कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।
पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरू बताउँछन् । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गर्दछ । परम्परागत रूपमा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुहला, दुलहरी बोक्ने साधन मात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ ।
नेपाल राना थारु समाजका केन्द्रीय सदस्य रामशाह रानाका अनुसार बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिन्छ । “डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने गरिन्छ भने बाँसकै छतरी बनाइन्छ”, उनले भने, “डोलीभित्र चारपाई ९डोरीले बुनिएको खटिया० राखी चारैतिर रङ्गीविरङ्गी कपडाले सजाइन्छ । पहिले कछनीको कपडाको प्रयोग बढी हुन्थ्यो ।”
दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिन्छ । बाँसका डण्डालाई चारैतिर बाँधेर बीचमा छतरी राखिन्छ र कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइन्छ । चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने गर्दछ । उनी भन्छन्, “जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँछ ।”
विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनुअघि घरमै विशेष संस्कार गरिन्छ । दिदीबहिनीले हल्दी (बेसार) कुटेर बेहुलाको शरीरमा दल्ने चलन छ, जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारु समुदायमा छ । त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिन्छ । सो अवसरमा बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको राना बताउँछन् ।
दुलहालाई चन्डोलमा बसाल्नुअघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने गरिन्छ । चन्डोलभित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उनका भाइलाई पनि बसाइन्छ, जसलाई ‘सौविल्ला’ भनिन्छ । दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको हो । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फुपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने गर्दछन्, जसलाई राना थारु भाषामा ‘न्यौछार’ गर्ने भनिन्छ ।
डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा छ । दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाएपछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइदिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन छ । राना थारु अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । “अहिले त्यो चलन बिस्तारै हराउँदै गएको छ”, उनले भने, “आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएका छन् ।”
पहिले दुलहालाई भिनाजु र बहिनी ज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्याउने चलन थियो । रतन भन्छन्, “गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण नै उत्सवमय हुने गर्दथ्यो, तर अहिले यो दृश्य बिरलै देख्न पाइन्छ ।”
हाल घरभन्दा केही परसम्ममात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिन्छ । राना अगुवा रानाले भने, “त्यसपछि बस, कार वा अन्य सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुर्याइन्छ ।”
राना थारु समुदायका अगुवा बालसुग्रिव रानाले डोली–चन्डोल बोक्ने चलन हराउँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गरे । “पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएका छन् ।” उनका अनुसार आधुनिक सवारीसाधनको प्रयोगले सहजता त दिएको छ तर समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेका छन् ।
परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको छ । यसले राना थारु समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको राना थारु संस्कृतिविद्हरूको भनाइ छ ।
स्थानीय अगुवाहरूले आधुनिकतालाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताउँछन् । डोली–चन्डोलजस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताए ।
“राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सा मात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु अत्यन्त आवश्यक छ”, उनी भन्छन् ।