काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

‘मुलुकको पहिलो र ठुलो लोकतान्त्रिक दल कांग्रेस नदुखेको टाउको आफैँ ठोक्दै रूँदै गरिरहेको छ’

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले घेराबन्दीबाट बाहिर आउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको विवाद समाधान गरी सबै निर्वाचनमा होमिनुपर्ने सुझाव दिएका छन्। उनले सहमतिमा उम्मेदवार चयन गर्ने र उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका छन्। उनले पार्टी नेतृत्वलाई घेराबन्दीभन्दा बाहिर आउनका लागि आह्वानसमेत गरेका छन्।

“हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो। आधामा देउवाले गर्नुभयो। बाँकीमा अब गगनले गर्नुहुन्छ। सबैको सहमतिमा उम्मेदवार चयन गरौँ‚” विश्वकर्माले सामाजिक सञ्जालमा लेखेका छन्‚ “उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ। यसका लागि देउवा‚ गगन‚ पूर्णबहादुर‚ शेखर एकठाउँमा अहिलै बस्नुस्। घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस्।”

अहिले कांग्रेस मात्र नभई राष्ट्रवादी लोकतान्त्रिक राजनीतिक दलहरूसँगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गम्भीर मोडमा रहेको पनि उनको भनाइ छ। “यो अवस्थाबाट मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौँ। सबैलाई आह्वान गर्यौं। जसका कारण सबै दल निर्वाचनमा होमिएका छन्‚” कांग्रेस नेता विश्वकर्माले भनेका छन्‚ “तर मुलुकको पहिलो र ठुलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफैँ ठोक्दै रूँदै गरिरहेको छ। यो हाम्रा लागि मात्र होइन मुलुक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो।”

उनले २१ फागुनको निर्वाचनको परिणाम मध्यनजर गरी आपसमा सहमति र एकता हुनु अपरिहार्य रहेको बताएका छन्। उनले भने‚ “अब झगडा अदालतमा छौडौँ। परिणाम जे आउँछ मान्न तयार बनौँ।”