काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
नेकपा एमाले अध्यक्ष केपी ओली। तस्बिर : ओलीको सचिवालय
अ+
अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व चाहने सबै दल र नेताहरूबीच खुला सार्वजनिक बहसको आवश्यकता रहेको बताएका छन्।

आगामी निर्वाचनलाई निर्णायक मोडको रूपमा चित्रण गर्दै उनले प्रधानमन्त्रीका आकांक्षीहरू आफ्ना एजेन्डा, विगतको कार्यसम्पादन र भावी योजनासहित जनतामाझ जवाफदेही बन्नुपर्ने बताएका हुन्।

सार्वजनिक बौद्धिक वृत्तबाट उठिरहेको पारदर्शी बहसको मागलाई सकारात्मक संकेतका रूपमा लिँदै ओलीले आफू कुनै पनि सार्वजनिक डिबेटमा सहभागी हुन तयार रहेको स्पष्ट पारे। उनका अनुसार अहिलेको निर्वाचन देश निर्माण र देशलाई दिशाहीन बनाउने प्रवृत्तिबीचको प्रतिस्पर्धा हो, जसमा एमाले राष्ट्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको छ।

ओलीले सामाजिक सञ्जालमार्फत अधुरो प्रस्तुति र ‘फ्रेमिङ’ गरेर वास्तविक चरित्र ढाकछोप गर्ने प्रवृत्ति बढेकाले प्रत्यक्ष बहसको आवश्यकता झनै महसुस भएको बताए। “जनताले नेताहरूको कुरा प्रत्यक्ष सुन्न पाउनुपर्छ, प्रश्न गर्न पाउनुपर्छ,” उनको भनाइ थियो।

यसपटकको निर्वाचनमा परम्परागत दलदेखि नयाँ उदाएका राजनीतिक शक्तिसम्म प्रधानमन्त्रीको उम्मेदवारसहित मैदानमा उत्रिएको उल्लेख गर्दै ओलीले नेतृत्वको दाबी गर्ने सबैले सार्वजनिक रूपमा आफ्नो स्पष्ट रोडम्याप प्रस्तुत गर्नुपर्ने बताए।

“हामीले देशका लागि के गर्‍यौँ, कहाँ चुक्यौँ र अब के गर्छौँ भन्ने कुरा आमनेसामने बसेर बहस गर्न सक्नुपर्छ,” ओलीले भने, “म यस्तो बहसका लागि पूर्ण रूपमा तयार छु।”

उनले निर्वाचनपछिको सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारिएका सबै नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न–उत्तर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन्। ओलीका अनुसार यस्तो बहसले मतदातालाई सूचित निर्णय गर्न मद्दत गर्नेछ र लोकतन्त्रलाई बलियो बनाउनेछ।