काठमाडौँ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित अघि बढाएका प्रस्तावहरू कार्यान्वयन हुन नसकेपछि पूर्वशिक्षामन्त्री महावीर पुन प्रत्यक्ष राजनीतिमा होमिएका छन्। आफूले अघि सारेका तीन वटा अध्यादेश र चार नियमावलीले औपचारिक मान्यता नपाएपछि म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको उनले बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्दा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको तर राज्य संयन्त्रबाट अपेक्षित साथ नपाएको पुनको भनाइ छ। “शिक्षा प्रणाली नै बलियो नबनाई देशको समृद्धि सम्भव छैन,” भन्दै उनले सुधारका प्रस्तावहरू रोकिँदा आफू निराश भएको उल्लेख गरेका छन्।
राष्ट्रपति कार्यालय र संसद्को विधान समितिले प्रस्तावित अध्यादेश स्वीकार गरेको भए आफू चुनावी राजनीतिमा नआउने उनको दाबी छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पुनले शिक्षा क्षेत्रमा निर्णायक हस्तक्षेप गर्ने अवसर गुमेको बताएका छन्।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर छुट्टै सशक्त मन्त्रालय गठनको प्रस्तावसमेत अघि सारेको तर त्यो पहल प्रशासनिक तहबाटै अवरुद्ध भएको आरोप लगाए। “प्रस्ताव अल्झाइयो, त्यसपछि निर्णय लिन ढिला गरिनँ,” भन्दै उनले म्याग्दी पुगेर उम्मेदवारी दर्ता गराएको उल्लेख गरे।
अब आफूले शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य राजनीतिक मुद्दा बनाएर जनतामाझ जाने पुनको भनाइ छ। उनले यी क्षेत्रलाई राष्ट्रिय विकासको मेरुदण्डका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।




