काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

प्रतिनिधिसभा निर्वाचन

६ माघ २०८२
मनोनयन दर्ता गरिँदै। तस्बिर : नेपालन्युज
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तीन हजार ४८४ जनाले उम्मेदवारी मनोनयन गरेका छन्।

६८ वटा राजनीतिक दल विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दलबाट दुई हजार २९७ र स्वतन्त्रबाट एक हजार १८७ जनाले प्रत्यक्षतर्फको चुनावका लागि उम्मेदवारी दिएका छन्।

प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न ३९५ जना महिला छन्। तीमध्ये २३५ जना राजनीतिक दलबाट र १६० जना स्वतन्त्रले उम्मेदवारी दिएका हुन्। त्यसैगरी तीन हजार ८८ पुरुष प्रतिस्पर्धी छन्। तीमध्ये राजनीतिक दलबाट दुई हजार ६४ र स्वतन्त्र एक हजार २४ जना छन्। अन्यमा दुईजनाले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा २५ देखि ३५ वर्ष उमेर समूहबाट ५८३ जनाको उम्मेदवारी परेको छ। ३६ देखि ५० वर्षसम्मका एक हजार ६१० जना उम्मेदवार छन्। त्यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० जना प्रतिस्पर्धी छन्। ६५ वर्षमाथिका २०१ जना उम्मेदवारले मनोनयन दर्ता गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीका लागि ६ माघमा लिइएको मनोनयनमा उत्साहजनक उपस्थिति रहेको आयोगको दाबी छ। देशभरको १६५ निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दलबाट र स्वतन्त्रबाट गरी उम्मेवारी दिएका छन्। ११० सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आउँछन्। समानुपातिकका लागि राजनीतिक दलहरुले बन्दसूची बुझाएर प्रक्रियामा छ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि (बुधबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। ८ माघमा उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे ९ माघको बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगको तयारी छ।