काठमाडौ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उनले भने “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उनका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।
दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए। यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।
सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा राखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उनले जानकारी दिए ।
चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।
तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताए। हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।
गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिए। “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने ।
बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए। उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।