त्यसमा लाग्ने शुल्क र ब्याज नतिरेकाले छानबिन गर्नुपर्ने उल्लेख छ। यस्तै, आव २०८०/८१ मा १३ वटा विदेशी एयरलाइन्सले दुई अर्ब ३१ करोड ५५ लाख २८ हजार कर र त्यसमा लाग्ने शुल्क तथा ब्याज असुल गर्नुपर्ने प्रतिवेदनमा लेखिएको छ।

महालेखापरीक्षकको प्रतिवेदन- २०८१

महालेखापरीक्षकको प्रतिवेदनमा एयरलाइन्स कम्पनीहरूको पहिलो गन्तव्यसम्मको कर मात्रै गणना गरिएको र कनेक्टिङ उडानका लागि टिकट काटेका यात्रुको विवरणसमेत अध्ययन गरेर कर निर्धारण गरी असुल गर्नुपर्ने भनिएको छ। तर, प्रतिवेदनमा कर नतिर्ने विदेशी एयरलाइन्स कुन कुन हुन् भन्ने स्पष्ट खुलाइएको छैन।

आव २०८०/८१ मा साउदी अरब, सिंगापुर, दुबई, कुबेत, टर्की, ओमान, श्रीलंका र हङकङ उडान गर्ने एक एक एयरलाइन्स, मलेसिया र भुटान उडान गर्ने दुई दुई एयरलाइन्सले कर नतिरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

नेपालबाट सिंगापुरमा सिंगापुर एयरलाइन्स, दुबईमा फ्लाई दुबई, कुबेतमा कुबेत एयरवेज, टर्कीमा टर्किस एयरलाइन्स, श्रीलंकामा श्रीलंकन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। काठमाडौँबाट मलेसियामा भने बाटिक एयर र मलेसिया एयरवेजले उडान गरिरहेका छन्।

पोखरा र भैरहवा जान अरुचि

विदेशी एयरलाइन्स कम्पनीहरूले काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट उडान-अवतरण गर्दा प्रशस्त आम्दानी गरिरहेका छन्, तर उनीहरूले नेपालकै अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्न रुचि देखाएका छैनन्।

नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ४९ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिन्छन्। सन् २०२५ को ११ महिनामा (जनवरीदेखि नोभेम्बरसम्म) ४१ लाख ११ हजार ९८१ यात्रुले हवाई सेवा लिएका थिए। सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई सेवा लिने यात्रुको संख्या ४९ लाख २८ हजार ९२५ थियो।

महालेखापरीक्षकको प्रतिवेदन- २०८२

सन् २०२५ को ११ महिनामा नेपालबाट विभिन्न विमान कम्पनीले २८ हजार ४७२ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण गरेका थिए, जसमा १४ हजार २३७ उडान र १४ हजार २३५ वटा अवतरण थिए। यीमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार २५१ वटा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २२१ वटा अन्तर्राष्ट्रिय उडान–अवतरण भएको प्राधिकरणको तथ्यांक छ। त्यस अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले चार्टर्ड उडान मात्रै गरेको छ।

विदेशी विमानसेवा कम्पनीहरू पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जान नचाहनुको मुख्य कारण नेपालले नै उनीहरूलाई यात्रु दिन नसकेको नागरिक उड्डयन प्राधिकरणका पूर्वनिमित्त महानिर्देशक राजकुमार क्षेत्री बताउँछन्। भन्छन्, “नेपालबाट बिदेसिने यात्रुमध्ये ७५ प्रतिशत श्रमिक नै छन्। उनीहरूले सबै प्रक्रिया पूरा गर्न काठमाडौँ आउनैपर्छ। काठमाडौँ आएका मान्छे जहाज चढ्न मात्रै पोखरा र भैरहवा जाने कुरो भएन।”

अर्कातर्फ, छिमेकी देश भारतले पनि पोखरा र भैरहवाबाट नियमित उडान होस् भन्ने नचाहेको उनको भनाइ छ। “विदेशी एयरलाइन्सले गोरखपुरबाट सीधै भैरहवा वा पोखराका लागि जान सक्ने गरी भारतले हवाई रुट दिएको छैन। उनीहरू गोरखपुरबाट सिमरा आएर पोखरा वा भैरहवा जानुपर्छ। त्यसो गर्दा करिब २० देखि २५ मिनेट बढी उडान गर्नुपर्ने भएकाले एयरलाइन्सको खर्च धेरै बढ्छ,” क्षेत्री भन्छन्।