पदीय दायित्व मात्र होइन‚ सेवा भावले काम गर्नू : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ। ७० वर्ष माथिका नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले सर्वेक्षण सुरु गर्दै छ।
ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि (माघ १८‚ २०८२) बाट सुरु हुने भएको हो। सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री‚ औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ।
सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनीता डंगोलले भनिन्‚ “यो तपाईंहरूको पदीय जिम्मेवारी मात्र होइन। मानवीय सेवाको काम पनि हो। त्यसैले जिम्मेवारी पूरा गर्न होइन। कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन्। पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला।” उनले कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुपर्नेमा जोड दिइन्।
“आपत टार्ने पैसा नहुँदा‚ अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईंले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ। यसलाई स्वभाविक ठान्नु। उहाँहरूलाई सम्झाउनु बुझाउनु‚ सहज वातावरण बनाएर काम गर्नू‚” उनले भनिन्।
उनले बदलिँदो सामाजिक परिवेशले सन्तान विदेशमा र आमाबुबा स्वदेशमा भएको अवस्था रहेको बताइन्। “काठमाडौँमा भएका आमाबुबाको स्वास्थ्य अवस्था‚ कागजमा लेखेको अक्षर पढेका भरमा वास्तविकता थाहा नहुन सक्छ। आमाबुबाले सही कुरा नसुनाउन सक्नुहुन्छ। परामर्शमा भनिएका कुरा कागजमा हुँदैनन्। यसकारण उहाँहरूको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेली मेडिसिन प्रणाली बनाउँदै छौँ‚” उनले भनिन्‚ “आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउँछौँ। महानगरपालिकाको सन्देश नागरिकलाई प्रत्याभूति गराउनुहोला।”
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ। जसको कोही छैन अर्थात् सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन्। त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो। शारीरिक अशक्तता भएका कारण‚ दीर्घरोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको काम प्रारम्भ भएको हो।
सर्वेक्षणमा जाने नर्सिङ कर्मचारीहरूलाई पाँच दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ। यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ। स्वास्थ्य जाँच गर्न प्रदान गरिएका सामग्रीहरुमा ब्लडप्रेसर मोनिटर‚ ग्लुकोमिटर‚ डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर‚ स्वास्थ्य अभिलेख फाराम‚ भेटको लगबुक‚ तथ्याङ्क भर्ने ट्याब्लेट छन्।
यस्तै स्टेराइल गज‚ ब्यान्डेज‚ एन्टिसेफ्टिक ब्यान्डेज‚ ट्रयाङगुलर ब्यान्डेज‚ क्रेप ब्यान्डेज‚ एन्टिसेफ्टिक वाइप‚ कपास‚ मेडिकल टेप‚ स्टेराइल ड्रेसिङ सेट दिइएको छ। पाराासिटामोल‚ आइबुप्रोफेन‚ एन्टिसेफ्टिक घोल‚ एन्टासिड ट्याब्लेट‚ ओरल रिहाइड्रेसन सोलुसन‚ पोलेको ठाउँमा लगाउने मलम‚ एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि दिइएको छ।
यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिन्छ। मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ। दीर्घरोग नियन्त्रण गर्ने प्रयास गरिन्छ। आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ।
कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए। यस्तै व्यायाम‚ मानसिक स्वास्थ्य‚ सरसफाइका विषयमा परामर्श दिइन्छ। यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट‚ योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउनेछ। ज्येष्ठ नागरिकप्रति सहयोगी भावना बढ्छ।
कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठ भन्छिन्‚ “ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकताअनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गर्नेछौँ। उहाँहरूसँग ज्येष्ठ नागरिक रहेको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ। यो सहयोग पाउने आशा गरेका छौँ।”