टिप्पणी
बौद्ध शिक्षा र तीर्थका कारण नेपाल र म्यानमारको सम्बन्ध राजनीतिभन्दा निकै गहिरो
२८ पुसको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र म्यानमारमा गत वर्ष गएको भूकम्पबाट क्षतिग्रस्त महामुनि फैया (बौद्ध प्यागोडा)को अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने निर्णय गर्यो।
२८ मार्च २०२५ मा म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै केन्द्रबिन्दु रहेको भूकम्पबाट म्यानमारमा मात्र पाँच हजार ३५२ जनाको मृत्यु भएको थियो भने छिमेकी थाइल्यान्डमा १०३ जनाले ज्यान गुमाएका थिए। म्यानमारका सागायिङ, नयपिटक र वरिपरि क्षेत्रहरूमा ठूलो विनाश ल्याएको भूकम्पमा देशकै सबैभन्दा प्रतिष्ठित बौद्ध तीर्थस्थलमध्ये एक महामुनि प्यागोडामा पनि नराम्ररी क्षति पुगेको थियो। भूकम्पलगत्तै नेपालले दुई चरणमा गरी ४१ टन राहत सामग्री म्यानमार पठाएको थियो।
‘बुद्धको वास्तविक अनुहार’
म्यानमारको राष्ट्रिय पहिचानका रूपमा पनि लिइने महामुनि प्यागोडास्थित बुद्ध मूर्तिलाई ‘बुद्धको वास्तविक रूप वा जीवित बुद्धको मूर्ति’ का रूपमा श्रद्धा गरिन्छ। गौतम बुद्धको जीवनकालमै उनको मूर्ति तथा चित्रकलाहरू बन्न सुरु भइसकेको अनेक दृष्टान्त त्रिपिटकलगायत बौद्ध वाङ्मयमा पाइन्छ।
म्यानमारमा प्रचलित विश्वासअनुसार बुद्धले धन्यवादी राज्य (हालको राखाइन, अराकान क्षेत्र) भ्रमण गर्दा त्यहाँका राजाको अनुरोधमा आफ्नो प्रत्यक्ष अनुहारको प्रतिरूपमा यो मूर्ति निर्माणको अनुमति दिएका थिए। सन् १७८४ मा कोनबाउड वंशका राजा बोदावपयाले अराकान विजय गरेपछि त्यहाँ रहेको उक्त मूर्तिलाई हालको महामुनि प्यागोडामा राखिएको भनाइ छ। यसैगरी, भूकम्पबाट क्षतिग्रस्त गंगाघाट मन्दिरले त्यहाँ बस्ने हिन्दु नेपालीहरूका लागि विशेष महत्त्व राख्छ।
नेपाल र म्यानमारबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। तर, दुई देशबीचको जनस्तरको सम्बन्ध निकै प्राचीन छ। यो सम्बन्ध अध्यात्मसँग जोडिएको छ।
नेपालमा औपचारिक बौद्ध शिक्षाको प्रबन्ध नभएको बेला नेपालीहरू म्यानमार गएर बौद्ध शिक्षा हासिल गरी फर्कन्थे। एक प्रकारले भन्नुपर्दा बौद्ध शिक्षाका लागि नेपालीहरूको प्रमुख गन्तव्य म्यानमार नै थियो। नेपाली थेरवादी बौद्ध समाजकी अग्रणीमध्येकी अनागारिका धम्मावती किशोरावस्थामा नै बौद्ध शिक्षाका लागि भारतको बाटो हुँदै म्यानमार पुगेकी थिइन्। फर्कंदा धम्मावतीसँगै नेपाल आएकी म्यानमारकी अनागारिका मां गुणवतीको पूरै जीवन नेपालमा बौद्ध शिक्षाको प्रचारमा नै बित्यो।
सहयोगको रकम ठूलो नहोला, तर यसले संकटमा नेपालको मानवीय, सांस्कृतिक र धार्मिक सहानुभूति प्रकट गर्छ।
म्यानमारकी नेत्री आङ सान सुकी नेपाल भ्रमणका बेला अनागारिका धम्मावती बस्ने सिघःस्थित धर्मकीर्ति विहारमा विशेष समय मिलाएर पुगेको घटनाबाट पनि यस सम्बन्धको प्रगाढता स्पष्ट हुन्छ। सुकी धम्मावतीलाई गुरुआमा मान्थिन्।
बौद्ध इतिहासमा ठूलो महत्त्व राख्ने छैटौँ संगायन म्यानमारमा भएको थियो। संगायनमा नेपाली भिक्षु डा. अमृतानन्द महास्थविरलगायतले सहभागिता जनाएका थिए। यसबाहेक म्यानमारबाट बौद्ध शिक्षा हासिल गरेर फर्केका भिक्षु तथा अनागारिकाहरू नेपालमा उल्लेख्य छन्। अहिले पनि प्रत्येक वर्ष बौद्ध अध्ययन र तीर्थयात्राका लागि थुप्रै नेपाली म्यानमार जाने गरेका छन्। गौतम बुद्ध जन्मस्थल लुम्बिनी आउने म्यानमारका बौद्ध तीर्थयात्रीहरूको संख्या पनि ठूलो छ।
यसबाहेक बेलायती सैनिकका रूपमा म्यानमारविरुद्ध लड्न पुगेका गोर्खाली सेनाका कारण पनि यो देशसँग नेपालको सम्बन्ध गाँसिएको छ। विश्वयुद्धका बेला त्यहाँ पुगेका कतिपय सैनिकले म्यानमार नै मन पराए र उतै बसे। केही नेपालीले भने उबेलादेखि नै म्यानमारमा व्यापार गरिरहेको भेटिन्छ।
नेपाल र म्यानमार भूकम्प र प्राकृतिक प्रकोपसँग परिचित देशहरू हुन्। १२ वैशाख २०७२ मा नेपालमा आएको शक्तिशाली भूकम्पमा यहाँ पनि जनसँगै थुप्रै धार्मिक तथा ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो। थिलथिलो भएको देशमा राहत लिएर म्यानमार पनि आइपुगेको थियो। यसैगरी, हामीलाई सहयोग गरेको थियो।
सम्बन्धको यही सघनताकै कारण नेपाल सरकारले महामुनि प्यागोडा र गंगाघाट मन्दिरको निर्माणमा सहयोग गरेको बुझ्न गाह्रो छैन। सहयोगको रकम ठूलो नहोला, तर यसले संकटमा नेपालको मानवीय, सांस्कृतिक र धार्मिक सहानुभूति प्रकट गर्छ। यो द्विपक्षीय मित्रता सुदृढ पार्ने प्रयास पनि हो। त्यसकारण पनि नेपालको यो सहयोग धनको हस्तान्तरण मात्र नभएर मानवीय तथा सांस्कृतिक सद्भावनाको प्रतीक पनि हो।
म्यानमारको भूकम्पमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत अन्तर्राष्ट्रिय निकायले आपत्कालीन स्वास्थ्य सहयोगका लागि ठूलो सहायता आह्वान गरेका छन्। विश्व आह्वानमा हातेमालो गर्नु विश्वमा आफ्नो उपस्थिति देखाउने अवसर पनि हो।