काठमाडौँ। सरकारले गत २३ र २४ भदौको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गरी प्रतिवेदन पेस गर्न गर्न गठित जाँचबुझ आयोगको समय २० दिन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
गत ५ असोजको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा आयोगलाई तीन महिनाको समय दिइए पनि प्रतिवेदन तयारीको काम पूरा नभएको भन्दै गृह मन्त्रालयको प्रस्तावमा दोस्रो पटक पुनः अवधि थप गरिएको हो। आयोगका लागि यसअघि थपिएको समय आजै सकिँदै छ।
बैठकले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने र नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय भएको पनि उनले जानकारी दिए।