काठमाडौँ। नेपाल बिल्डकनको एघारौँ संस्करण यही २२ देखि २५ माघमा भृकुटीमण्डपमा आयोजना हुने भएको छ।
नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै आएको हो। बिल्डकनको यसपालिको संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुनेछन्। जसमा २०० भन्दा धेरै स्टल रहनेछ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा विगत ११ वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलेका नवीन प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसरसमेत प्रदान हुँदै आएको छ।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, अल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र यूपीभीसी प्रोफाइल, ब्याट्री, जेनेरेटर र सिमेन्ट तथा स्टिललगायत निर्माणका सम्पूर्ण सामग्री तथा सेवा पाउन सकिन्छ।
निर्माण क्षेत्रमा आबद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायकजस्ता सम्पूर्ण पक्ष समेटिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट एवं निर्माणसँग सम्बन्धित पेसामा आबद्ध व्यक्तिका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संघ-संस्थाका र सर्वसाधारणको पनि उपस्थिति रहनेछ।