धनगढी। राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (आइतबार) सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका छन्। अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।
यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाइन्। कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २२० मतदाता मतदानमा सहभागी भए।
यो पनि…
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल‚ प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट‚ कैलालीको जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहे। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा परेका छन् र अर्का एक सदस्यले राजीनामा दिएका छन्। यस्तै ८८ पालिका तहका प्रमुख‚ उपप्रमुख/अध्यक्ष‚ उपाध्यक्ष गरी १७६ मतदाता छन्। नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धन गरेको थियो।