काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरेका छन्।
सिंहदरबारमा आज (आइतबार) आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरूले निर्वाचनमा नतिजा निकाल्ने उनले विश्वास व्यक्त गरे।
संयोजक दाहालले जेन-जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको बताए। जेन-जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिस्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेको दाहालले दाबी गरे।
त्यसैगरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह विस्तारै ती पार्टीका उम्मेवारका गतिविधिकै कारण कमजोर हुँदै गएको र उनीहरूका गतिविधिलाई जनताले गहिरो गरी हेरिरहेको बताए।
मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारीसाधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको दाहालले उल्लेख गरे।
यो पनि…
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि गोरखामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब सुनिश्चितजस्तै भएको उनले बताए।
पार्टीका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टि संवादबाट समाधान गरिएको र नमिलेका एक/दुई ठाउँमा अनुशासनको कारबाहीमार्फत क्रमशः समाधान हुँदै गएको उनले उल्लेख गरे। दाहालले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने मिहिनेत गर्दा पहिलो दल बन्ने विश्वास व्यक्त गरे।
बैठकले वेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।
दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ।