काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

दृष्टिकोण

महिलालाई राजनीतिमा ल्याउनु मात्र समाधान होइन; राजनीतिलाई महिलाको नेतृत्व र अनुभवअनुकूल पुनःसंरचना गर्नु नै नारीवादी राजनीति हो।

४ माघ २०८२
अ+
अ-

पछिल्लो साढे तीन दशक नेपालको राजनीति पाँचसात जना पुरुषको वरिपरि घुमिरह्यो। नेपाली राजनीतिको पर्याय बने- ‘शीर्ष’ भनिने केही पुरुषहरूको कोठे बैठक, गुटबन्दी र गठबन्धन। राजनीतिक दलहरू व्यक्ति, परिवार वा निश्चित समूहका निजी उद्योगजस्ता बने। यस्तो राजनीतिले नागरिकका अपेक्षा पूरा गर्न सकेन। असन्तुष्टि बढ्दै गयो र विस्फोट भयो– २३ र २४ भदौको जेन-जी विद्रोहमा।

इतिहासमै विरलै देखिने यस्तो विद्रोहपछि पनि नेपाली राजनीतिमा पुरुषवाद नै हाबी छ। यस विद्रोहले कम्तीमा राजनीतिक दृश्यबाट तीन जना प्रमुख नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई बिदा गर्न खोजेको थियो, तर सफल हुन सकेन। जेन-जी विद्रोहको भावनालाई दलहरूले लत्याए। पुराना दल र नेतृत्वमा हाबी पुरुषवादसँग देशले पटक पटक हार खेपेको छ र अझै हारिरहेकै छ। विडम्बना त, आफूलाई नयाँ र वैकल्पिक भन्ने शक्तिहरूले समेत आफ्नो राजनीतिलाई पुरुषवादी सोचबाट अलग राख्न सकेका छैनन्।

पछिल्लो समय ‘वैकल्पिक एकता’ का नाममा बजारमा छरपस्ट बनेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङका तस्बिरहरू नेपाली राजनीतिमा गहिरो गरी जरा गाडेको पुरुषवादी सोचका प्रतीक हुन्। यी सबै परिदृश्यले एउटै कुरा देखाउँछन्- आज पनि महिलाहरू राजनीतिमा ‘टोकन’ हुन्, अपरिहार्य होइनन्।

राजनीतिक दलका लागि नारीवादी ढाँचा

नेपालको लोकतान्त्रिक अभ्यासले पछिल्ला वर्षहरूमा महिलाको सहभागितालाई संख्यात्मक रूपमा उल्लेखनीय बनाएको छ। संविधान, कानुन र आरक्षण व्यवस्थाले संसद्, स्थानीय तह र सार्वजनिक निकायहरूमा महिलाको उपस्थिति बढाएको छ। यो उपलब्धि हो। तर, महिलाको सहभागिता अझै संख्यामा सीमित छ, शक्ति भने सबैजसो राजनीतिक दलहरूमा पुरुषकै हातमा केन्द्रित छ। यही विरोधाभासले देखाउँछ- लोकतन्त्र अझै अपुरो छ, र राजनीतिमा नारीवादी रूपान्तरण अपरिहार्य भइसकेको छ।

महिलालाई राजनीतिमा ल्याउनु मात्र समाधान होइन; राजनीतिलाई महिलाको नेतृत्व र अनुभवअनुकूल पुनःसंरचना गर्नु नै नारीवादी राजनीति हो। यही परिप्रेक्ष्यमा नेपालमा नयाँ खुलेका राजनीतिक दलहरूले आफूलाई केवल ‘गतिशील’, ‘प्रगतिशील’ वा ‘समावेशी’ मात्र नभई महिला नेतृत्वमा आधारित नारीवादी लोकतान्त्रिक पार्टीका रूपमा स्थापित गर्ने ऐतिहासिक अवसर गुमाइरहेका छन्।

नारीवादी राजनीतिको वैचारिकी

नारीवादी राजनीतिको वैचारिकी ‘पुरुषलाई महिलाले विस्थापित गरौँ’ भन्ने होइन। यसको लक्ष्य शक्तिको पुनर्वितरण हो। इतिहासले पुरुषलाई सत्ता, निर्णय र स्रोतमा विशेष पहुँच दिएको छ भने महिलालाई परिधिमा राखेको छ। ‘राजनीति पुरुषको, चुलोचौका महिलाको’ भन्ने सोचले आजको पुस्तालाई पनि ग्रस्त पारिरहेको छ। नारीवादी राजनीति समाजको यही असन्तुलन सच्याउने प्रयास हो।

यो असन्तुलन सच्याउन केही आधार हरेक राजनीतिक दलभित्र बाध्यकारी रूपमा लागु गर्न आवश्यक छ।

पहिलो आधार, नेतृत्वमा पहुँच। महिलालाई केवल सहभागिताको तहमा सीमित नगरी नीति निर्माण, बजेट प्राथमिकता, सुरक्षा, अर्थतन्त्र र संगठनात्मक निर्णयका केन्द्रमा राख्नु नै नारीवादी राजनीति हो। महिलालाई ‘सामाजिक’ वा ‘महिला मामिला’ मा मात्र सीमित गर्नु स्वयं पितृसत्ताको निरन्तरता हो। राजनीतिक दलहरूभित्र महिलालाई प्रायः कोषाध्यक्ष बनाइन्छ; अध्यक्ष वा प्रवक्ताका रूपमा महिलालाई देख्नु दुर्लभ नै हुन्छ। महिलालाई नेतृत्व तहमा स्थापित नगरेसम्म संरचनात्मक रूपमा समाज बदलिँदैन।

दोस्रो आधार, महिलाको ज्ञान र अनुभवलाई नेतृत्व गुणका रूपमा पहिचान गर्नु। महिलाको अवैतनिक श्रम, पारिवारिक हेरचाहको बोझ, अनौपचारिक श्रम, आप्रवासन, हिंसा र असुरक्षा, यी सबै राजनीतिक विषय हुन्। जब नीति निर्माणमा यी अनुभव समेटिन्छन्, तब मात्र लोकतन्त्र देशको आधाभन्दा बढी जनसंख्याको जनजीवनसँग जोडिन्छ।

तेस्रो आधार, संस्थागत जवाफदेही। नारीवादी राजनीति व्यक्तिको इच्छामा होइन, संस्थागत संरचनामा आधारित हुन्छ। पार्टीभित्रै लैंगिक समानता, सुरक्षित कार्यसंस्कृति र पारदर्शी निर्णय प्रणाली नभएसम्म बाहिरको समाज परिवर्तन सम्भव हुँदैन। महिलालाई नेतृत्व तहमा स्थापित गर्न प्रयास नगर्ने दलहरूलाई निरन्तर प्रश्न गरिरहनुपर्छ- आधाभन्दा बढी जनसंख्याको भावना प्रतिनिधित्व गर्ने महिलाप्रति विश्वास नगर्ने दललाई हामी किन भोट हाल्ने? यो प्रश्न महिलाले मात्र होइन, नारीवादी पुरुषहरूले अझ जोडका साथ उठाउनुपर्छ।

रूपान्तरणको अवसर

म स्वयं सम्मिलित गतिशील लोकतान्त्रिक पार्टीका लागि आफूलाई नारीवादी पार्टीका रूपमा घोषणा र ब्रान्डिङ गर्ने सुनौलो अवसर छ। तर, यस्ता कुरा बोलेर मात्र हुँदैन; व्यवहार, संरचना र अभ्यासबाट प्रमाणित हुनुपर्छ।

गतिशील पार्टीले निम्न आधारभूत संरचनात्मक परिवर्तन गर्दै आफूलाई नारीवादी दलका रूपमा रूपान्तरण गर्न सक्छ।

पहिलो, नेतृत्व संरचनामा महिला प्रधानता अनिवार्य छ। पार्टीका सबै निर्णय तहमा कम्तीमा ६० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै अध्यक्ष, सहअध्यक्ष, महासचिवजस्ता शीर्ष पदहरूमा महिलालाई नेतृत्वमा ल्याएर गतिशील पार्टीले आफूलाई नारीवादी दलका रूपमा स्पष्ट सन्देश दिन सक्छ।

दोस्रो, आन्तरिक लोकतन्त्रलाई नारीवादी बनाउनु आवश्यक छ। उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र लैंगिक संवेदनशील हुनुपर्छ। महिलालाई चुनाव लड्न आर्थिक, संगठनात्मक, चुनावी अभियान सञ्चालन तथा राजनीतिक नेतृत्व विकासका लागि सहयोग गर्नु पार्टीको जिम्मेवारी हुनुपर्छ। बैठक, प्रशिक्षण र अभियानहरू महिलाको समय, हेरचाहको जिम्मेवारी र सुरक्षालाई ध्यानमा राखेर सञ्चालन गरिनुपर्छ।

तेस्रो, शून्य सहनशीलताको नीति आवश्यक छ। यौन दुर्व्यवहार, लैंगिक अपमान, चरित्र हत्या र अनलाइन आक्रमणविरुद्ध स्वतन्त्र, महिला नेतृत्वमा आधारित अनुशासन संयन्त्र हुनुपर्छ। नारीवादी पार्टीलाई संरचनात्मक रूपमा सुरक्षित पार्टीका रूपमा चिनाउन आवश्यक छ।

चौथो, नीतिगत नारीवाद गतिशील पार्टीको पहिचान बन्नुपर्छ। महिलाका मुद्दा भनेर छुट्याएर होइन, अर्थतन्त्र, रोजगारी, स्वास्थ्य, शिक्षा, न्याय र शासन सुधारमा नारीवादी दृष्टिकोण प्रधान हुनुपर्छ। अवैतनिक श्रम र पारिवारिक हेरचाहको मूल्यांकन, अनौपचारिक श्रमिक महिलाको सुरक्षा, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र लैंगिक हिंसाविरुद्ध द्रुत न्यायजस्ता मुद्दालाई प्राथमिकतामा राखेर गतिशील पार्टीले व्यावहारिक रूपमा आफूलाई नारीवादी पार्टीका रूपमा स्थापित गर्न सक्छ।

पुरुषको भूमिका

महिला नेतृत्वको पार्टी भनेको पुरुषविहीन पार्टी होइन। नारीवादी राजनीतिमा पुरुषको भूमिका नेताबाट सहयात्री र नियन्त्रणकर्ताबाट साझेदारका रूपमा रूपान्तरण हुन्छ।

उदाहरणका लागि, अहिले देश चुनावमय बन्दै छ। गतिशील पार्टीले चुनाव जित्ने सम्भावना बढी भएका क्षेत्रहरूमा महिला उम्मेदवारलाई अगाडि बढाएर आफूलाई नारीवादी दलका रूपमा उदाहरणीय बनाउन सक्छ। चुनावमा धेरैभन्दा धेरै महिलालाई विजयी गराउनु त्याग होइन, लोकतान्त्रिक जिम्मेवारी हो।

त्यसैगरी, हरेक राजनीतिक दलभित्रको पितृसत्ता हरेक महिला नेतृत्वका लागि ठूलो चुनौती हो। राजनीतिभित्रको लैंगिक विभेद प्रायः सूक्ष्म हुन्छ- व्यंग्य, अविश्वास, हल्ला र चरित्र हत्या। नारीवादी पुरुषले यस्ता व्यवहारको खुलेर विरोध गर्नुपर्छ। पितृसत्ता जन्मसिद्ध होइन, सिकाइको परिणाम हो। लैंगिक समानता, शक्ति र नेतृत्वसम्बन्धी नियमित प्रशिक्षण र निरन्तर अभ्यासले पुरुष नेताहरूलाई आत्मसमीक्षा गर्न मद्दत गर्छ।

 पूरा गर्न नसकेको वाचा

नेपालको लोकतन्त्र संख्यात्मक समावेशितामा सीमित छ। अबको रूपान्तरण संरचनात्मक हुनुपर्छ। महिलाको उपस्थिति बढे पनि निर्णय शक्ति पुरुषमा सीमित हुनु लोकतन्त्रको गम्भीर कमजोरी हो।

गतिशील पार्टीले नारीवादी लोकतान्त्रिक मार्ग रोज्दै परम्परागत दलहरूको जस्तै पुरुषकेन्द्रित, पितृसत्तात्मक राजनीतिभन्दा फरक वैकल्पिक बाटोमा राजनीतिलाई डोर्‍याउन सक्छ। यो बाटो जेन-जी, युवा पुस्ता, महिला र परिवर्तन खोजिरहेका नागरिकसँग साझेदारी निर्माण गर्ने अवसर पनि हो।

महिला नेतृत्वको नारीवादी पार्टी बन्न सजिलो छैन, तर सम्भव छ। यसका लागि संरचना बदल्नुपर्छ, संस्कार तोड्नुपर्छ र साहस देखाउनुपर्छ। यही नै हाम्रो लोकतन्त्रलाई पूर्ण बनाउने बाटो हो।

नारीवाद कुनै समूहविशेषको अजेन्डा होइन, यो त हाम्रो लोकतन्त्रले अझै पूरा गर्न नसकेको वाचा हो। त्यो वाचा पूरा गर्ने राजनीतिक साहस गतिशील पार्टीले देखाउनेछ।

– खरेल गतिशील लोकतान्त्रिक पार्टीकी संघीय सदस्य हुन्।