अनुभूति

१० माघ २०८२
अ+
अ-

समयको छालले बगाएर मलाई निकै यता ल्याइसकेको छ। तर, पनि उबेलाका घटनाहरू स्मृतिपटमा आइरहन्छन्। आफैँले हिँडेका पुराना बाटाहरूको यादमा अल्झिन र कहिलेकसो घाउहरूसँग बल्झिन मन हुन्छ।

यादमा बालापन छ।

यादमा जवानी छ।

यादमा अहिलेसम्मका आरोहअवरोह एकमुस्ट छ।

र, ती यादहरू तरोताजा छन्।

माहिली नाना (दिदी)सँग चण्डेश्वरी निमावि, नागी गएको हिजो मात्रै हो जस्तो लाग्छ। देमा (बडीआमा)को छोरा राजकुमार दाजु कक्षा ६ मा पढ्नुहुन्थ्यो। कक्षामा गएर उहाँसँगै बसेको पनि हिजोअस्तिजस्तै लाग्छ। पहिलो दिनको स्कुल अनुभव यत्ति ताजा छ कि सम्झँदा पनि यसै यसै ‘नोस्टाल्जिक’ हुन्छु। मैले नास्पाती खाएर टेबलमुनि फ्याँकेपछि गुरुराज सरले गाली गर्नुभयो। राजकुमार दाजुले पनि मेरा कारणले गाली भेट्नुभयो, सायद। सरले दाह्रीजुँगा पाल्नुभएको थियो। ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भनेझैँ भोलिपल्टदेखि स्कुलको कुरा गर्नासाथ सरको दाह्रीवाल अनुहार आँखामा आउन थाल्यो। त्यही डरले स्कुल जान मानिनँ।

पछि आप्पा प्रधानाध्यापक भएको खोङटाङ स्कुल जान थालेँ। कान्छी नाना, माहिला दाजुसँगै स्कुल जान्थेँ। स्कुलबाट फर्किंदा घरसम्मै उकालो चढ्नुपर्थ्यो। आमाले भुटेको मकै पठाइदिनुहुन्थ्यो। तर, त्यस खाजाले भोक मर्दैनथ्यो। नाना भन्नुहुन्थ्यो, ‘मकैको एक एक गेडा खानुपर्छ, भरेसम्म पुग्छ।’ म भोकाएको देखेर नानाले वर टिपेर दिनुहुन्थ्यो। तर, काँचो वरले गला लागेर हैरान बनाउँथ्यो।

स्कुल टाढा भएकै कारण जान छाड्यौँ। र, माहिला देवाकी छोरी दुर्गा नानाले पढाउने हुगे स्कुल जान थाल्यौँ। अहिले फर्किहेर्दा लाग्छ– बाल्यकालको पात्रो हावाको ससाना झोक्काले पनि पल्टिहाल्दो रहेछ कि? त्यस स्कुलबाट ५ कक्षा उत्तीर्ण गरेर नागी स्कुल जाने पो भइगएँ। ७ कक्षापछि अन्नपूर्ण माविमा पढ्न थालेँ।

कक्षाका साथीहरू कोही दुईचार वर्ष जेठा थिए, कोही कान्छा। आफूभन्दा जेठाहरू लाहुरे लाग्न गएका कुराहरू क्याम्पा डाँडामा भेला भएर गर्थे। भन्थे, ‘फलानाको दाजु लाहुरे हो। यति पैसा कमाउँछ।’ यस्तै आकर्षक कुराहरू सुनिरहेको याममा लाहुरेका भाइहरू थुतुनो पल्टेका जुत्ता र राम्रा राम्रा कपडाहरू लगाएर स्कुल आउन थाले। यस्ता दृश्यले मेरो मनमा कता लाग्न थाल्यो, ‘म पनि लाहुरे हुन जानुपर्छ कि क्या हो?’

बेलाबेला देख्थेँ, देऊराज दाइले हेबिङ र सिटअप गरेको। कहिलेकाहीँ म पनि गएर गर्थें। एकदिन पात्लेको बाक्कललाई खुकुरीले ताछेँ। घरअगाडि आँगनमा आल्चाको रूख रूखमा सिटअप र हेबिङ गर्न मिल्ने बनाएँ।

प्रवेशिका परीक्षा दिएर पहिलोपटक धरान गएँ। केही दिनपछि काठमाडौँ लागेँ। काठमाडौँ बसाइकै बेला प्रवेशिकाको परीक्षाफल प्रकाशित भयो। त्यसबेला गोरखापत्रमा परीक्षाफल हेर्दा धेरैलाई जस्तै मलाई पनि ‘के होला, कसो होला’ को खुल्दुली थियो। पास भएको थाहा लागेपछि आफूले मनमा सजाइराखेको सपनानजिक जाने हुटहुटी झन् बढ्यो।

रिजल्टको दुई दिनपछि म गाउँ हान्निएँ। र, पहिलोपटक गल्लामा नाम लेखाएँ। तर, त्यो साल एआरओबाट पोखरा जाने बाटो खुल्न सकेन। दसैँतिहारपछि पढ्नका लागि धरान झरेँ।

अर्को साल पनि एआरओसम्म पुगेर लाहुरे लाग्ने यात्रा समाप्त भयो। तर, लाहुरे लाग्नका लागि निरन्तर प्रयास गरिरहेँ। लाहुरे लाग्छु भन्ने एकोहोरो विचारले आईएको एउटा विषय झुन्डिइरहेको थियो। ‘लाहुरे’ शब्दले जीवनको गन्तव्यलाई एकोहोर्‍याइसकेको थियो। आफ्नै अनुभवलाई साक्षी राख्दा अहिले लाग्छ– लाहुरे हुने सपना बोकेका तर हुन नसकेका कैयौँको जीवन कति बर्बाद भइरहेको होला?

के गर्ने, कसो गर्ने अन्योलबीच चियाखेती गर्ने उद्देश्य च्यापेर फेरि सहरबाट गाउँ फर्किएँ। तर, भविष्यप्रति मनमा कुनै मुना पलाएको थिएन। जीवनै थाकेजस्तो लाग्दै थियो। मोहन भाइसँग मिलेर बाटाका दायाँबायाँ २५/३० चियाका बोटहरू परीक्षणका लागि रोपियो। गाउँमा हल्ला चल्यो, फलानो ठाउँमा फलानो बेला गल्ला आउँदै छ। अन्तिमपटक लाहुरे भिड्न मन लाग्यो।

असिने भन्ने ठाउँमा गएर गल्लासँग नाम लेखाउन सफल भएँ। दसैँपछि एआरओ भिड्न मोहन भाइसँग बोया गाउँ गएँ। राति टर्चलाइट बालेर मोहन भाइले मलाई ८ कक्षाको हिसाब सिकाए। आफूले पढेको पाठ्यक्रम परिवर्तन भएकाले भाइको मद्दत अनिवार्य थियो।

आज पनि त्यसबेलाका घटनावली सिनेमाका दृश्यजस्तै हुबहु दोहोरिन्छन्। बिहानैदेखि एआरओको टिमले जाँचबुझ गर्न थालेको थियो। खानापछि अन्तिम जाँचबुझ भयो। परिणाम पर्खेर बारीको माथिल्लो गह्रामा भाइसँग बसेको थिएँ। पोखरा जान पाउनेको नामहरू बोलाउँदै थियो, एआरओले। म भने केही सोच्दै कतै हराउँदै रहेछु। ४ नम्बर आइसकेछ र मेरो नाम पढिसकेछन्। मोहन भाइले उत्साहित आवाजमा भने, ‘दाजु, तपाईं पास हुनुभयो।’ झसंग भएँ। काँध काँधसम्म आउने अग्लो बाँसको बार नाघेर एआरओको अगाडि पुगेको त्यो क्षण पनि अहिलेजस्तो लाग्छ। त्यो खुसी, उत्साह र सफलता कहिलेकाहीँ वरिष्ठ संगीतकार अम्बर गुरुङको संस्मरणात्मक पुस्तकको नाम सापटी लिएर भन्न मन लाग्छ– कहाँ गए ती दिनहरू?

तिहार मनाइसकेर पोखराका लागि फिजिकली तयारी हुन धरान झर्ने भएँ।

गाउँका दिदीहरूसँग बिहानै बाटो लाग्ने सल्लाह थियो।

ढोकाको दायाँबायाँ फूल राखी आमा मलाई बिदाइ गर्न तयार हुनुभयो। भान्जी रञ्जनाले टीका लगाइदिइन्। आमा, बाबा, जेठा दाजु र पारस दाजुलाई बिदाइको ढोग गर्दागर्दै कतिखेर मेरा आँखा सजल भएर बग्न थालेछन्, पत्तै भएन। र, आफूलाई रोकिनँ पनि। आमाले पनि आँसु थाम्न सक्नुभएन। पारस दाजुले मलाई सम्झाउँदै भन्नुभयो– ‘रुनु हुँदैन, दरिलो मन बनाउनुपर्छ।’

आँगनवरपर ढकमक्क फुलेका फूलहरूलाई साक्षी राख्दै, आफ्नो भूमिसँग थोरै झुक्दै र आँसु झार्दै बेलायती सैनिक बन्न घरपरिवारसँग बिदा लिएँ। सबैका घरमा तिहारको रमझम बाँकी नै थियो। त्यस दिन भोजपुर बजारमा वास भयो।

भोलिपल्ट सबेरै बाटो लाग्यौँ। अँधेरीघाटमा त्यो दिन हामी वास बस्यौँ। घर छोडेको पर्सिपल्ट धरान पुग्यौँ। भुपेन भान्जाले भानुचोकबाट मेरा लागि पनि डोको किनेर ल्याइदिनुभएको रहेछ। पोखरा गएपछि तालिममा डोको बोकेर तोकिएको दूरी पार गर्नुपर्थ्यो। म, भुपेन भान्जा, मनोज फाबो र सुरज राई चार जना सँगै कसरत गर्न थाल्यौँ। सेउती खोलाको उकालोमा बिहानै डोको बोकेर सकेको बल निकालेर दौडने र गल्दै गएपछि हिँड्ने मात्रै गर्थ्यौं। बेलुकीपख धरान रंगशालामा दौडन्थ्यौँ।

हामीलाई पोखरा जानुअघि ब्रिटिस क्याम्प धरानमा एआरओद्वारा ब्रिफिङ गरिएको थियो। ब्रिफिङअनुसार सबेरै बुढासुब्बा ग्यारेजमा पुग्यौँ। निर्धारित समयमै गाडीका पांग्राहरू गुड्न थाले।

साँझको समयमा हामी पोखरा क्याम्प पुगेका थियौँ। दुई जना गुरुजी हामीलाई गेटमा पर्खिरहनुभएको थियो। कोठा देखाउँदै झोलाहरू राख्न लगाउनुभयो। एक एक वटा थाल, काँटा, चम्चा र मग पायौँ। हामीले क्यु लागेर पालैपालो भात, मासु, तरकारी र दाल थापेर खायौँ र कोठामा फर्कियौँ। दुई वटा कम्बल, एउटा सिरानी पायौँ। ट्वाइलेट, बाथरुम देखाइदिनुभयो। अनि, त्यो रात हामी सुत्यौँ।

भोलिपल्टदेखि हाम्रा परीक्षाहरू सुरु भए। साथीहरू बिस्तारै फेल हुँदै गए। चौतारी परेडमा फेल हुनेहरूको नाम र नम्बर बोलाइन्थ्यो। त्यो परेड हुने दिन सबैको मनमा फेल भइएला भन्ने डर हुन्थ्यो।

डरैडरमा लाहुरे लागियो।