रुस-युक्रेन युद्ध

१० माघ २०८२
युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिहा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। गेट्टी इमेज
अ+
अ-

किएभ। युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गरेका छन्।

युक्रेनले आरोप लगाएको छ कि रुसले हिजो (शुक्रबार) राति देशमा आक्रमण गरेको छ। जसमा एक जनाको मृत्यु भएको छ र २३ जना घाइते भएका छन्।

सिबिहाले आरोप लगाएका छन्‚ “संयुक्त अरब इमिरेट्समा युक्रेन‚ रुस र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलहरूबीच जारी त्रिपक्षीय वार्ताको बाबजुद पुटिनले आफ्नो देशमा रातभर बम विस्फोटको आदेश दिएका छन्।”

“रातभरको बर्बर आक्रमणले प्रमाणित गर्छ कि पुटिनको स्थान शान्ति टेबलमा होइन‚ तर विशेष न्यायाधीकरणको कठघरामा छ‚” उनले भनेका छन्‚ “आक्रमणले हाम्रा जनतालाई मात्र होइन‚ वार्तालाई पनि हानि पुर्‍याएको छ।”

युक्रेनमा रुसले गरेको हवाई हमलाको एक स्थान।

यो नयाँ रुसी आक्रमणमा लगभग ४०० ड्रोन र मिसाइल प्रयोग गरिएको युक्रेनले आरोप लगाएको छ। युक्रेनको राजधानी किएभका मेयरका अनुसार रुसी आक्रमणमा एक जनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्। खार्किभका मेयरले शनिबार बिहान सहरमा भएको निरन्तर आक्रमणमा १९ जना घाइते भएको बताएका छन्।

सन् २०२२ मा रुस-युक्रेन युद्ध सुरु भएपछि पहिलोपटक रुसी‚ युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच त्रिपक्षीय वार्ता हुँदै छ।

शुक्रबार तीनै पक्षका प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा भेटेका छन्। स्रोतले बीबीसीलाई बताएअनुसार वार्तामा केही प्रगति भएको छ‚ तर त्यस क्षेत्रको मुख्य मुद्दा अझै समाधान भएको छैन। यी त्रिपक्षीय वार्ताको शनिबार दोस्रो दिन हो।