काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
कोसी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका रोशनी मेचे, सुनील थापा र सोम पोर्तेल (दायाँबाट क्रमश:)। तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोसी प्रदेशबाट तीनैजना सदस्यहरूको टुंगो लागेको छ।

आइतबार भएको निर्वाचनबाट नेकपा (एमाले) का सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

महिला कोटातर्फ एमालेकी रोशनी मेचे सात हजार १७३ मतभार प्राप्त गरी विजयी भइन्। उनले निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार नमिता न्यौपानेलाई पराजित गरिन्। न्यौपनेले दुई हजार २६८ मतभार प्राप्त गरिन्।

मेचेको पक्षमा प्रदेश सभाका ६४ र स्थानीय तहका १९९ जनाले मतदान गरेका थिए भने न्यौपानेको पक्षमा प्रदेश सभाका २२ र स्थानीय तहका ५८ जनाले मतदान गरे।

दलित कोटातर्फ एमालेकै सोम पोर्तेल सात हजार ४२३ मतभारसहित निर्वाचित भए। उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे। सुन्दासले दुई हजार १३७ मतभार प्राप्त गरे। पोर्तेलको पक्षमा प्रदेश सभाका ६८ र स्थानीय तहका २०१ जनप्रतिनिधिले मतदान गरेका थिए।

कुल ३५९ मतदाता रहेको कोसीमा ३४५ जनाले मात्र मतदान गरे। प्रदेश सभाका ९२ मध्ये ८७ र स्थानीय तहका २६७ मध्ये २५८ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान नगर्ने १४ जनामा पाँच प्रदेश सांसद र नौजना स्थानीय पालिकाका पदाधिकारी छन्।

को हुन् राष्ट्रिय सभामा निर्वाचित अनुहार?
सुनीलबहादुर थापा (खुला- निर्विरोध)
धनकुटाका स्थायी बासिन्दा सुनीलबहादुर थापा नेपाली राजनीतिको स्थापित नाम हो। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा उनी पूर्वमन्त्रीसमेत हुन्। लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा सेवा गरेका थापा सन् २०११ मा राष्ट्रसंघको उच्च ओहोदाबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए।

२०७० को संविधानसभा निर्वाचनमा धनकुटाबाट प्रत्यक्ष निर्वाचित भएका थापा २०७४ मा शेरबहादुर देउवा सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। सुरुमा राप्रपामा रहेका उनी २०७७ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। हाल उनी कांग्रेसका केन्द्रीय सदस्य हुन्।

सोम पोर्तेल (दलित कोटा)
झापाको हल्दिबारीका सोम पोर्तेलसँग स्थानीय सरकार सञ्चालनको अनुभव छ। २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा काम गरिसकेका पोर्तेल कुशल संगठक मानिन्छन्।

२०३५ सालमा पाँचथरमा जन्मिएका उनको राजनीतिक यात्रा २०४७ सालदेखि अनेरास्ववियुबाट सुरु भएको थियो। हाल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप-महासचिव रहेका पोर्तेलले पार्टीको वडादेखि प्रदेश कमिटीसम्म विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी राष्ट्रिय सभालाई अनुभव र युवा जोसको संगम’ बनाउनुपर्ने धारणा राख्छन्।

रोशनी मेचे (महिला कोटा)
अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनी मेचे झापा मेचीनगर १२ की बासिन्दा हुन्। उनले यसअघि प्रधानमन्त्री केपी ओलीको सचिवालयमा रहेर काम गरिसकेकी छिन्।

२०३८ सालमा जन्मिएकी मेचे विगत एक दशकदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्। हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ की केन्द्रीय सदस्य रहेकी मेचेले राज्यको माथिल्लो सदनमा अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाज बुलन्द पार्ने संकल्प गरेकी छन्। उनको विजयले समावेशी लोकतन्त्रलाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।