समीक्षा

सशस्त्र युद्ध र सामाजिक विभेदमाझ कोरिएको व्यथित समाजको सग्लो चित्रजस्तो लाग्छ, कान्छी उपन्यास।

३ माघ २०८२
वीना पुन र उनको उपन्यास कान्छी
अ+
अ-

द काठमान्डु पोस्ट, नेपाली टाइम्सलगायत अंग्रेजी अखबारमा बेलाबखत पढिएको नाम हो, वीना पुन। उनै वीनाको पहिलो उपन्यास कान्छी गत वर्ष प्रकाशन भयो।

नेपाली समाजमा कान्छी असाध्यै प्रयोग हुने शब्द हो। मायाले छोरीचेलीलाई गरिने सम्बोधन पनि हो। वीनाले यही प्यारो नामलाई उपन्यासको शीर्षक बनाएर कठिन बाटोमा हिँड्ने विद्रोही पात्र उभ्याएकी छन्। पर्वतको काल्पनिक गाउँ तोरीखोलामा आमाले एक्लै हुर्काएकी छोरी हो, कान्छी। कान्छीका बा ऊ नजन्मिँदै बिरक्तिएर घर छोडेर हिँडेको हुन्छ। ऊ सानैदेखि हकी र विद्रोही स्वभावकी छे।

उपन्यासको सुरुआती वाक्य छ – ‘कान्छी १६ वर्षकी थिई, जतिखेर ऊ बेपत्ता भई।’ यसरी एउटा रहस्यबाट कथानकको उठान हुन्छ, र विगतका घटना क्रमैसँग सतहमा आउँछन्। कान्छीकी आमा मैजुको जीवनका अनेक आयाम जोड्दै उपन्यासले बृहत् क्यानभास पोत्दै जान्छ।

बाल्यकालकी कान्छी धेरै चुलबुले छे। निडर र सुरो स्वभाव छ। नजा भनेको ठाउँमा जानुपर्ने उसलाई, नगर भनेको काम गर्नुपर्ने। उसलाई निषेध गरेको मन पर्दैन। तैँले यो काम गर्न सक्दिनस् भनेको ऊ सुन्न सक्दिन। कतै फाल हाल्ने काम होस्, वा गह्रुँगो भारी बोक्ने– ऊ अघि बढिहाल्छे। लैंगिकताका प्रचलित सामाजिक मान्यतालाई कान्छीका गतिविधिले सीधै नकार्छन्।

किशोरी कान्छी जिज्ञासु छे। आफूमा आएको शारीरिक परिवर्तनसँगै ऊ नयाँ नयाँ जिज्ञासा राख्छे, उसका शिक्षक गोविन्दसँग। उनै गोविन्द सरमार्फत उपलब्ध भएका पत्रपत्रिका पढ्छे। तथ्यकथा उसको समयको चल्तीको म्यागेजिन। त्यसमा यौन, हत्या आदिको मिश्रण गरिएका सनसनीपूर्ण सामग्री हुन्थे। उसको खुलदुली बढ्छ, नयाँ अंकको प्रतीक्षामा अधीर रहन्छे। महिनावारी हुँदा बार्नुपर्ने समाज/परिवारमा उसले वर्षदिनपछि मात्र सो कुरा खुलाउँछे। उसकी आमाले कर गर्दा ऊ प्रतिवादमा बोल्छे– ‘सबै कुरा तपाईंकै समयमा जसरी गर्नुपर्छ?’ यसरी वीनाले कान्छी पात्रमार्फत विद्रोहको ‘लाभा’ ओकलेकी छन्।

उपन्यासले कथानकमा लगभग सबै सामाजिक अभ्यासलाई समेटेको छ। सधैँ हेर्दैगर्दै आएका गतिविधिको मिहीन वर्णनले नेपाली परिवेशका पाठकलाई दिक्दारी थप्न पनि सक्छ।

किशोर र जवानीका बेला यौन चाहना बढ्नु स्वाभाविक हो। यस्तैमा कान्छीको नेपाल प्रहरीमा कार्यरत झलनाथसँग हिमचिम बढ्छ। कान्छीकै कोठामा उनीहरू रातभर रहन्छन्। उससँगको साथ केवल यौनकर्ममा सीमित रहन्छ। तर, कान्छीलाई बिहे गरेर घरगृहस्थीमा जकडिन मन्जुर छैन। झलनाथबाट आएको बिहे प्रस्ताव लत्याएर अनिश्चित भविष्यमा पाइला चाल्छे। सिर्जनात्मक विद्रोहका लागि सत्संग, साथसहयोग रहँदैन निरन्तर। घर, समाजमा त्यो वातावरण छैन। उसलाई अदबमा बस्न अर्ती-उपदेश दिनेको भने कमी छैन। स्वाभिमानी छ ऊ, झलनाथको साथसहयोगमा उसलाई दयाको गन्ध आउँछ। ऊ दयाको पात्र बन्न सक्तिन। ‘शक्तिले महिलाका कदमलाई सोझै नाइँ भन्दैन। यसले महिलालाई अलमल्याउँछ, भड्काउँछ अनि गलाउँछ।’ अरुन्धती रोयको यो कथन लागु हुन्छ, कान्छी र अर्की पात्र विमलाको सन्दर्भमा पनि। सामाजिक निषेधका यस्तै घटनाले त हो– विद्रोही विमलालाई रोल मोडलझैँ पछ्याइरहेकी हुन्छे, कान्छी।

पूर्वाभास आख्यान लेखनमा प्रयुक्त हुने बलियो औजार हो। यसमा मूल घटनालाई सहायक गतिविधिबाट सांकेतिक पटाक्षेप गरिन्छ। उपन्यासको त सुरुआतमै कान्छी हराएको घटना छ। यही हराएको सन्दर्भ विमलाको हकमा पनि जोडिन्छ। उस्तै हकी विमला पनि पुरुष बहुमतको भाले गर्जनबाट बनाइएका समाजका नियम, काइदाकानुनलाई वास्तै नगरी मनमाफिक काम गर्छिन्। तर, उनलाई अन्ततोगत्वा सामाजिक धरापमा पारिन्छ, अनि उनी पलायन हुन बाध्य हुन्छिन्। यस्ता विषयलाई सघन र बिस्वासिलो रूपमा प्रस्तुत गरेर वीना पूर्वाभासलाई कथावाचनको रोचक माध्यम बनाउन सफल देखिन्छिन्।

उपन्यास आमा-छोरीबीचको सम्बन्धको कथामा जेलिएको छ। मैजु एकल अभिभावक बनेर कान्छीलाई हुर्काउने, बढाउने गरिरहेकी छन्। समाजमा एकल आमाको जीवन भोगाइ असाध्यै संघर्षपूर्ण हुन्छ। बच्चा हुर्काउन, घरव्यवहार सम्हाल्नदेखि उमेरदार महिलाले त पीपासु आँखाहरूबाट आफूलाई जोगाउनसमेत ध्यान दिनुपर्ने हुन्छ। यही परिवेश झेलिरहेका कैयौँ आमा हाम्रै वरपर छन्। सहयोगको हात बढाउनेहरू कमै हुन्छन्, गिद्दे नजर लगाउनेहरू भने पाइलैपिच्छे भेटिन्छन्। उपन्यासले यही सामाजिक यथार्थताको लैंगिक उल्झनलाई दरिलोसँग पक्रेको छ। कान्छी र उसकी आमा मैजुबीचको सम्बन्ध घृणा र प्रेमको रोटेपिङमा हल्लिएझैँ लाग्छ। तर, अन्त्यमा यो सम्बन्ध निकै कोमल र मनै कटक्क खाने गरी पारस्परिक प्रेमको डोरीमा गाँसिन्छ।

आख्यानकार वीना प्रस्ट्याउँछिन्– ‘नब्बेको दशकभर निरन्तर विश्वसाहित्य पढेर हुर्किएँ म। तसर्थ नेपालकी महिलाले नेपालको एउटा गाउँकी केटीको कथा अंग्रेजीमा सुनाउन गरेको प्रयत्न हो उपन्यास कान्छी।’ वीना हाल अमेरिका बस्छिन्। धेरथोर ‘डायस्पोरा’ जीवन देखेकी छन्। तर, उनको यस उपन्यासमा बाहिरी संसारको रङ पोतिएको छैन। मात्र नेपाली भूगोल र परिवेशमा केन्द्रित छ। उनी हुर्केबढेको गाउँठाउँ, उनले देखेजानेको परिवेशलाई कथानकमा सलल बगाएकी छन्। यसमा सामाजिक परम्परा, घटना, सांस्कृतिक उत्सव एवं पर्वहरूको सूक्ष्म वर्णन र निरन्तर उपस्थिति छ। उपन्यासले कथानकमा लगभग सबै सामाजिक अभ्यासलाई समेटेको छ। सधैँ हेर्दैगर्दै आएका गतिविधिको मिहीन वर्णनले नेपाली परिवेशका पाठकलाई दिक्दारी थप्न पनि सक्छ। दसैँको पशुबलिको सन्दर्भमा यस्तै लम्बेतान विवरण रसहीन लाग्न सक्छ। बाह्य पाठकलाई भने यो रुचिकर होला।

हामीकहाँ २०७० सालयता युद्धका कथाव्यथा प्रशस्त लेखिएकै हुन्। तर, द्वन्द्वलाई सांस्कृतिक परिवेशमा लपेटेर कथा भनिएकाले पनि होला, सपाट राजनीतिक उपन्यास लाग्दैन यो।

भाषामा वीनाको राम्रो पकड छ, उस्तै सहज प्रवाह पनि। पात्र सुहाउँदा स्थानीय संवादको प्रयोगले पठनगति उस्तै कायम रहन्छ। स्कुल पढ्दापढ्दै भागेर बिहे गरेकी कान्छीकी साथी लक्ष्मीको एक संवाद हो यो– ‘नो रेड, हज्बेन्ड डेड, अर्थात् बूढो मर्‍यो, रातो रङ अब निषेध।’, ‘सी ह्याज गट ए होर्न इन हर बट : यसको चाकमा सिङ पलाएको छ।’ यस्ता खालका छोटा तर चोटिला संवादले फरक स्वाद थप्छन्। वीनाले स्थानीय चुड्का, उखान, लोकगीतलाई टपक्क टिपेर राखेकी छन्, अंग्रेजी अनुवादसहित। किशोरी पात्र कान्छीलाई सुहाउने केही कविता पनि कोरेकी छन्। यसरी पठनमा मीठो क्रमभंग थपिन्छ, लालित्य पनि। वीनाका पात्रहरू गाउँले जीवनका हामीले देखेभोगेका आम मान्छे छन्। पात्रको नामकरणमा पूरै स्थानीयपन छ। चयनमा एकदम विश्वसनीयता छ, विविधता उस्तै। मगर, गुरुङ बाहुल्य भएको समाज छ, तापनि अन्य जातजाति पनि सहअतित्वमा छन्, वीनाको औपन्यासिक समाजमा। पचासको दशकका ठिटाठिटीले उपन्यासभर आफैँलाई पाउँछन्।

इटालीका घुमघामप्रेमी लेखक इटालो काल्भिनोकोका विचारोत्तेजक निबन्धहरूको सँगालो छ, द रिटन वर्ल्ड एन्ड द अनरिटर्न वर्ल्ड। यही शीर्षकको निबन्धमा उनी सुझाउँछन्, विशेष गरी उपन्यास लेख्दा पाँचै इन्द्रियलाई झंक्रित गर्न सक्नुपर्छ। श्रव्य, दृश्य, स्वाद, स्पर्श, अनि गन्धको प्रभाव छोड्ने गरी बिम्बहरूको राम्रो सन्तुलन गर्न सके पाठक विचलित नभई पढ्छन्। वीनाको लेखनमा पनि श्रव्य र दृश्यको प्रभाव एकदमै उत्कृष्ट छ। खोलाको सुसाइ, हावाको सरसराहट, चराको मीठो कलरवको मोहक वर्णन छ, एउटा प्राकृतिक संगीतको समुच्चता भेटेझैँ लाग्छ। तत्कालीन द्वन्द्वग्रस्त समाज, युद्धको परिवेश, सामाजिक ऐँठनका तह तह खुल्छन्। १३ नोभेम्बर २००५ अर्थात् २७ कात्तिक २०६२– यो मिति उल्लेख छ उपन्यासका तीन अध्यायमा, लामो अन्तरालमा। यो त्यही समय हो, जतिखेर नेपाल सशस्त्र युद्धको उत्कर्षमा थियो। यसरी उपन्यासका घटनाक्रममा तत्कालीन द्वन्द्वको प्रतिविम्ब गाढा भेटिन्छ।

हामीकहाँ किशोर-किशोरीका लागि पढ्ने खुराक असाध्यै कम छ। कथा तन्काइरहने जादुले भरिएका अरेबियन नाइट्सजस्ता सामग्री कमै लेखिएका छन्। उमेरगत रुचिका किताब खोज्ने किशोरकिशोरी अझै पनि ह्यारी पोटरमै निर्भर छन्। यसभन्दा अगाडि बढ्नुपरे कुलिन हुभर, डेलिया ओएन्स, नोरा रोबर्टपस् आदिको शरणमा। यसैले पनि कान्छी उपन्यास अहिलेको अंग्रेजी पुस्ताका लागि गजबको खजाना हो। अनि सामाजिक यथार्थकै जगमा उभिएकाले पनि यसले इतिहास, समाज, संस्कृतिसँग हिमचिम बढाउन सघाउँछ। सन् २०१८ मा निस्केको श्रद्धा घलेको द वेवार्ड डटरसँग धेरै समानता भेटिन्छ उपन्यासमा। दुवैमा परिवेश र समय उस्तै छन्। विद्रोही पात्र सुम्निमामार्फत श्रद्धाले सांस्कृतिक विविधतालाई पस्केकी थिइन्, माओवादी युद्धको छायामा। वीनाको यस उपन्यासमा घटनावलीलाई अझ मिहिनतम ढंगले सतहमा ल्याइएको छ।

हामीकहाँ २०७० सालयता युद्धका कथाव्यथा प्रशस्त लेखिएकै हुन्। तर, द्वन्द्वलाई सांस्कृतिक परिवेशमा लपेटेर कथा भनिएकाले पनि होला, सपाट राजनीतिक उपन्यास लाग्दैन यो। बरु सामाजिक विभेद र सशस्त्र युद्धमाझ कोरिएको व्यथित समाजको एउटा सग्लो चित्र कोरेझैँ लाग्छ।