काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस
अ+
अ-

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ। हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ।

यो यस वर्षको दोस्रो हिमपात हो। जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नम्बर वडामा हिमपात भइरहेको छ। हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका १‚ मैकोटका विकास पुनले बताए। “अहिले पनि निरन्तर हिमपात भइरहेको छ‚” उनले भने, “हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ।”

हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका ५ का वडाध्यक्ष टीकासाई घर्तीले बताए। “आकाशे पानीको भरमा खेतीपाती गर्ने किसान पनि हिमपात र वर्षाले निकै खुसी छन्‚” उनले भने, “हिउँ परेपछि हिउँ खेल्ने र रमाउनेको पनि जमात बढेको छ।” हिमपातका कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। हिमपातमा फसेका यात्रुहरूको उद्धार जारी राखिएको छ।

काठमाडौँबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस पातिहाल्नामा फसेका छन्। तीन सयको हाराहारीमा अलपत्र यात्रुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए।