काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

क्रिकेट

यथास्थितिमै नेपाली महिला क्रिकेट

१२ माघ २०८२
स्कटल्यान्डविरुद्धको खेलमा बोल्ड भएपछि नेपाली खेलाडी। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

‘विदेशी प्रशिक्षक ल्याउन अब धेरै ढिला भइसक्यो। हाम्रो ब्याटिङ राम्रो भइरहेको छ। प्रशिक्षकले पनि साथ दिन सके महिला टिम एकदमै हाइपमा जान्छ।’

११ महिनाअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माको भनाइ यही थियो।

उबेला इन्दुको भनाइ स्वाभाविक पनि थियो। सन् २००७ मै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपाली महिला टोलीले स्थायी विदेशी प्रशिक्षक पाउन सकेको थिएन। ६ अगस्ट २०२३ मा भारतीय पूर्वराष्ट्रिय खेलाडी देविका पाल्सिकरलाई ल्याइए पनि उनी एक महिनामा (६ अगस्टदेखि ८ सेप्टेम्बरसम्म) जिम्मेवारीमा रहिन्। त्यसको प्रत्यक्ष असर टोलीको संरचना, रणनीति, फिटनेस र मानसिक तयारीमा पनि देखिएकै थियो।

१० नोभेम्बर २०२३ मा पूर्वराष्ट्रिय खेलाडी मनोज कटवालले टोली सम्हाले। फिटनेस र समग्र प्रदर्शनलाई लिएर टोलीभित्र केही असमझदारी भने देखियो। तर, कटवालकै प्रशिक्षणमा नेपाली महिला टोलीले नौ महिनापछि पहिलोपल्ट आईसीसी महिला टी-२० ग्लोबल क्वालिफायरमा स्थान बनाउँदै इतिहास रच्यो।

ग्लोबल क्वालिफायरमा छनोट भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले  एक महिनाअघि भारतीय प्रशिक्षक हर्षल पटेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो। लागेको थियो, अब इन्दुलगायत खेलाडीहरूको माग पूरा भयो।

तर, पटेलले जिम्मेवारी सम्हाल्दा टोलीसँग न पर्याप्त समय थियो, न खेलाडी परीक्षणका लागि अन्तर्राष्ट्रिय तयारी। नतिजा स्पष्ट देखियो। घरेलु मैदानमै पहिलोपल्ट भएको ग्लोबल क्वालिफायरमा नेपाल समूह चरणबाटै बाहिरियो। प्रतियोगिताकै कमजोर टोली जिम्बाबेलाई हराउनुबाहेक समग्र प्रदर्शन अपेक्षाअनुसार हुन सकेन।

स्कटल्यान्डविरुद्धको खेलमा नेपाली खेलाडीहरू सम्झना खड्का  (बायाँ) र विन्दु रावल। तस्बिर : क्यान

“हामीले यस्तो लेभल खेलेकै थिएनौँ। त्यसैले यो हाम्रा लागि ठूलो प्लेटफर्म र सिकाइ बन्यो,” अलराउन्डर तथा पूर्वउपकप्तान सीता रानामगर स्विकार्छिन्, “जिम्बाबेलाई जित्नु र नेदरल्यान्ड्ससँग दुई रनले मात्र हार्नुले टिममा भोक देखिन्छ। तर, सुधार गर्नुपर्ने धेरै ठाउँ छन्।”

देखिएन सुधार

नेपालले पछिल्लो २८ महिनाको अवधिमा कुल ३७ अन्तर्राष्ट्रिय खेल खेलेको छ। वर्षाका कारण रद्द भएका दुई खेलबाहेक ३५ खेलमध्ये २५ मा कटवालकै मुख्य प्रशिक्षण थियो, जसमा ११ खेलमा मात्र नेपालले जित दर्ता गर्‍यो।

अझ महत्त्वपूर्ण पक्ष के भने, ती जित पनि प्रायः नेपालकै स्तरका वा तुलनात्मक रूपमा कमजोर मानिने थाइल्यान्ड, युगान्डा, हङकङ, बहराइन, संयुक्त अरब इमिरेट्स र मलेसियाजस्ता टोलीविरुद्ध सीमित रहे।

समान क्षमताका टोलीविरुद्ध मात्र जितमा सीमित रहनु र आफूभन्दा बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न नसक्नुले नेपाली क्रिकेटको दीर्घकालीन विकास योजनाबारे प्रश्न खडा गरेको थियो। यही पृष्ठभूमिमा क्यानले खेलाडीहरूको चाहना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आवश्यकता मध्यनजर गर्दै आफूभन्दा बलिया टोलीसँग प्रतिस्पर्धा गर्न सक्ने टोली निर्माण गर्ने लक्ष्यसहित पटेललाई दुई वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

सन् २०१९ मा थाइल्यान्डलाई पहिलोपटक विश्वकपसम्म पुर्‍याएर चर्चा कमाएका पटेलले नेपाल आएपछि बलिङ र ब्याटिङभन्दा फिटनेसलाई प्राथमिकता दिए। उनको तर्क थियो, ‘नेपालसँग स्तरीय स्पिन आक्रमण छ, भरपर्दो मध्यम गतिका बलर छन् र ब्याटिङ लाइनअप पनि सुधारिएको छ।’ तर, उनको यही बुझाइ घातक साबित भयो।

फिटनेसमा जोड दिँदा टी-२० ग्लोबल क्वालिफायरमा न ब्याटिङले साथ दियो, न बलिङले नै प्रभाव छोड्न सक्यो। अरू त अरू, फिटनेसमा सुधार भएको छनकसमेत कतै देखिएन। नेदरल्यान्ड्सविरुद्ध १४१ रनको लक्ष्य पछ्याउँदा १३९ रनसम्म पुग्नु र तुलनात्मक रूपमा कमजोर टेस्ट राष्ट्र जिम्बाबेविरुद्ध ६ विकेटको जित निकाल्नुबाहेक नेपालले उपलब्धि हासिल गर्न सकेन।

थाइल्यान्डसँग पहिलो खेलमै आठ विकेटको लज्जास्पद हार बेहोरेको टोलीले जित्नैपर्ने अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ६८ रनमै समेटिनुपर्‍यो। जिम्बाबेविरुद्ध पूजाको ५२ रनको विजयी इनिङ्स र थाइल्यान्डविरुद्ध विन्दु रावलको ४१ रनलाई अपवाद मान्ने हो भने नेपाली खेलाडीहरूको ब्याटिङ चल्नै सकेन। बलिङमा पनि पटेलले दाबी गरेजस्तो प्रशंसालायक प्रदर्शन देखिन सकेन, न विपक्षीलाई दबाबमा राख्ने रणनीति नै प्रभावकारी देखियो।

“फिल्डिङमा धेरै सुधार चाहिन्छ। ब्याटिङमा पार्टनरसिप सम्हालेर खेल्न सक्ने खेलाडी पनि छैनन्,” अर्की अलराउन्डर तथा पूर्वकप्तान रुविना क्षेत्री बेलबासे भन्छिन्।

इन्दु बर्मा र रुविना छेत्री। तस्बिर : क्यान

वास्तवमा ग्लोबल क्वालिफायरअघि नेपालले खेलेका अभ्यास खेलहरूमा पनि सुधारको संकेत देखिएको थिएन। अमेरिकाजस्तो मध्यम स्तरको टोलीविरुद्ध केही खेलमा १५० रनको आँकडा पार गरे पनि आयरल्यान्ड र थाइल्यान्डजस्ता बलिया टोलीविरुद्ध नेपाल कमजोर ब्याटिङ प्रदर्शनमै सीमित रह्यो। यही सिलसिला ग्लोबल क्वालिफायरमा पनि दोहोरियो।

‘समय चाहिन्छ’

नेपाली टोली अहिले एकहिसाबले संक्रमणको अवस्थामा छ। अनुभवी अलराउन्डरद्वय रुविना र सीता सन्न्यासनजिक छन्। यसअघि नेरी थापासँगै अप्सरी बेगम, ज्योति पाण्डे, अस्मिना कर्माचार्य र कृतिका मरासिनीको स्थानमा पूजा महतो, रिया शर्मा, मनीषा उपाध्याय र सम्झना खड्काजस्ता नयाँ खेलाडीले खेल्दै आएका छन्।

नयाँ खेलाडीले केही खेलमा राम्रो प्रदर्शन गरे पनि लय समात्न नसकेको रुविनाको भनाइ छ। “नयाँ खेलाडीले पर्याप्त खेल्न पाएका छैनन्। यही कारण समर्थकहरूले केही समय धैर्य राख्नुपर्छ,” उनी भन्छिन्।

क्यानले पछिल्लो समय महिला क्रिकेटको स्तर उकास्न भन्दै पुरुषभन्दा महिला टोलीको प्रतियोगिता बढी गराइरहेको छ। महिला खेलाडीले यस वर्ष प्रिमियर कप, कुवेतसँग शृंखला र दुई अन्तर्राष्ट्रिय शृंखला खेल्ने तय छ। यु–१९ महिला टोलीले पनि भुटान र मलेसियाको भ्रमण गर्नेछ। कुवेत र मलेसियासँगै अन्य केही टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ।

तर, यसअघि पनि यस्ता व्यस्त तालिका नभएका होइनन्। गएको अढाई वर्षमा नेपाली टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिदेशीय शृंखला खेल्यो। युगान्डामा घरेलु टोलीसँगै नामिबिया र हङकङसँग चारदेशीय शृंखला पनि खेलेको थियो। यस्तै, टोलीले गएको अक्टोबरमा मलेसियासँग पाँच खेलको शृंखला खेल्दै ग्लोबल क्वालिफायरको तयारी गरेको हो।

यी शृंखलाका १८ खेलमा थाइल्यान्ड, नामिबिया, हङकङ र युगान्डासँग समान एक जित हात पारेको छ। मलेसियासँग भने सबैभन्दा बढी तीन जितको नतिजा निकालेको थियो। आईसीसी र एसीसीका प्रतियोगिताकै तयारीस्वरूप खेलाइने शृंखला त के, मुख्य प्रतियोगितामै नतिजा दिलाउन नसक्दा टोली दबाबमा देखिन्छ।

सीता रानामगर। तस्बिर : क्यान

“क्यानबाट लगानी बढ्दै गएकाले नतिजाको छिटो अपेक्षा गरिनु स्वाभाविक हो,” हारको बचाउ गर्दै रुविना भन्छिन्, “हामी पनि हार्न मैदानमा छिरेका हुँदैनौँ, केही समय त लाग्छ नि।”

खेलाडीको क्षमतामै समस्या

नेपाली टोलीलाई यसअघि घरेलु प्रशिक्षकहरूले राम्रो नतिजा दिन नसकेका होइनन्। जगत टमाटा, विनोद दास, निरा राजोपाध्याय, स्यामसन जंग थापाजस्ता प्रशिक्षकहरूको कार्यकालमा सीमित स्रोत र चुनौतीका बाबजुद टोलीले उल्लेखनीय सुधार र केही ऐतिहासिक सफलता पनि हासिल गरेको थियो। यसले स्वदेशी प्रशिक्षकमा क्षमता नभएको होइन भन्ने प्रस्ट्याउँछ। तर, क्यान विदेशी प्रशिक्षकबाट सफलता चुम्नेमा केन्द्रित छ।

पूर्वप्रशिक्षक थापा सामान्यतया टेस्ट राष्ट्रका विदेशी प्रशिक्षकको अनुभव, अन्तर्राष्ट्रिय दृष्टिकोण र व्यावसायिक अनुशासन उपयोगी हुने बताउँछन्। तर, लगानीअनुसार प्रतिफल लिन सक्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ। “बलिङ, ब्याटिङ र फिल्डिङजस्ता प्राविधिक क्षेत्रमा सहयोगी प्रशिक्षक नेपालीलाई राख्नुपर्छ। यसले एकातिर टोलीलाई निरन्तर सहयोग मिल्छ भने अर्कातर्फ स्वदेशी प्रशिक्षकले पनि आधुनिक प्रशिक्षण पद्धति सिक्ने अवसर पाउँछन्,” उनी भन्छन्।

आधुनिक क्रिकेटमा मुख्य प्रशिक्षकको भूमिका विद्यालयका प्रधानाध्यापकको जस्तै हुन्छ। प्रधानाध्यापकले विद्यालयको समग्र व्यवस्थापन र दिशानिर्देशन गर्छ। तर, विद्यार्थीको सीप र क्षमतामा प्रत्यक्ष सुधार ल्याउने जिम्मेवारी विषयगत शिक्षकहरूको हुन्छ। त्यसैगरी, क्रिकेट टोलीमा पनि मुख्य प्रशिक्षकले समग्र रणनीति हेर्ने गर्छन्। त्यसैले ब्याटिङ, बलिङ र फिल्डिङका लागि छुट्टाछुट्टै विशेषज्ञ प्रशिक्षकको अनिवार्यता हुन्छ। तर, अहिले नेपाली टोलीमा यी सबै जिम्मेवारी मुख्य प्रशिक्षक पटेलकै काँधमा छ।

प्राविधिक दृष्टिले हेर्दा पुरुष टोलीमा चौका-छक्का हान्न सक्ने क्षमता भएका धेरै खेलाडी छन्। तल्लो क्रममा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समेत खेल जिताएका उदाहरण प्रशस्त छन्। तर, महिला टोलीका शीर्ष र मध्यक्रमका खेलाडीमा समेत त्यो स्तरको ब्याटिङ क्षमता अझै विकसित हुन सकेको देखिँदैन। महिला टोलीमा ‘सिंगल र डबल’ लिएर खेललाई अघि बढाउने आधारभूत क्षमतासमेत नदेखिएको पूर्वप्रशिक्षक थापाको भनाइ छ। यसले महिला क्रिकेटले सोचेजस्तो नतिजा ल्याउन अझै कुर्नुपर्ने उनी बताउँछन्।

“विदेशी प्रशिक्षक ल्याउँदैमा झट्टै नतिजा निस्किने होइन। प्रशिक्षकलाई पनि सम्भावनायुक्त खेलाडी पहिचान र सीप विकास गर्न तथा प्राविधिक क्षमता बढाउन समय लाग्छ। नयाँ प्रशिक्षक वा नयाँ संरचनालाई कम्तीमा दुईदेखि तीन वर्ष समय दिनैपर्छ,” थापा भन्छन्।