अनुभूति

१७ माघ २०८२
अ+
अ-

बन्द कोठा। बन्द झ्याल। बन्द बोली। काठमाडौँको एउटा कुनामा छु। हातका औँला मोबाइलको स्क्रिनमा दौडिइरहेका छन्। प्रत्येक सेकेन्डको स्क्रोलमा फेसबुक हेर्छु। इमेल खोल्छु। फेरि गुगल क्रोममा अनलाइन साइटहरू चहार्छु।

यो ५ माघको कुरा हो। काठमाडौँ छाड्नु अघिल्लो रात। बाहिर चिसो छ। भित्र चिसो छ। समयको सुईले झन् चिसो बढाएको छ। यो चौबीस घण्टा मेरा लागि मात्रै होइन, यो देशका लागि झन् महत्‍त्वपूर्ण छ।

बालेनले जनकपुरमा गरेको भाषणका क्लिप भाइरल भइरहेका छन्। झापा ५ मा केपी ओलीसँग बालेनले चुनाव जित्छन् कि जित्दैनन् भन्ने चासो छ। तर, जनकपुरको सभाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याइसकेको छ। त्यो भीड। त्यो चिच्याहट। त्यो हुटिङ। त्यसमाथि मैथिलीमा बालेनको भाषण। त्यसै भनिएको रहेनछ, ‘अबकी बार, बालेन सरकार।’

कम्तीमा उनको भाषण र भ्युजले त्यही भन्छ, मतपेटिकाले भन्न बाँकी छ।

उनी आफ्नै व्यक्तित्व र शैलीले सर्वाधिक मन पराइएका हुन्। कम्तीमा फेसबुकले त्यही भन्छ। ३.३ मिलियन अर्थात् ३३ लाख फ्लोअर्स। त्यसमाथि रवि लामिछानेसँग रास्वपामा प्रधानमन्त्रीको सम्झौता गरेपछि उनको उचाइ सगरमाथाकै तहमा पुगेको छ।

चुनाव जितेर सगरमाथाको शिखरबाट नेपालको प्रधानमन्त्रीका रूपमा बालेनले देश चलाउँछन् वा त्यहाँबाट सोझै आधारशिविरमा दुर्घटनाग्रस्त। त्यो कुरा समयले भन्ला। तर, जेन-जी आन्दोलनको म्यान्डेटले बालेनलाई काठमाडौँको मेयर छाड्न लगाएर देशको भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाएको सत्य हो।

जेन-जी आन्दोलनको ९०औँ दिन पुग्नै लाग्दा म काठमाडौँ उत्रिएको थिएँ। यो दुई महिना। कहाँ बित्यो? कसरी बित्यो? सबैभन्दा बढी कोसँग बित्यो? यो हिसाबकिताब मौसमीसँग पनि पर्याप्त नहुन सक्छ।

घरी गाउँ। घरी सहर। कारण थियो, ‘घाटगाउँ’। एक शब्दमा यो मेरो जन्मभूमिको नाम हो। यही नाममा केही लेखेको छु। लेखेको छपाउने पीर छ। काठमाडौँ टेकेको तेस्रो दिन विमल दाइलाई भेटेँ। उहाँकै सल्लाहमा प्रकाशकलाई पाण्डुलिपि बुझाएँ।

म यो संसारको सबैभन्दा नजान्ने मान्छे हुँ। यही भनेर म सिक्न आतुर हुन्छु। विमल दाइले पुस्तक कसरी छाप्ने भनी आइडिया दिनुभयो। सिकाउनुभयो। सम्झाउनुभयो। पुस्तक छाप्न चाहिने मान्छेसँग चिनाइदिनुभयो। भेट्टाइदिनुभयो।

म खुसीले दौडिएँ। उत्साहले आत्तिएँ। लेख्नु ठूलो कुरा होइन। लेखेपछि पढ्ने बनाउनु हो। तर, किताब छाप्न सजिलो रहेनछ।

त्यो सजिलो नभएको पाटो विमल दाइले गर्दा सजिलै भयो। फोन फोनमै धेरै कुरा भयो। एकाध भेटघाट गरेँ। बाँकी धेरै कुरा फोनमै टुंगिए।

यही चक्करमा गाउँ जान ढिलो भयो। यसमा पारिवारिक कारण पनि छ। काठमाडौँ टेकेको केही दिनमा हजुरबुवा नाता पर्ने आफन्त बित्नुभयो। शोकलाई शक्तिमा बदल्नुपर्छ रे। यो कुरा कहीँ पढेको थिएँ।

बुवालाई फोन गरेँ। आमालाई बिन्ती बिसाएँ। जवाफमा तेरो रोजाइ भन्नुभयो। सात समुद्रपारिको देशबाट वर्षौंपछि मातृभूमि टेक्दा आमाको पाउ छुन पाउँदिनँ। यो पीडा मनमा राखेर बसौँ। होइन, बस्दिनँ। बरु आमाको पाउ छुने दिनमा मात्रै घर टेक्छु। आँगनमा उभिन्छु।

यो अडान होइन। आशा हो। विश्वास हो। यसमा आमाको भरोसा थपियो।

मध्यरात। बेडमा उत्तानो परेको छु। मोबाइललाई आकाश बनाएको छु। धर्तीबाट आफ्नै समयको बिलौना बिसाउँदै छु। त्यो पनि मोबाइलमा फेसबुक स्क्रोल गर्दै।

त्यसरी हप्ता बित्यो। झन्डै महिनादिन पुग्न लाग्दा घर पुगेँ। त्यतिन्जेल ‘घाटगाउँ’ को आधा काम काठमाडौँमा सकियो। यो नाम पनि विमल दाइले जुराउनुभएको हो। मेरो इमेल सरसर्ती हेरेपछि दाइले पहिला मलाई सुनाउनुभयो।

यसका लागि डिल्लीबजारको नेपालयदेखि बिजुलीबजारको पुलसम्म हिँडेका छौँ। हिँड्दै दाइले संयोगहरू सुनाउनुभयो। संवेगहरू सम्झाउनुभयो। आखिर समयको वेग जहाँदेखि सुरु भयो, त्यसैलाई इतिहास बनाउनुपर्छ। लेख्नु मात्रै ठूलो कुरा होइन।

विमल दाइले फेरि एकपटक मलाई बुझाउनुभयो। अमेरिका जोकोही पुग्छ, तर तिमी हिँड्न सुरु गरेको गाउँदेखि हो। त्यो नाम ‘घाटगाउँ’ हो।

समय बित्यो। दिन बित्यो। हप्ता बित्यो। महिना बित्यो। यसबीचमा दुईपटक घर पुगेँ। फेरि काठमाडौँ फर्किएँ। घर पुग्यो, काठमाडौँको माया लाग्ने। काठमाडौँ आएँ, गाउँघरको माया लाग्ने।

‘घाटगाउँ’ ले यो दूरी जोडिरह्यो। पुस्तक छापिँदै छ भनेर चित्त बुझिरह्यो।

मध्यरात चिसो छ। सम्झिँदै छु, धेरैपटक चिया पसलमा पुगेँ। तातो चिया खान होइन, आफ्नै यादहरूमा हराउन। चिया अर्डर गर्नु। काँचको गिलासमा रातो चियापत्तीसहितको चिया। फोटो खिच्नु। स्टोरीमा हाल्नु। गिलास रित्याउनु। अरूलाई सम्झिनु। आफैँलाई बिर्सनु। अमेरिकाबाट फर्केपछि काठमाडौँमा जेन-जी आन्दोलन मात्रै होइन, चिया पसलमा पनि क्रान्ति भएछ। चोक चोकमा चिया पसल ब्रान्डेड भएका छन्।

नेपाल हल्लाएका जेन-जी। ४८ घण्टामा सत्ता पल्टाएका जेन-जी। प्रहरीको गोली खाएका जेन-जी। भोलिपल्ट संसद्, सिंहदरबार र सर्वोच्च जलाउने पनि जेन-जी।

उनीहरू कहाँ छन्, थाहा छैन। तर, उमेर समूहका जेन-जी चिया पसलमा छन्। उनीहरूलाई हेर्छु। आफैँ चित्त बुझाउँछु। त्यो पल, त्यो क्षण, अनि त्यो उमेर। काठमाडौँमा रमाइलै थियो। अहिले अमेरिका पुगियो।

माघको चिसो। जाडो खपिनसक्नु छ। सिरक घाँटीसम्मै तानेँ। फेरि सम्झिँदै छु। मोबाइल स्क्रोल गर्दै छु। आँखामा निद्रा होइन, सपना थियो। काठमाडौँ पुगेपछि के के गर्ने? चेकलिस्ट थियो। त्यो ल्यापटपमै सीमित भयो। अब मात्रै सम्झना रहने भयो।

सोचेथेँ, किताब छापिँदै गर्छ। भेटघाट चल्दै गर्छ। केही काम गरुँला। केही पुराना बहस ब्युँताउँला। पोखरा घुमुँला। सौरहा जाउँला। अनि मिल्यो भने मुस्ताङ पनि टेकुँला।

पल्लो कुनाबाट मौसमी औँला भाँच्दै भन्दै छिन्, ‘पोखरा घुम्यो है। सौरहा पनि गयो है। मुस्ताङ त बाइकमै लग्यो नि।’

अब सम्झिने, पानी छम्किने। यही वाक्यमा मनमनै चिसिएको रात सम्झँदै छु।

पोखरा त के, पाटन दरबार स्क्वायर पनि जान पाइएन। बौद्धमा बसेर कफी खान मन थियो। चाँगुनारायण पुगेर टुरिज्म फेस्टिभलको मास्टरप्लान अपडेट गर्न मन थियो।

धन्य! आएकै भोलिपल्ट पशुपति गइयो। स्वयम्भूको डाँडा चाहिँ चढियो। त्यसमा हजुरआमाको हात छ। उहाँको भाकल पूरा गर्नै भए पनि हामी स्वयम्भू पुग्यौँ।

ठूलो कुरा पटक पटक गाउँ गइयो। आफू पढेकै स्कुलमा घाटगाउँ पुस्तक विमोचन गरियो। गाउँमै भए पनि केही थान पुस्तक बाँडियो। काठमाडौँमा बाँड्न अझै केही घण्टा कुर्नुपर्नेछ। प्रकाशकले बजारमा कहिले पठाउँछ, त्यो पाँचपोखरीकै हातमा।

पुस्तकको कभर मात्रै फेसबुकमा हाल्दा पनि बधाईको ओइरो लाग्यो। विमल दाइ भन्थे, ‘विष्णु यो पुस्तक मात्रै होइन, तिम्रो गाउँको इतिहास हो।’

आफ्नै कारण पुस्तक समयमै साथीहरूको हातमा पार्न सकिएन। मसँग १८ घण्टा बाँकी छ। विमोचन गरौँ कि नगरौँ? दोधार छ। अलमल छ। बिहान १० बजे पुस्तकको ठेली हात पर्छ। तर, त्यो ठेली कसलाई दिने? कसलाई नदिने?

मनले केही भन्न सकेको छैन। यो बेला कसको हातबाट पुस्तक विमोचन गर्ने? कसलाई बोलाउने? यो मध्यराति मेसेज गर्ने कि डिस्टर्ब? भो अहिले केही नगरौँ।

मोबाइलकै घडीमा रातिको १० बज्यो। ११ बज्यो। १२ बज्यो। भोलि एक दिन छ, काठमाडौँ। त्यसपछि त सम्झना। पुस्तक कहाँ दिने? कसलाई दिने? फोटो खिच्ने कि नखिच्ने?

मनले चाहेका मान्छे कसैलाई बोलाउन नभ्याइने भयो। मनको दोधार विमल दाइलाई सुनाएर के सताउनु? यसै पनि यो कथा बनेकै विमल दाइकै साथ, सहयोग र प्रेरणाले हो।

भेट्ने साथीहरूलाई भेटौँला भनियो। किताब आएपछि भेट्ने सोचियो। तर, किताब त आउने भयो। भेट्ने समय नहुने भयो। कस्तो अप्ठ्यारो!

मन बहकिरह्यो। एक किसिमले बौलाइरह्यो। रातिको १ बज्यो। मन अझै स्थिर भएन। आँखाले निद्रा मागेन। मनले आराम। साँच्चै काठमाडौँमा ५० दिन कसरी बित्यो? फेरि सोच्छु। अब सोचेरै के हुने हो र?

ह्या जेसुकै होस्। भोलि बिहान पशुपति जाने। दिउँसो सीमित दाइभाइसँग मिलेर पुस्तक विमोचन गर्ने। अनि साँझ प्लेनको टिकट छँदै छ। मनले यति भनेपछि मोबाइल थन्क्याएर मौसमीलाई भनेँ।

‘हस् त। नमस्ते। गुडनाइट।’