काठमाडौं ।भारतीय क्रिकेटले आइतबार अर्को विस्फोटक अध्याय थपेको छ। अभिषेक शर्माले मात्र १४ बलमा अर्धशतक प्रहार गर्दै न्युजिल्यान्डविरुद्ध भारतलाई १० ओभर २ बलमै लक्ष्यमा पुर्याए। गुहाटीको बरसापारा स्टेडियममा भएको खेलमा भारतले १५४ रनको लक्ष्य सजिलै पछ्याउँदै दर्शकलाई रोमाञ्चित बनायो।
अभिषेकको आक्रामक ब्याटिङले खेलको दिशा सुरुदेखि नै भारततर्फ मोडियो। उनले ६८ रन बनाउँदा कप्तान सूर्यकुमार यादवले ५७ रन र इशान किशनले २८ रन जोडे। सञ्जु सामसन भने खाता नखोली पभेलियन फर्किए।
यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो। ग्लेन फिलिप्सले सर्वाधिक ४८ रन जोडे पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्। भारतका लागि जसप्रित बुमराह घातक साबित भए—१७ रनमा ३ विकेट। हार्दिक पाण्ड्या र रवि विश्वोईले दुई–दुई विकेट लिए।