काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका क्षेत्रगत प्रतिनिधिसँग छलफल

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन्।

उनले सहरका सडक, सडककिनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहोरका पोका थुप्रिएको अवस्थामा हुनु नहुने बताइन्। महानगरभित्रको फोहोर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गरिन्। छलफलका क्रममा उनले भनिन्‚ “तोकिएको समय र विधिबाट फोहोर संकलन हुनुपर्छ। सडक बढार्नुपर्छ। सहरी सरसफाइमा फोहोर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ। सबैले आफ्ना आफ्ना जिम्मेवारीलाई इमानदार भएर पूरा गर्नुपर्छ। आफू जिम्मेवार नबन्ने, अरूलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ।”

उनले समस्या आएपछि यो के भएको भनेर हतार-हतार छलफलमा जुट्ने परम्परा अन्त्य हुनुपर्ने बताइन्। “सम्भावित समस्याको समाधानका लागि पहिले नै काम गरौँ‚” उनले भनिन्‚ “नागरिकसँग जोडिएका विषय हाम्रा प्राथमिकतामा छन्। सहरी सरसफाइ पहिलो प्राथमिकतामा छ। यसको प्रभावकारिताका लागि हामी सदैव खुला छौँ। सहभागिता र उत्तरदायित्वबाट यसलाई दिगो बनाउनुपर्छ।”

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले फोहोर संकलन कार्य र ट्राफिक व्यवस्थापनलगायत नागरिक तथा सरोकारवाला निकायबाट आएका गुनासा तथा सुझावलाई तत्काल सम्बोधन गर्दै जानुपर्ने बताए। त्यस क्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मित्र घिमिरेले महानगरपालिका नेतृत्वप्रति आशावादी रहेको बताउँदै महानगरका निर्देशनको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए।

छलफलमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने, संकलन गर्ने समय र विधि निश्चित गर्ने, फोहोर संकलन गर्न जानुपूर्व सूचना दिनेजस्ता विधिलाई अभ्यास गर्ने, फोहोर संकलन गर्ने सवारीसाधनमा क्षमताभन्दा धेरै फोहोर नराख्ने, सवारीसाधनमा बसेर वर्गीकरण नगर्ने, संकलित फोहोरलाई छोपेर मात्र ढुवानी गर्ने, यसरी ढुवानी गर्ने सवारी साधनबाट लिचेड नचुहिने सुनिश्चित गर्नेजस्ता विषयमा कुराकानी भएको थियो। भेटघाटका क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहित अधिकारीहरू सहभागी थिए।

काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न सात क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको छ। रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहोरको दिगो व्यवस्थापनका विधिलाई प्रवर्धन गरिरहेको छ।