झापा। झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२–१२ नयाँ कुष्ठरोगी फेला परेका छन्।
त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुईरदुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच–पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३ कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७–०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८–७९ मा एक सय २१, आव २०७९–८० मा एक सय ५७, आव २०८०–८१ मा एक सय २१ र २०८०–८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्याङ्कको आधारमा हेर्दा २०७७–७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०–८१ मा आइपुग्दा १.४७ प्रतिशत पुगेको देखिन्छ ।