प्रतिनिधिसभा चुनाव
लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि दल परिवर्तन गर्नेको लर्को
बुटवल। प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको दुई दिनअघिसम्म पूर्वमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टी (जसपा)का महासचिव थिए। तर, ४ माघमा रातारात उनी नेकपा (एमाले)मा प्रवेश गरे। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट बाँके २ मा उम्मेदवार बनेका छन्।
२०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका इस्तियाक २०६२/६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए। फोरममा उनी केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै दुई वर्षभित्रै केन्द्रीय सचिव बने।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमको उम्मेदवार बनेर बाँके २ बाट विजयी भए। २०६८ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री बने। २०७० सालको संविधानसभा चुनावमा भने पराजित भए। २०७४ को प्रतिनिधिसभा चुनाव जितेका उनी २०७९ को निर्वाचनमा पराजित भए।
तीनपटक मन्त्री बनेका इस्तियाक मनोनयन दर्ता गर्न दुई दिन बाँकी रहँदा जसपाका नेता-कार्यकर्तालाई चकित तुल्याउँदै एमाले प्रवेश गरे र बाँके-२ को टिकट पाए। साबिकको दलबाट टिकट नपाउने भएपछि दल परिवर्तन गर्नेहरूको लर्को नै देखिन्छ।
चुनावको समयमा दल बदल्ने नेता उनी मात्रै होइनन्। लुम्बिनी प्रदेशमा आसन्न निर्वाचनकै लागि पार्टीका पदाधिकारी तहका नेता र प्रदेशसभा सदस्यसम्मले दल परिवर्तन गरेका छन्।
नेपाली कांग्रेसका पूर्वसांसद प्रमोद यादव यसपालि पनि पार्टीबाट उम्मेदवार बन्ने आकांक्षी थिए। तर, टिकट पाउने सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेर रुपन्देही ४ को उम्मेदवार बने। मनोनयन दर्ता गर्नुभन्दा केही घण्टाअघि मात्रै उनले एमालेबाट टिकट पाएका थिए।
कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल चुनावकै मुखमा पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ को उम्मेदवार बनेका छन्। २०७९ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट उद्यमी विनोद चौधरीले टिकट पाएपछि उनी असन्तुष्ट बनेका थिए। पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनले कांग्रेसले कारबाही गरेको थियो। कारबाही फुकुवा भए पनि उनी कांग्रेसमा बसेनन्, चुनावको ताक पारेर रास्वपामा प्रवेश गरे।
कांग्रेसमा लामो समयदेखि कित्ताकाट भएकाले आफूले पार्टी छाडेको उनी बताउँछन्। “जिल्लामा बसेर राजनीति गर्नेहरूका कुरा सुन्न छाडेर अरूकै कुरा सुन्न थालियो, अरूलाई नै प्राथमिकता दिन थालियो। यो कुरा यहाँका जनतालाई पनि मान्य थिएन, त्यसकै प्रतिनिधित्व मैले गरेको हुँ,” उनी भन्छन्।
कांग्रेसको राजनीतिमा क्रियाशील रहँदै आएका नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा पनि रास्वपामा प्रवेश गरेका छन्। उनी कपिलवस्तु २ मा उम्मेदवार बनेका छन्। २०७९ को प्रदेशसभा चुनावमा कांग्रेसबाट उम्मेदवार बनेका उनी कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेश (क) मा ५२२ मतान्तरले पराजित भएका थिए।
लुम्बिनी प्रदेशसभा सदस्य रहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता कन्हैया बानियाँले संघीय सांसदको उम्मेदवार बन्न सांसद पद र दल दुवै त्यागेका छन्। रास्वपा प्रवेश गरेका उनी रुपन्देही ४ मा उम्मेदवार बनेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरिया पनि रास्वपा प्रवेश गरेर कपिलवस्तु ३ मा उम्मेदवार बनेका छन्।
कपिलवस्तुका पुराना कांग्रेस नेता र पूर्वप्रदेशसभा सदस्य वीरेन्द्र कनोडियाले पनि चुनावकै मुखमा दल परिवर्तन गरेका छन्। कपिलवस्तु ३ मा उम्मेदवार बन्ने आकांक्षा राखेका उनी कांग्रेसमा नेतृत्व परिवर्तनपछि टिकट पाउने आशा झिनो भएको भन्दै एमाले प्रवेश गरेका छन्। उनी एमालेबाट कपिलवस्तु ३ मा उम्मेदवार बनेका छन्।
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी सांसद पद र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके १ मा उम्मेदवार बनेकी छन्। नेकपा सिद्धान्त र नीतिभन्दा पनि निश्चित व्यक्तिको आदेशमा चल्न थालेकाले छाडेको उनको भनाइ छ। “यसअघि पनि मैले विद्रोह गरेकै हो,” उनी भन्छिन्।
विद्रोहको नाममा अवसर खोज्दै नेताहरूको दल बदल्ने अभ्यास नौलो होइन। यसअघिका निर्वाचनमा पनि लुम्बिनी प्रदेशका तराईकेन्द्रित निर्वाचन क्षेत्र र मधेशकेन्द्रित दलहरूमा चुनावी लाभ लिन दल बदलेका नेताहरूको सूची लामै थियो।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा सहसराम यादव कपिलवस्तु १ (ख)मा जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बन्ने टुंगो भइसकेको थियो। एमाले र जसपाको गठबन्धनबाट टिकटको पक्का भएका उनी उम्मेदवारी दर्ताको दिन कांग्रेस प्रवेश गरे। तर, उनी चुनावमा एमाले र जसपा गठबन्धनकै उम्मेदवार मधुसुदन चौधरीसँग पराजित भए।
गएकै प्रदेशसभा चुनावमा देवराज भारती कांग्रेस त्यागेर जनमत पार्टीबाट कपिलवस्तु ३ (क)मा उम्मेदवार बनेका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ १ मा एमालेबाट टिकट नपाएपछि पूर्वसांसद गंगा थारू हाम्रो नेपाली पार्टीमा प्रवेश गरेर उम्मेदवार बनिन्। यस्तै, दाङ १ मा टिकट नपाउने भएपछि कांग्रेसका जिल्ला सदस्य देवराज पाठक रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका थिए। उनी अहिले रास्वपा लुम्बिनी प्रदेशका सभापति छन्।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपा पुगेका दाङका अर्का नेता सुरेन्द्र चौधरीले २०७९ सालको प्रतिनिधिसभा चुनावमा पार्टीबाट टिकट नपाएपछि राष्ट्रिय उन्मुक्ति पार्टीबाट उम्मेदवार बने।
राष्ट्रिय जनता पार्टी (राजपा) गठन गरेको ६ महिनामै वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी २०७० सालको संविधानसभा चुनावमा एमालेबाट उम्मेदवार बनेका थिए। साबिक नवलपरासी निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिएका उनी पराजित हुन पुगे।
त्रिपाठीले त्यसअघि पनि दल बदल्दै आएका थिए। २०६४ सालमा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) त्यागेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका थिए। तमलोपासहितका ६ दल मिलेर बनेको राजपाको गठनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०४८, २०५१ र २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका त्रिपाठी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी पश्चिम १ मा कांग्रेस नेता विनोद चौधरीसँग पराजित भएका थिए। आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाबाट उम्मेदवार बनेका छन्।
कपिलवस्तुकै अभिषेकप्रताप साह पनि दल बदल्नेमा अगाडि छन्। संघीय समाजवादी फोरमका उपमहासचिव रहेका बेला साह २०७४ को संसदीय निर्वाचनमा कांग्रेस प्रवेश गरेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी कपिलवस्तु ५ बाट विजयी भएका थिए। यसपटक साहले कांग्रेसबाट कपिलवस्तु ३ मा उम्मेदवारी दिएका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तमलोपाका नेता बृजेशकुमार गुप्ता सूर्य चिह्न लिएर कपिलवस्तु २ मा चुनाव लडेका थिए। तमलोपाकै सहमहामन्त्री ईश्वरदयाल मिश्र पनि सूर्य चिह्न लिएर कपिलवस्तु ३ बाट उम्मेदवार बनेका थिए। गुप्ता यसपटक एमालेले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्दै कपिलवस्तु २ मा उम्मेदवार बनेका छन्।
निर्वाचनको मुखमा दल बदल्ने नेताहरूको प्रवृत्तिलाई विश्लेषकहरू सिद्धान्त र विचारविहीनताको संज्ञा दिन्छन्। विश्लेषक सोमत घिमिरे दलहरूले राजनीतिक सिद्धान्त, नीति र निष्ठा छाडेको बताउँछन्। भन्छन्, “राजनीतिक दलहरूले सिद्धान्त, नीति र आफ्ना मान्यता छाडे। दलले जसरी निष्ठा छाडे, उम्मेदवारहरूले पनि निष्ठा छाडे। दल र दल बदल गर्ने व्यक्तिको कुरा मिलेको छ।”
दल बदल्ने नेताको प्रवृत्ति संसदीय राजनीतिको चरम बेथिति भएको र यो जनताको दुःख भएको उनी बताउँछन्।