बाजुरा । चिसो छल्न बेँसी झरेका यहाँका जनजाति समुदायलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ ।
आगामी चैतमा मात्र उनीहरू गाउँ फर्किने हुँदा उनीहरू मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे) ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरूलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताएका छन् । उनका अनुसार त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् ।
यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नगरपालिका–१,२,३,७,८, र ९ र हिमाली गाउँपालिका-२ र ३ वडामा बसोबास गर्दै आएको छन् । आसन्न निर्वाचनमा मतदान गर्न समस्या हुने अस्थायी बसाइँ सरेर डोटीको सानागाउँ पुगेका जगत थापा(भोटे)ले बताए । उनले भने, ‘आफूसहित परिवार यतै छौँ, मतदान गर्न चारै जना मौसमी बसाइँ सरेको छौँ ।’ मतदान गर्न गाउँ जान एक हप्ताभन्दा बढी समय लाग्ने थापाको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ आउन प्रेरित गर्ने बताए । ७७ मतदानस्थल कायम भएका छन् । ती मतदानस्थलका एक सय १८ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीले बताए । निर्वाचनका लागि ८७ हजार आठ सय ६१ मतदाता छन् । तीमध्ये महिला ४१ हजार ६ सय १८ र पुरुष ४६ हजार २ सय ४३ छन् ।