१० माघ २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगमा समानुपातिक तर्फका तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ।

आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूचीमा रहेका चन्देश्वर मण्डल‚ नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा र राप्रपाको सूचीमा रहेका कुमारबहादुर थापाविरुद्ध उजुरी परेको हो।

मण्डल आदिवासी तर्फका व्यक्ति भएको र उनको उम्मेदवारी मधेसी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको छ।

त्यस्तै नेकपाका लामाविरुद्ध अपांगता नभएको व्यक्तिलाई अपांगता क्लस्टरमा राखिएको भन्ने बेहोराको उजुरी परेको छ।

राप्रपाका थापाविरुद्ध उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन अवस्थामा रहेको भन्ने बेहोराको उजुरी परेको छ।

आयोगले सम्बन्धित पक्षलाई आ-आफ्नो सबुत प्रमाणसहित १३ माघको बिहान १० देखि दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित हुन भनेको छ। उपस्थित नभए कानुनबमोजिम हुने आयोगले जनाएको छ।

राजनीतिक दलहरूले गत १३ र १४ पुसमा समानुपातिक तर्फको सूची बुझाएका थिए। त्यसमा नाम फिर्ता लगायतको कार्य सकेर अन्तिम नामावली प्रकाशित भएको छ। प्रकाशित नामावलीमाथि आएका उजुरी एकीकृत गरेर आयोगले अध्ययन थालेको हो। पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोगले यही २० माघमा समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।